Development

नयाँ बानेश्वरमा बन्न लागेको अन्डरपासको डिजाइन हुँदै , ८० करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान 

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरमा अन्डरपास बनाउने प्रक्रिया अघि बढ्ने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा कोटेश्वर र नयाँ बानेश्वरमा अन्डरपास निर्माण गर्ने घोषणा गरेको थियो । सो अनुसार पहिलोचरणमा बानेश्वरको अन्डरपास निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।

नयाँ बानेश्वरमा अन्डरपास बनाउनका लागि डिजाइन तयार पार्न हाल कन्सलटेन्ट हायर गर्ने काम भइरहेको छ । अन्डरपासको डिजाइन बनाउनका लागि जीओकम होमल्याण्ड कार्डसँग सम्झौताको तयारी भइरहेको सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार १ हप्ता भित्र कन्सलटेन्टसँग सम्झौता गरी डिजाइनको काम सुरू गरिनेछ । ‘कन्सलटेन्ट हायसको काम हुँदै छ, अब सम्झौता गरे पछि डिजाइन सुरू हुने केन्द्रले जनाएको छ । डिजाइनका लागि १८ महिनाको समय दिइने छ । डिजाइन पूरा भएपछि सो डिजाइन हेरेर कमेन्टपछि २ साता फाइनल डिजाइनको लागि समय दिइने छ । डिजाइन पूरा गर्न ४ महिना हाराहारी लाग्नेछ ।

नयाँ बानेश्वरमा अन्डरपास बनाउनका लागि डिजाइन तथा सर्भेको तयारी भइरहेको हो । डिजाइन पछि निर्माणका लागि छुट्टै ठेक्का आह्वान गरिनेछ । नयाँ बानेश्वरमा कलंकीको जस्तै अन्डरपास बन्ने छ । चालु आर्थिक वर्षभित्र अन्डरपासको डिजाइन पूरा गर्ने लक्ष्य रहेको छ ।

ट्राफिक व्यवस्थापनका लागि यो अन्डरपास निर्माण गर्न लागिएको हो । नयाँ बानेश्वरको संघीय संसद भवन अगाडि अन्डरपास बनाइने भएको हो । यो वर्ष सर्भे गरेर डिजाइन तयार पार्ने र आगामी वर्षदेखि यसको निर्माण कार्य सुरू गर्ने सडक विभागको योजना छ । निर्माण सुरू भएको २ वर्षभित्रमा सम्पन्न गर्ने गरी योजना बनाइएको छ । सडक विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आह्वान गरिएको थियो ।

बानेश्वरको अण्डरपास हुबहु कलंकीको जस्तै बन्नेछ । तर कोटेश्वरको कस्तो बनाउने भन्ने निश्चित भइसकेको छैन । पर्यटन मन्त्रालयले विमानस्थल मुनिबाट अन्डरपास निर्माण गर्न नदिने भएकाले कोटेश्वरमा कस्तो शैलीको अण्डरपास बनाउने भन्नेमा अन्योल देखिएको हो ।

एउटा अण्डरपास बनाउनका लागि ७० देखि ८० करोड रुपैयाँ लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । महाराजगंजमा समेत अन्डरपास बनाउने भएको छ । सो स्थानमा चक्रपथ विस्तारको क्रममा चिनिँया कम्पनीले आफै बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It