Research

एक वर्षमै जिल्लाको उत्कृष्ट बन्दै ब्रदर्स टायल उद्योग, मूल्य वृद्धिले समेत छुन सकेन

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । पछिल्लो समय हरेक वस्तु तथा सामग्रीको मूल्य अकासिएको छ । वर्षाद लागेसँगै कच्चा पदार्थको मूल्यमा गिरावट आएको भएता पनि अघिल्ला वर्षहरूको तुलनामा भने महङ्गो नै छ । नेपालमा प्रायजसो निर्माण सामग्री छिमेकी मुलुकबाट आयात गर्ने गरिन्छ । यसो हुँदा भन्सार मूल्यका कारण पनि सामग्री झनै महङ्गो पर्न जान्छ । समस्या तथा सम्भावनालाई मध्यनजर गर्दै हिजोआज नेपालमै पनि यस्ता सामग्री उत्पादन हुन थालेको छ । त्यस्तै, स्वदेशमै निर्माण सामग्रीको उत्पादन गर्दै केही युवालाई रोजगारीको अवसर दिइरहेका एक युवा उद्यमी हुन् दीपक साउद । 

ब्रदर्श टायल सिमेन्ट तथा इटा उद्योग

कैलाली जिल्ला, लम्कीका स्थानीयवासी दीपकले करिब डेढ वर्षयता निर्माण सामग्री उद्योग सञ्चालन गरिरहेका छन्, जसको नाम हो- ‘ब्रदर्श टायल सिमेन्ट तथा ईंटा उद्योग’ । उद्योगले हालसम्म निजी तथा सरकारी गरी १५० भन्दा बढि ग्राहकलाई सेवा दिइसकेको छ । स्थापनाकाल देखि नै टायल, ईंटा र सिमेन्टको उत्पादन भइरहेको साउद बताउँछन् । सुदूरपश्चिममा आधारित यस उद्योगमा दैनिक २ देखि ३ हजार टायल उत्पादन हुन्छ । 

साउदले भारतमा बसेर करिब ८ वर्ष सोही काम गरेका थिए । जहाँ उनले ठूला र अग्ला बिल्डिङमा रहेर काम गरेका थिए । तुलनात्मक रुपमा नेपालमा त्यति ठूला भवन निर्माण भएको नपाएका उनले स्वदेश फर्किएर निर्माण व्यवसायलाई निरन्तरता दिने सोच बनाए ।  

टायल

योजना र सपनालाई वास्तविकताको रूप दिँदै उनले अहिले उद्योग मार्फत १५ जनालाई रोजगारी समेत दिइरहेका छन् । उनी भन्छन्- ‘मासिक रुपमा तलब दिएर कामदार राख्दा कामचोरी हुने र समयमा काम सम्पन्न गर्न समेत कहिलेकाहीँ त बाधा पर्छ । दैनिक ज्यालाको हिसाबले कामदार राख्दा काम गर्ने र गराउने दुवै पक्षलाई राम्रो हुन्छ ।’ यसो हुँदा कामदारलाई पनि लचकताको अवसर मिलेको देखिन्छ । स्थायी रुपमा अथवा निश्चित समयको लागि कामदार नभएता पनि उनीहरूको सुरक्षालाई भने उद्योगले ध्यानमा राखेको साउदले बताए । ‘कामदारको सुरक्षाका लागि मास्क, पन्जा र आवश्यक परेको खण्डमा अन्य सुरक्षा सामग्री समेत उपलब्ध गराउने गरेको छौं,’ साउद सुनाउँछन् । साथै कामदारलाई कम्पनी भित्रै बस्ने व्यवस्था मिलाइएको छ । 

स्थापनाको केही समयमै कैलाली जिल्लाको उत्कृष्ट उद्योगको रुपमा आफुहरू स्थापित भएको साउदको दावी छ । साउदले करिब ५० लाखको एकल लगानीमा उद्योग सुरू गरेका हुन् । उनका अनुसार, व्यापार सुस्त हुँदा समेत औसतमा २ लाख र काम राम्ररी चलेको अवस्थामा १० देखि १२ लाखको आम्दानी हुने गरेको छ । सामान स्टकमा राख्नु भन्दा कम मूल्यमै भएपनि बेचेर नयाँ उत्पादनमा लाग्ने उनको बानी छ । अहिले बाहिरबाट आउने हरेक निर्माण सामग्रीमा व्यवसायी र उपभोक्ता महंगी खपिरहेका छन् । तर ब्रदर्स टायल तथा सिमेन्ट उद्योगलाई मुल्य वृद्बिले खासै कुनै असर नगरेको उनले बताए । तर वर्षादको समयमा टायल लगाउने काम नहुने हुँदा उत्पादन मात्र गरिरहेको बताए । कच्चापदार्थमा केमिकल एसीड प्लास्टिक र कलरहरू मोरङ र बुटवलबाट ल्याइन्छ । थप बालुवा चिप्स आसपासबाटै मगाउने गरेको उनले बताए । 

उद्योगमा मिलानो , थ्री डी जस्ता अनेकन डिजाइनका टायलहरू उत्पादन हुन्छ । यसो हुँदा सेवाग्राहीका लागि पनि मनग्यै विकल्प रोज्न मिल्दछ । टायलको गुणस्तरका आधारमा प्रति पिस ३० देखि ५० रूपैंया सम्म पर्ने उनी बताउँछन् । उत्पादन र सेवा दुवै काम उद्योगले नै हेर्ने गरेको हुँदा स्क्वाएर फिट नापेर अर्डर लिने गरेका छन् । हाल स्थानिय बजारमा सेवा सिमित भएको हुँदा कहिलेकाहीँ पैसा उठाउन समस्या हुने साउदले बताए । ‘त्यस्तो अवस्थामा आफुले अन्य कम्पनीमा लगानी गरेको शेयरबाट सहुलियत कर्जा लिएर काम गर्छौं । आएको पैसालाई अरू उत्पादन बढाउने काममा लगानी गर्ने र कर्जा किस्तावन्दीमा तिर्दछौं,’ उनले भने । 

उद्योगका भावी योजनाः

१०० किलोमिटरको दूरीमा सिमित सेवालाई बढाएर आगामी दिनमा शाखा खोल्ने योजनामा छन् । निर्माण सामग्रीमा पनि विविधता दिन ढोकाको चौकोसहरू सिमेन्ट बेस बनाउने उनले बताए । काठको झ्यालढोकामा भन्दा सिमेन्टको ढोकामा फिनिसिङ राम्रो आउने र बुट्टा कुँद्न सजिलो हुन्छ । यसको उचाइ औसत ७/८ फुटको हुन्छ साथै सो ढोकाले लक सिस्टममा काम गर्दछ । यसको फाइदा भनेको घरको सम्पुर्ण भार वहन क्षमता धेरै हुन्छ । काठको चौकोस बनाउनु पर्दा ६ हजार सम्म पर्ने र सिमेन्टको बनाएर फिक्स गर्दा ३ हजार रूपैयामा हस्तान्तरण गर्न सकिन्छ । यसलाई १२ देखी १४ केजी सिमेन्ट लाग्दछ । त्यसरी हेर्दा २०० को सिमेन्ट २५० सम्म बालुवा, मसिना रड हरू मिलाएर १२ देखि १३ सयमा बनाउन सकिन्छ । खासमा उनको लक्ष्य टायल बनाउने नभइ अपार्टमेन्टहरू बनाएर बेच्ने रहेको उनि सुनाउँछन् । आफूसँग ५० प्रतिशत लगानीको क्षमता पुगेको खण्डमा अपार्टमेन्टहरू बनाउन तर्फ लाग्ने उनको लक्ष्य छ । 

भदौ पछि गुजरातबाट थप मेसिनहरू ल्याएर यसैसँग सम्बन्धित कन्ट्रक्सन हाउजिङ प्रोजेक्टको लागि लाग्ने सिमेन्टजन्य सामग्री बनाउने हिसाबले अघि बढिरहेको उनी बताउँछन् । जुनसुकै काम स्मार्ट तरिकाले गर्दा छिटो छरितो हुने उनले बताए । एउटा संरचना निर्माण गर्न चाहिने सामाग्रीहरू ८० प्रतिशत आफुसँग छ भने अरू ठाउँमा खोज्न जान पर्दैन ।  कम लागतमा बनाउन सकिने हुनाले यसरी अगाडि बढिरहेको उनि बताउछन् । 

सेवाग्राहीसँग ब्रदर टायल्सः

हाल बजारमा स्थानिय उत्पादन महङ्गो छ । बजेट अनुसार पाइदैन भन्ने प्रवृति रहेको छ । साथै नजिकमा निर्माण सामग्री उपलब्ध हुने हुँदा उत्पादन कम खर्चिलो नै छ । तसर्थ स्थानिय उपभोक्तालाई सहुलियतको प्राथमिकतामा राख्ने गरेका छन् । ‘ठुला अर्डरमा भने टेन्डरसिप पर्दछ र त्यसमा थोरै बजेटमा घाटा नखाइ कति सम्म गर्न सकिन्छ भन्ने हुन्छ । सरकारी कामहरूमा सबै बजेट सुरूमा नआउने र बीच बीचमा पेस्की आउँछ र त्यसमा पनि केही प्रतिशत काटेर आउँछ त्यो हुदा एकैचोटी उठाउने भन्ने तरिकाले काम गरिने हुदा समस्या आउँछ, उनले बताए । प्राइभेट काममा भने १०/१२ लाखको काममा पनि पेस्की माग्ने  हुँदा काम गर्न खासै समस्या नहुने बताउँछन् । 

टायल बनाउँदै

ग्राहकहरू गुणस्तरमा सचेत त हुन्छन् तर सबैलाई कस्तो ठाउमा कुन किसिमको टायलहरू हाल्ने थाहा नहुने हुँदा कम्पनीबाट परामर्श दिएर मात्र उपभोक्तालाई पठाउने गरेको उनले बताए । सामान्य बाइक र गाडी हिड्ने ठाउमा सामान्य भारवहन क्षमता भएको टयलहरू प्रयोग गर्न सकिन्छ र हाइ ब्रिजहरूमा ठुला हार्डवेयरहरूमा जहाँ २५/३० टनका गाडिहरू आउछन् भने मजबुत टायल लगाउनुपर्छ । सोहि अनुसार ग्राहकलाई परामर्श दिइन्छ ।  कुनै प्रोजेक्ट हो भने लगाउनु अघि टेस्ट हुन्छ र गुणस्तरीय भन्ने भइसकेपछि मात्र लगाइन्छ ।

छिमेकी जिल्ला सुर्खेतस्थित शिवजीको मन्दिरमा काम गर्दा सरकारी निकायसँग सहकार्य गरेको उनले बताए । साथै कैलाली जिल्लामा पनि धेरै बगैचा, पार्किङ क्षेत्र, सडकका लेनहरूमा टायल बिच्छ्याउने लगायतका कयौं प्रोजेक्ट सरकारी तथा निजी निकायका काम गरिसकेको बताए । हाल आर्थिक समस्याका कारण निजी स्तरमा काम कम गर्न थालेको उनको भनाइ छ । 

सामग्रीको उत्पादन र गुणस्तरः

उद्योगका उत्पादन गुणस्तरको सन्दर्भमा सामग्रीको क्वालिटी अनुसार ग्रेड छुट्याएको हुन्छ । जस्तै M20,  M10, M30, M35 ग्रेडले सामग्रीको गुणस्तर बढाउने हो । र परिक्षण गर्दा सोहि ग्रेड आएपछि मात्र पास हुन्छ र बजारमा बिक्रिका लागि तयार हुन्छ ।  

रातो इटा बनाउन खेतियोग्य उर्भर माटो प्रयोग हुन्छ यसले गर्दा किसानको खेति मासियो । कच्चापदार्थ बाहिरबाट ल्याउदा खर्च धेरै हुन्छ । तर यस उद्योगले खेर गएका तथा जलेर नस्ट भइसकेका चिजबाट सिमेन्ट बनाउने गरेको छ । साथै पर्यावरणमैत्री उत्पादनमा उन्मूख उद्योगले क्रसरबाट ढुङ्गाको ढुटो निकाल्न प्रयोग हुने पाउडर उपयोग गरिन्छ ।  

जस्तोसुकै अवस्थामा पनि सम्हालिएर काममा आफूलाई प्रेरित गर्ने युवा उद्यमी साउद भन्छन्- ‘मानिस कुनै कुरा प्राप्त गरेर त्यतिमै सन्तुष्ट हुन्छ भने त्यस उपलब्धिको सिमा त्यहि सम्म हुन्छ । म यो काम बाट अघाएको छैन । त्यसकारण जति प्राप्त भएको छ त्यसैमा मात्र गर्व पनि गरेको छैन । 

प्रतिक्रिया दिनुहोस्
Pin It