Research

एक वर्षमै जिल्लाको उत्कृष्ट बन्दै ब्रदर्स टायल उद्योग, मूल्य वृद्धिले समेत छुन सकेन

By BabinaJuly 26, 20226 min read
एक वर्षमै जिल्लाको उत्कृष्ट बन्दै ब्रदर्स टायल उद्योग, मूल्य वृद्धिले समेत छुन सकेन

सुन्नुहोस्:

 

काठमाडौं । पछिल्लो समय हरेक वस्तु तथा सामग्रीको मूल्य अकासिएको छ । वर्षाद लागेसँगै कच्चा पदार्थको मूल्यमा गिरावट आएको भएता पनि अघिल्ला वर्षहरूको तुलनामा भने महङ्गो नै छ । नेपालमा प्रायजसो निर्माण सामग्री छिमेकी मुलुकबाट आयात गर्ने गरिन्छ । यसो हुँदा भन्सार मूल्यका कारण पनि सामग्री झनै महङ्गो पर्न जान्छ । समस्या तथा सम्भावनालाई मध्यनजर गर्दै हिजोआज नेपालमै पनि यस्ता सामग्री उत्पादन हुन थालेको छ । त्यस्तै, स्वदेशमै निर्माण सामग्रीको उत्पादन गर्दै केही युवालाई रोजगारीको अवसर दिइरहेका एक युवा उद्यमी हुन् दीपक साउद । 

ब्रदर्श टायल सिमेन्ट तथा इटा उद्योग

कैलाली जिल्ला, लम्कीका स्थानीयवासी दीपकले करिब डेढ वर्षयता निर्माण सामग्री उद्योग सञ्चालन गरिरहेका छन्, जसको नाम हो- ‘ब्रदर्श टायल सिमेन्ट तथा ईंटा उद्योग’ । उद्योगले हालसम्म निजी तथा सरकारी गरी १५० भन्दा बढि ग्राहकलाई सेवा दिइसकेको छ । स्थापनाकाल देखि नै टायल, ईंटा र सिमेन्टको उत्पादन भइरहेको साउद बताउँछन् । सुदूरपश्चिममा आधारित यस उद्योगमा दैनिक २ देखि ३ हजार टायल उत्पादन हुन्छ । 

साउदले भारतमा बसेर करिब ८ वर्ष सोही काम गरेका थिए । जहाँ उनले ठूला र अग्ला बिल्डिङमा रहेर काम गरेका थिए । तुलनात्मक रुपमा नेपालमा त्यति ठूला भवन निर्माण भएको नपाएका उनले स्वदेश फर्किएर निर्माण व्यवसायलाई निरन्तरता दिने सोच बनाए ।  

टायल

योजना र सपनालाई वास्तविकताको रूप दिँदै उनले अहिले उद्योग मार्फत १५ जनालाई रोजगारी समेत दिइरहेका छन् । उनी भन्छन्- ‘मासिक रुपमा तलब दिएर कामदार राख्दा कामचोरी हुने र समयमा काम सम्पन्न गर्न समेत कहिलेकाहीँ त बाधा पर्छ । दैनिक ज्यालाको हिसाबले कामदार राख्दा काम गर्ने र गराउने दुवै पक्षलाई राम्रो हुन्छ ।’ यसो हुँदा कामदारलाई पनि लचकताको अवसर मिलेको देखिन्छ । स्थायी रुपमा अथवा निश्चित समयको लागि कामदार नभएता पनि उनीहरूको सुरक्षालाई भने उद्योगले ध्यानमा राखेको साउदले बताए । ‘कामदारको सुरक्षाका लागि मास्क, पन्जा र आवश्यक परेको खण्डमा अन्य सुरक्षा सामग्री समेत उपलब्ध गराउने गरेको छौं,’ साउद सुनाउँछन् । साथै कामदारलाई कम्पनी भित्रै बस्ने व्यवस्था मिलाइएको छ । 

स्थापनाको केही समयमै कैलाली जिल्लाको उत्कृष्ट उद्योगको रुपमा आफुहरू स्थापित भएको साउदको दावी छ । साउदले करिब ५० लाखको एकल लगानीमा उद्योग सुरू गरेका हुन् । उनका अनुसार, व्यापार सुस्त हुँदा समेत औसतमा २ लाख र काम राम्ररी चलेको अवस्थामा १० देखि १२ लाखको आम्दानी हुने गरेको छ । सामान स्टकमा राख्नु भन्दा कम मूल्यमै भएपनि बेचेर नयाँ उत्पादनमा लाग्ने उनको बानी छ । अहिले बाहिरबाट आउने हरेक निर्माण सामग्रीमा व्यवसायी र उपभोक्ता महंगी खपिरहेका छन् । तर ब्रदर्स टायल तथा सिमेन्ट उद्योगलाई मुल्य वृद्बिले खासै कुनै असर नगरेको उनले बताए । तर वर्षादको समयमा टायल लगाउने काम नहुने हुँदा उत्पादन मात्र गरिरहेको बताए । कच्चापदार्थमा केमिकल एसीड प्लास्टिक र कलरहरू मोरङ र बुटवलबाट ल्याइन्छ । थप बालुवा चिप्स आसपासबाटै मगाउने गरेको उनले बताए । 

उद्योगमा मिलानो , थ्री डी जस्ता अनेकन डिजाइनका टायलहरू उत्पादन हुन्छ । यसो हुँदा सेवाग्राहीका लागि पनि मनग्यै विकल्प रोज्न मिल्दछ । टायलको गुणस्तरका आधारमा प्रति पिस ३० देखि ५० रूपैंया सम्म पर्ने उनी बताउँछन् । उत्पादन र सेवा दुवै काम उद्योगले नै हेर्ने गरेको हुँदा स्क्वाएर फिट नापेर अर्डर लिने गरेका छन् । हाल स्थानिय बजारमा सेवा सिमित भएको हुँदा कहिलेकाहीँ पैसा उठाउन समस्या हुने साउदले बताए । ‘त्यस्तो अवस्थामा आफुले अन्य कम्पनीमा लगानी गरेको शेयरबाट सहुलियत कर्जा लिएर काम गर्छौं । आएको पैसालाई अरू उत्पादन बढाउने काममा लगानी गर्ने र कर्जा किस्तावन्दीमा तिर्दछौं,’ उनले भने । 

उद्योगका भावी योजनाः

१०० किलोमिटरको दूरीमा सिमित सेवालाई बढाएर आगामी दिनमा शाखा खोल्ने योजनामा छन् । निर्माण सामग्रीमा पनि विविधता दिन ढोकाको चौकोसहरू सिमेन्ट बेस बनाउने उनले बताए । काठको झ्यालढोकामा भन्दा सिमेन्टको ढोकामा फिनिसिङ राम्रो आउने र बुट्टा कुँद्न सजिलो हुन्छ । यसको उचाइ औसत ७/८ फुटको हुन्छ साथै सो ढोकाले लक सिस्टममा काम गर्दछ । यसको फाइदा भनेको घरको सम्पुर्ण भार वहन क्षमता धेरै हुन्छ । काठको चौकोस बनाउनु पर्दा ६ हजार सम्म पर्ने र सिमेन्टको बनाएर फिक्स गर्दा ३ हजार रूपैयामा हस्तान्तरण गर्न सकिन्छ । यसलाई १२ देखी १४ केजी सिमेन्ट लाग्दछ । त्यसरी हेर्दा २०० को सिमेन्ट २५० सम्म बालुवा, मसिना रड हरू मिलाएर १२ देखि १३ सयमा बनाउन सकिन्छ । खासमा उनको लक्ष्य टायल बनाउने नभइ अपार्टमेन्टहरू बनाएर बेच्ने रहेको उनि सुनाउँछन् । आफूसँग ५० प्रतिशत लगानीको क्षमता पुगेको खण्डमा अपार्टमेन्टहरू बनाउन तर्फ लाग्ने उनको लक्ष्य छ । 

भदौ पछि गुजरातबाट थप मेसिनहरू ल्याएर यसैसँग सम्बन्धित कन्ट्रक्सन हाउजिङ प्रोजेक्टको लागि लाग्ने सिमेन्टजन्य सामग्री बनाउने हिसाबले अघि बढिरहेको उनी बताउँछन् । जुनसुकै काम स्मार्ट तरिकाले गर्दा छिटो छरितो हुने उनले बताए । एउटा संरचना निर्माण गर्न चाहिने सामाग्रीहरू ८० प्रतिशत आफुसँग छ भने अरू ठाउँमा खोज्न जान पर्दैन ।  कम लागतमा बनाउन सकिने हुनाले यसरी अगाडि बढिरहेको उनि बताउछन् । 

सेवाग्राहीसँग ब्रदर टायल्सः

हाल बजारमा स्थानिय उत्पादन महङ्गो छ । बजेट अनुसार पाइदैन भन्ने प्रवृति रहेको छ । साथै नजिकमा निर्माण सामग्री उपलब्ध हुने हुँदा उत्पादन कम खर्चिलो नै छ । तसर्थ स्थानिय उपभोक्तालाई सहुलियतको प्राथमिकतामा राख्ने गरेका छन् । ‘ठुला अर्डरमा भने टेन्डरसिप पर्दछ र त्यसमा थोरै बजेटमा घाटा नखाइ कति सम्म गर्न सकिन्छ भन्ने हुन्छ । सरकारी कामहरूमा सबै बजेट सुरूमा नआउने र बीच बीचमा पेस्की आउँछ र त्यसमा पनि केही प्रतिशत काटेर आउँछ त्यो हुदा एकैचोटी उठाउने भन्ने तरिकाले काम गरिने हुदा समस्या आउँछ, उनले बताए । प्राइभेट काममा भने १०/१२ लाखको काममा पनि पेस्की माग्ने  हुँदा काम गर्न खासै समस्या नहुने बताउँछन् । 

टायल बनाउँदै

ग्राहकहरू गुणस्तरमा सचेत त हुन्छन् तर सबैलाई कस्तो ठाउमा कुन किसिमको टायलहरू हाल्ने थाहा नहुने हुँदा कम्पनीबाट परामर्श दिएर मात्र उपभोक्तालाई पठाउने गरेको उनले बताए । सामान्य बाइक र गाडी हिड्ने ठाउमा सामान्य भारवहन क्षमता भएको टयलहरू प्रयोग गर्न सकिन्छ र हाइ ब्रिजहरूमा ठुला हार्डवेयरहरूमा जहाँ २५/३० टनका गाडिहरू आउछन् भने मजबुत टायल लगाउनुपर्छ । सोहि अनुसार ग्राहकलाई परामर्श दिइन्छ ।  कुनै प्रोजेक्ट हो भने लगाउनु अघि टेस्ट हुन्छ र गुणस्तरीय भन्ने भइसकेपछि मात्र लगाइन्छ ।

छिमेकी जिल्ला सुर्खेतस्थित शिवजीको मन्दिरमा काम गर्दा सरकारी निकायसँग सहकार्य गरेको उनले बताए । साथै कैलाली जिल्लामा पनि धेरै बगैचा, पार्किङ क्षेत्र, सडकका लेनहरूमा टायल बिच्छ्याउने लगायतका कयौं प्रोजेक्ट सरकारी तथा निजी निकायका काम गरिसकेको बताए । हाल आर्थिक समस्याका कारण निजी स्तरमा काम कम गर्न थालेको उनको भनाइ छ । 

सामग्रीको उत्पादन र गुणस्तरः

उद्योगका उत्पादन गुणस्तरको सन्दर्भमा सामग्रीको क्वालिटी अनुसार ग्रेड छुट्याएको हुन्छ । जस्तै M20,  M10, M30, M35 ग्रेडले सामग्रीको गुणस्तर बढाउने हो । र परिक्षण गर्दा सोहि ग्रेड आएपछि मात्र पास हुन्छ र बजारमा बिक्रिका लागि तयार हुन्छ ।  

रातो इटा बनाउन खेतियोग्य उर्भर माटो प्रयोग हुन्छ यसले गर्दा किसानको खेति मासियो । कच्चापदार्थ बाहिरबाट ल्याउदा खर्च धेरै हुन्छ । तर यस उद्योगले खेर गएका तथा जलेर नस्ट भइसकेका चिजबाट सिमेन्ट बनाउने गरेको छ । साथै पर्यावरणमैत्री उत्पादनमा उन्मूख उद्योगले क्रसरबाट ढुङ्गाको ढुटो निकाल्न प्रयोग हुने पाउडर उपयोग गरिन्छ ।  

जस्तोसुकै अवस्थामा पनि सम्हालिएर काममा आफूलाई प्रेरित गर्ने युवा उद्यमी साउद भन्छन्- ‘मानिस कुनै कुरा प्राप्त गरेर त्यतिमै सन्तुष्ट हुन्छ भने त्यस उपलब्धिको सिमा त्यहि सम्म हुन्छ । म यो काम बाट अघाएको छैन । त्यसकारण जति प्राप्त भएको छ त्यसैमा मात्र गर्व पनि गरेको छैन । 

Brick IndustryCement industryTile industry

You May Also Like

More stories from Basobaas