Development

सिंहदरबारमा निर्माणाधीन संसद् भवनको म्याद फेरि थपियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । सिंहदरबारको पुतली बगैंचामा निर्माणाधीन संसद् भवनको म्याद दोस्रोपटक थप भएको छ । निर्माण कम्पनी तुँदी सेक जेभिले निर्माण गरिरहेको संसद भवन निर्माणका लागि ६ महिना म्याद थप गरिएको हो ।

सहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण आयोजना समन्वय कार्यालयले दोस्रोपटक थपिएको म्याद आगामी असोजसम्ममा निर्माण सम्पन्न गर्ने जनाएको छ । 

सिंहदरबारमा निर्माणाधीन संसद् भवनको म्याद फेरि थपियो

समन्वय कार्यालयका अनुसार असोजभित्र इन्टेरियर डिजाइन (भित्री साजसज्जा) बाहेकको काम सम्पन्न गर्ने गरी काम भइरहेको छ । तर, इन्टेरियर डिजाइन गरेर पूर्णरूपमा निर्माण पूरा हुने समय भने अझै अनिश्चित रहेको जनाइएको छ । 

०७६ असोज १६ मा भएको ठेक्का सम्झौताअनुसार २०७९ असोजमा भवन निर्माण गरिसक्नुपर्ने थियो ।  तर, कोरोना महामारीका कारण ६ महिना म्याद थप गरि २०७९ चैतसम्म पुर्याइएको थियो । चैतसम्म निर्माण सम्पन्न नहुने भएपछि निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्न माग गरेको थियो । 

५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ लागतमा निर्माणाधीन संसद भवन अत्याधुनिक किसिमको हुनेछ । त्यसैगरी डाटा, सेक्युरिटी सिस्टमलगायत सबै नयाँ प्रविधिअनुसार निर्माण भइरहेको छ । आवश्यकता अनुसार प्रविधिमा परिमार्जन गरिने बताइएको छ ।

सिंहदरबारमा निर्माणाधीन संसद् भवनको म्याद फेरि थपियो

सिंहदरबारभित्र १ सय ७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनमा संघीय संसद भवन, प्रतिनिधिसभा भवन, राष्ट्रियसभा भवन, कमन लबी, अतिविशिष्ट कक्ष र अन्य कार्यालयलगायत ११ भवन हुनेछन् । १ सय ५१ रोपनीमा भवन तथा संरचना तथा अन्य क्षेत्रमा खुला ठाउँ, चौर, बगैंचा, सडकपेटी बन्ने छन् । 

संसद भवन परिसरमा बन्ने सबै भवन काठमाडौंका स्थानीय वास्तुकला झल्कने खालका हुनुका साथै हाइटेक आधुनिक इन्जिनियरिङ डिजाइन प्रविधिअनुसार निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It