Property

घडेरी किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहाेला, नत्र परिएला झमेलामा

Pinterest LinkedIn Tumblr

पछिल्लो समय घडेरी खरिद घर बनाउनका लागि मात्र लगानी गरी मुनाफा आर्जनका लागि पनि हुने गरेको छ । छोटो समयमा राम्रै मुनाफा आर्जन गर्न सकिने भएपछि केही रकम बचत हुनेहरुले आफ्नो क्षमताअनुसार घडेरीमा लगानी गर्न चासो राख्ने गरेको पाइन्छ । वैदेशिक रोजगारीका क्रममा कमाएको पैसा पनि पछिल्लो समय घडेरी खरिदमा लगानी भएको देखिएको छ ।

तर घडेरी किन्दा विचार नगरी किनियो भने मुनाफा कमाउने त कता हो कता, भएकै रकम पनि फस्ने खतरा हुन्छ । मुद्दामामिला भएर मानसिक तनाव पनि खेप्नुपर्छ । त्यसैले घडेरी किन्दा विभिन्न कुराहरुमा ध्यान दिनु अति आवश्यक हुन्छ। त्यसो भए घडेरी किन्दा ध्यान दिन छुटाउनै नहुने कुनकुन पक्ष होलान् ? यहाँ जानकारी दिन खोजिएको छ ।

वास्तविक जग्गाधनीलाई भेटेर कुरा अघि बढाउने

घडेरी खरिद गर्न काम कुरा थाल्दा दलालको मात्रै भर पर्नु हुँदैन । पछिल्लो समय दलालले नक्कली जग्गाधनी खडा गरेर फसाइदिने गरेको समाचार पनि पढ्न पाइन्छ । त्यसैले घडेरीमात्र नभई जग्गा किन्दा पनि वास्तविक जग्गाधनीसँग भेटेर कुरा गर्नुपर्छ । घडेरी किन्न पहिले दलालसँग नै सम्पर्क हुन्छ । दलालले पनि सकेसम्म बढी पारेर आफूलाई फाइदा निकाल्न जग्गाधनीसँग भेटाउन चाहन्नन् । तर आफूले वास्तविक जग्गाधनीसँग भेटेर कुरा अगाडि बढाउने अडान छाड्नुहुँदै । त्यति मात्र नभएर जग्गा बिक्री गर्ने व्यक्तिले आफ्नो इच्छाले बिक्री गर्न लागेको हो कि होइन ? सो जग्गा उसको हक भोगमा छ/छैन आदि कुरा बुझ्नुपर्छ । जग्गा दलालहरूले वास्तविक जग्गाधनीलाई नभेटाउने, ‘मेरो जग्गा हो’, ‘आफ्नो मान्छेको जग्गा हो’,‘मैले बैना गरेको जग्गा हो’ भनेर नक्कली बैना कागजसमेत खडा गरेर देखाउने र ठगी गरेका थुप्रै घट्ना भएका छन् । त्यसैले वास्तविक जग्गाधनी नभेटीकन जग्गाको कुरा अगाडि बढाउन हुँदैन ।

मालपोत कार्यालयमा गई जग्गाको अभिलेख हेर्ने

जग्गाधनीसँग कुराकानी भएपछि उसको नागरिकता र लालपुर्जाको प्रतिलिपि मागेर सम्बन्धित मालपोत कार्यालयमा गई सम्बन्धित विवरण हेर्नु राम्रो हुन्छ । खरिद गर्न लागेको जग्गाको मोठ, स्रेस्ता, पाना नं., कि.नं., जग्गाधनीको फोटो, तीनपुस्ते विवरण ठीक भएनभएको कुरा सम्बन्धित मालपोत कार्यालयबाट बुझ्नुपर्छ । नागरिकता प्रतिलिपि र लालपुर्जामा भएको विवरण सम्बन्धित मालपोत कार्यालयमा देखाएर मिल्छ/मिल्दैन रुजु गराउन सकिन्छ ।

रोक्का रहेनरहेको बुझ्ने

जग्गाधनीले विभिन्न प्रयोजनका लागि जग्गा रोक्का राखेको हुन सक्छ । मुद्दामामिलाका कारण अदालतले पनि जग्गा रोक्काको आदेश दिएको हुन सक्छ । त्यसैले आफूले किन्न खोजेको घडेरी कुनै अड्डाअदालत, बैंक र वित्तीय संस्था वा अन्य कुनै निकायको पत्रबाट रोक्का रहेको भए सो कुरा पनि मालपोत कार्यालयबाट थाहा पाउन सकिन्छ । अभिलेख हेर्ने क्रममा रोक्का रहेनरहेको वा रहेको भए कुन निकायबाट रहेको हो सोसमेत बुझी प्रस्ट हुनुपर्छ ।

नक्सा र फिल्डको आकार मिल्छ/मिल्दैन हेर्ने

घडेरी किन्ने निणर्य गर्नु पहिले नक्सा र फिल्डलाई भिडाएर हेर्नुपर्छ । फिल्डमा बढी देखिए पनि नक्सामा जग्गा कम हुन सक्छ । फिल्डमा कम भएर नक्सामा बढी पनि हुन सक्छ । यस्तो अवस्थामा कम जग्गाका लागि बढी पैसा तिर्नुपर्ने हुन सक्छ । त्यसैले फिल्डमा नापेर भएको क्षेत्रफलको मात्र पैसा तिर्नुुपर्छ । नक्सामा बढी भए पनि फिल्डमा छैन भने नभएको जग्गाको पैसा तिर्नुहुँदैन । फिल्डमा बढी भएमा नक्सामा नभएमा पनि बढी जग्गाको पैसा तिर्नु हुँदैन ।

नक्सा र फिल्डमा बाटो छ-छैन हेर्ने, तुलना गर्ने

घडेरी किन्दा महत्वपूणर् पक्ष भनेको बाटोले छोएको छ कि छैन, छ भने कति फुट चौडाइको बाटो छ भन्ने जानकारी पाउनु आवश्यक हुन्छ । दलालहरुले बाटो नै नभएको घडेरीलाई पनि बाटो छ भनेर भिडाउने गरेको पाइन्छ । जग्गाको नक्सा र फिल्डमा भएको बाटोको नाप मिलेको छ कि छैन त्यो पनि हेर्नुपर्छ । जग्गामा ठूलो बाटो छ तर फिल्डमा सानो छ र अरू जग्गामा घर बनिसकेका छन् भने नक्साअनुसारको बाटो कायम गर्न सकिँदैन । त्यसैले नक्सामा मात्र बाटो ठूलो भएर हुँदैन । अन्य जग्गामा घर बनेका छैनन् । फिल्डमा बाटो ठूलो छ तर नक्सामा सानो छ भने पछि अन्य जग्गावालको क्षेत्रफल नपुगेमा बाटोमा भएको बढी जग्गाबाट लिनसक्ने हुँदा पछि बाटो सानो हुनसक्छ ।

जग्गाको प्रकृति र मोहीबारे बुझ्ने

मुलुकका विभिन्न भागमा विभिन्न किसिमका गुठीका जग्गा छन् । गुठीको जग्गा पनि किनबेच भइरहेको पाइन्छ । तर घडेरी किन्दा सकेसम्म गुठीको जग्गा नपरोस् भनेर चनाखो हुनुपर्छ । गुठीको जग्गा रहेछ भने गुठीको नामसमेत उल्लेख भएको पुर्जा हुन्छ । यसको मूल्यांकन र हकभोगसम्बन्धी आफ्नै नियम हुन्छ । त्यसको अधीन रहेर मात्र हकभोग र बिक्रीवितरण गर्न पाइन्छ ।

जग्गा राखेर ऋण लिनुपर्ने अवस्था भएमा बैंक र वित्तीय संस्थालेगुठीको जग्गा धितो राख्न मान्दैनन् । रैकर एकलौटी जग्गामा भने खासै समस्या हुँदैन ।

कुनै जग्गा मोही दर्ता गरी हकभोग गरेको रहेछ, उसको भाग दिएको अवस्था रहेनछ र उसलाई थाहा नदिई बिक्री गरेको रहेछ भने पनि उसले मुद्दामामिला गर्नसक्छ त्यसैले सोबारे पनि बुझ्नुपर्छ । मोही भएको जग्गा किन्नुपरेमा जग्गाधनी र मोहीलाई सँगै राखेर उनीहरुको हिसाबकिताब, भागबन्डा छिनोफानो गराई मात्र किन्नुपर्छ ।

सँधियारहरुबारे बुझ्ने

घडेरी किन्ने निणर्य गर्नु पहिले सँधियारहरुबारे पनि बुझ्नुपर्छ । जग्गाको साँध सिमानाका बारेमा विवाद भएको जग्गा किनियो भने झमेलामा परिन्छ । कसैको जग्गाको क्षेत्रफल नपुगेको वा कसैको बढी देखिएको अवस्थामा त्यस्तो विवाद भएको हुनसक्छ । कसैको जग्गा कतै घुसेको वा मिचिएको प्रमाणित भएमा अर्काको जग्गाको क्षेत्रफल घट्न सक्छ । त्यसैले साँधसिमाना प्रस्ट छ/छैन एकपटक सँधियारसँग बुझ्नुपर्छ । र, जग्गाधनीलाई नक्साअनुसारको सिमाना रेखांकन गरी यकिन गर्न लगाउनुपर्छ ।

लिखतमा एकाघरका सदस्यलाई साक्षी राख्न लगाउने

घडेरी खरिद गरिसकेपछि बिक्रीकर्ताका तर्फबाट कुनै कानुनी समस्या नआओस् भनेर रजिस्ट्रेसनको लिखत पारित गराउँदा सकेसम्म एकाघरका अंशियार सदस्यलाई साक्षी राख्नुपर्छ । श्रीमान-श्रीमती, उमेर पुगेका छोराछोरी, दाजुभाइ, आमाबाबु आदि अंशियारलाई साक्षी राखियो भने उनीहरुका तर्फबाट विवाद सिर्जना हुने अवस्था रहँदैन । विवाद गरेमा पनि लिखत बदर हुने सम्भावना कम हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It