News

खुल्लामञ्चमा ट्रीपल बेसमेन्ट पार्किङ बनाउदै काठमाडौं महानगर

Pinterest LinkedIn Tumblr

काठमाडौं । मंगलबार राष्ट्रिय सभा गृहमा १० औं कार्यपालिका बैठक बसेको थियो । बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको बैठकले नगर विकास कोषको प्राविधिक सहयोगमा पार्किङ निर्माण अघि बढाउने निर्णय गर्यो । यससँगै काठमाडौं महानगरपालिकाले खुल्लामञ्चमा ट्रीपल बेसमेन्ट पार्किङ निर्माण गर्ने भएको छ । 

बैठकको निर्णय अनुसार तत्कालै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बनाइने छ । बैठकले वडा नं. २८ मा रहेको खुल्लामञ्चमा ट्रीपल बेसमेन्ट पार्किङ र पानी पुन:भरण पीटको विस्तृत अध्ययन गर्ने निर्णय गरेको हो । 

बैठकमा पेस भएको खरिद नियमावली स्वीकृत सम्बन्धी प्रस्तावमा मेयर शाहले निश्चित सीमासम्मका योजनाहरू वडा आफैंले खरिद गर्न सक्ने बनाउन लागिएको बताएका थिए । विकेन्द्रीकरणलाई व्यवहारिक रुपमा कार्यान्वयन गराउने प्रयास स्वरुप यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ । 

बैठकले काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण ऐन कार्यान्वयन गर्न कार्यविधि बनाउने, महिला स्वास्थ्य स्वयंमसेविका सम्बन्धी कार्यविधि बनाउनेलगायत निर्णय गरेको छ । यस्तै सामाजिक विकास विभाग अन्तर्गत विकास सहायता कार्यविधिले तोकेका काम गर्न आवश्यक पर्ने सामग्रीसहित ४२ शीर्षकका दररेट स्वीकृत गरेको छ । 

बैठकमा प्रशासनिक तथा व्यवस्थापकीय पक्षमा कार्यपालिका सदस्यहरूको प्रश्नलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले चुस्त र प्रभावकारी सेवाका लागि जनशक्तिको उच्चतम उपयोग गरिने बताए ।  

अहिले महानगरपालिकामा पार्किङको समस्याले सबैलाई हैरानी दिएको छ । उपयुक्त व्यवस्था नहुँदा जथाभावि गरिएका पार्किङले सडक तथा फुटपाथ अस्तव्यस्त देखिन्छन् । कतिपय अवस्थामा त पार्किङ कै कारण जाम समेत झेल्न पर्छ । यस्तोमा महानगरको यो कदम स्वागतयोग्य छ । प्रभावकारी रुपमा कार्य अगाडि बढे यसको फाइदा फुटपाथमा हिँड्ने देखि सडकमा गाडी चलाउने सबैलाई हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It