News

बैंक र मालपोतको मिलेमतोमा अदालतले रोक्का गरेको जग्गा नामसारी

Pinterest LinkedIn Tumblr

काठमाडौं । सुर्खेतमा अदालतले रोक्का गरेको जग्गा आदेशविपरीत दोस्रो व्यक्तिको नाममा पास गरेको भन्दै व्यवसायीहरू विरोधमा उत्रिएका छन् । 

सुर्खेतका व्यवसायी प्रकाश उप्रेती र उनकी पत्नी अर्चना उप्रेतीको नाममा रहेको ६ कित्ता जग्गा एनआईसी एसिया बैंक र मालपोत कार्यालय सुर्खेतका कर्मचारीले मिलेर देवीराम पौडेलको नाममा लिलाम गरी नामसारी गरेको आरोप छ ।

आफूलाई थाहै नदिइ मालपोतका कर्मचारीहरुको मिलेमतोमा रोक्का फुकुवा गरी पास गरेको र देवीराम पौडेलले नै ‘तपाईंको जग्गा मैले बैंकको लिलामीबाट लिएको छु’ भनेपछि मात्रै थाहा पाएको पिडितको भनाइ छ ।

अदालतको अवहेलना गरी जग्गा पास गरेको भन्दै मालपोत कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गर्नुपर्ने र अदालतको आदेश मान्नुपर्ने उनिहरूको माग छ । कर्मचारीलाई निलम्बन नगरेमा थप आन्दोलन गर्ने व्यवसायीहरूले  चेतावनी दिएका छन् ।

सुर्खेत जिल्ला अदालतले २०७९ फागुन ५ गते रोक्का गर्न बैंकलाई आदेश दिएको थियो । तर, बैंक र मालपोतका कर्मचारीहरूको मिलेमतोमा गत साउन २ गते बैंकबाट फुकुवा गराइ लिलामीमा देवीराम पौडेलका नाममा दाखिला गरेको जनाइएको छ ।

विरोधपछि मालपोत कार्यालय सुर्खेतले मङ्सिर ४ गते भूमि व्यवस्थापन तथा अभिलेख विभाग काठमाडौंलाई देवीराम पौडेलका नाममा कायम भएका जग्गाहरू बदर गरी साविकबमोजिम नै कायम गर्न र आवश्यक कारबाही गर्न पत्राचार गरेको छ ।

मालपोतले रोक्का राखेका जग्गाहरू केकति कारणले पौडेलको नाममा नामसारी भएको भनी कार्यालय प्रमुख हमालले नासु राजकुमार सिंह र खरिदार राजेन्द्रबहादुर खड्कासँग तीन दिनभित्र स्पष्टीकरण दिन आदेश दिएको छ । तोकिएको समयभित्र जवाफ नदिएमा कानूनअनुसार कारबाही गरिने कार्यालयले जनाएको छ ।

एनआईसी एसिया बैंक सुर्खेतले भने बैंकले सबै प्रक्रिया पूरा गरेरमात्रै लिलाम गरेको र कुनै जालसाजी नगरेको दाबी गरेको छ । ऋणीले समयमै ऋण नतिरेपछि लिलाम प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ । 

एनआईसी एशिया बैंकमा उप्रेतीको नाममा रहेका साबिक जर्बुटा गाविसस्थित  जग्गाहरूः
  • वडा नं १ क कित्ता नं २०४० को क्षेत्रफल ०-०-१५ (बिघा) 
  • वडा नं १ ख कित्ता नं ८३५ को क्षेत्रफल ०-१-१०-० (बिघा)
  • वडा नं १ ख कित्ता नं १८६५ को क्षेत्रफल ०-०-८-१, (बिघा)
  • वडा नं १ ख कित्ता नं १४०१ को क्षेत्रफल ०-०-१६-१ (बिघा)
  • वडा नं १ ख कित्ता नं १८६६ को क्षेत्रफल ०-०-११-३ (बिघा)
  • र वडा नं १ ख कित्ता नं १८६३ को ०-०-८-१ (बिघा)  

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It