Research

बलियो घर निर्माणका आधारहरू, भुकम्पमा पनि निर्धक्क बस्न सकिने

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । भन्ने गरिन्छ, घर बस्ने ठाउँ मात्रै नभएर भावुकता पनि हो । त्यसैले त घर बनाउँदा कहिल्यै हतारमा अथवा केहि सोचविचार नगरी बनाईंदैन । तर कतिपय अवस्थामा विचार पुर्याउँदा पुर्याउँदै पनि कमजोरी रहन पुग्छ । त्यस्ता कमीहरूलाई कम गर्नका लागि अध्ययन र सोधखोज जरुरी छ । यदि तपाईं नयाँ घर बनाउने सोचमा हुनुहुन्छ भने आजको लेख तपाईंकै लागि हो ।

घर बनाउने सोचमा हुनुहुन्छ ? पक्कै पनि बलियो र राम्रो घर तपाईंको प्राथमिकतामा हुनपर्छ । त्यसो हो भने, तपाईंले विभिन्न पक्षलाई ध्यानमा राख्न पर्ने हुन्छ । कहिलेकाहिँ सामान्य लापार्वाहीका कारण पछि पछुताउनु पर्ने हुन्छ । नेपालको भूगोल अनुसार त महत्वपूर्ण पक्षलाई ध्यानमा नराख्दा घरको बनावट कमजोर हुनेमात्र नभई, भूकम्पको जोखिमका कारण धनजनको समेत क्षति हुनसक्छ ।

सामान्यतया नेपालमा दुई प्रकारका घर प्रचलनमा देखिन्छन् । ग्रामीण भेगमा ढुंगामाटोको घर र सहरी क्षेत्रमा सिमेन्ट तथा रडको प्रयोग गरी बनाइएका आरसिसी घर चलनमा छन् । यद्यपि पछिल्लो समय ग्रामीण भेगमा सडक सञ्जाल बिस्तार भएसँगै आधुनिक निर्माण सामग्रीमा पहुँच बढेको छ । यससँगै गाउँघरमा पनि सिमेन्ट तथा रड प्रयोग गरेर घर बनाउन थालिएको छ ।

घर

माटो र ढुंगाको प्रयोग गरी बनाइएका परम्परागत शैलीका घरभन्दा सिमेन्ट तथा रडको प्रयोगबाट बनाइएका घर तुलनात्मक रूपमा बलियो र आकर्षक मानिन्छन् । माटोका घर सामान्य जनशक्ति र कम लागतमा बनाउन सकिन्छ । भने सिमेन्ट र रडको प्रयोग गरी बनाइएका घर बनाउँदा अलि बढी नै ध्यान दिनुपर्छ । यस्तो घर बनाउँदा लागत पनि बढी लाग्छ ।

घर निर्माणमा सबैभन्दा महत्वपूर्ण कामहरूः

१. घडेरीको छनोट

यसका लागि प्राविधिकको परामर्श लिएर जग्गा र माटोको परीक्षण गर्नुपर्छ । घर निर्माण गर्दा माटोको परीक्षण गर्नु जरुरी छ । कमजोर माटो भएको, भिरालो जमिनमा घर बनाउँदा जमीनले धेरै भार धान्न सक्दैन । त्यस्तो ठाउँमा आवासका लागि सामान्य किसिमको घर बनाउँदा उचित हुन्छ । जमिन बलियो नहुँदा घरमा भूकम्पको जोखिम हुन्छ र धेरै क्षति पुग्ने सम्भावना हुन्छ ।

२. घरको डिजाइनः

दोस्रो चरणमा घरको डिजाइन कस्तो बनाउने भन्ने कुरा आउँछ । घरको डिजाइन मूख्य गरी दुई किसिमका हुन्छन्, जसलाई ‘आर्किटेक्चरल र स्ट्रकचरल डिजाइन’ भन्ने गरिन्छ । आर्किटेक्चरल डिजाइनमा घरको बनोट, कोठा, भान्साकोठा, चर्पीको ढाँचा, झ्याल, ढोका कस्तो प्रकारका राख्ने र कहाँ राख्नेलगायतका कुरा पर्छन् ।

स्ट्रक्चरल डिजाइनअन्तर्गत जग कति फिटको हाल्ने, पिलर कति मोटाइमा बनाउने, गारो कसरी लगाउने, रिङ कस्तो प्रयोग गर्ने, रडको मोटाइ कति गर्ने, बालुवा र सिमेन्ट कस्तो प्रयोगजस्ता कुरा पर्छन् । आवासीय घरमा १२ गुणा १२ इन्चको पिलर राखी तीन तलासम्मको घर बनाउँदा उपयुक्त हुन्छ । तर १२ गुणा १२ इन्चको पिलर राख्ने अनि ५-६ तलासम्मको घर बनाउने गर्नाले घरमात्रै होइन, घरमा बस्ने मानिस पनि जोखिममा पर्छन् । 

३. खुला भुइँतलाः

कंक्रिटको घर निर्माण गर्दा अर्को महत्वपूर्ण कुरा भनेको भुइँतला खुला गरेर माथिल्लो तल्लामा मात्रै ठूलो गारो लगाउनु हो । यसो गर्दा माथिल्लो तलाको भार बढि भई घर धराप बन्न सक्छ । त्यसैले घर बनाउँदा सकेसम्म भार कम हुने गरी बनाउनुपर्छ । भुइँतलामा पसल, सो-रुम, गोदाम, रेस्टुरेन्ट, गाडी पार्किङ अथवा गाडी छिर्ने गरी घरभित्र बनाएको बाटोले भुईंतलामा ज्यादा चाप पर्दछ । यसैकारण पनि विगतमा गएको भूकम्पमा तल नै थिचिएको पाइएको ।

४. बिम/पिल्लरः

घर निर्माणकै क्रममा अर्को महत्वपूर्ण कुरा बिममा डन्डीको प्रयोग हो । पिलर सिस्टम र आधुनिक प्रकारका निर्माणसम्बन्धी जानकारी भएका डकर्मी अथवा इन्जिनियरको प्रत्यक्ष निगरानीमा घर निर्माण गर्नुपर्दछ ।

त्यस्तै डन्डी जोड्दा जोडाइको लम्बाइ पुग्ने गरी जोड्नुपर्छ । बिम र पिलरको जोर्नीमा डन्डी जोड्नु हुँदैन । भुइँतलाको निर्माणमा धेरै डन्डीको प्रयोग गर्नुपर्छ ।

५. ढलानः

घर बनाउँदा अर्को महत्वपूर्ण कुरा भनेको ढलान हो । ढलान गर्दा गुणस्तरीय बालुवा, गिट्टी र सिमेन्ट  प्रयोग गर्नुपर्छ । ढलान धेरै पातलो र अति बाक्लो पनि गर्नु हुँदैन । ढलान गर्दा सिमेन्टमा पानी राखेको आधा घण्टाभित्र ढलान फर्मामा राखिसक्नुपर्छ ।

concrete

६. कंक्रिट निर्माणः

कंक्रिट निर्माण गर्दा सहि अनुपातमा सिमेन्ट, बालुवा र गिटीको मिश्रण बनाई त्यसमा पानी मिसाएर कंक्रिट बनाउन पर्दछ । यसरी कंक्रिट बनाउँदा कति भारवहन क्षमताको चाहिने हो त्यही अनुसार सिमेन्ट, बालुवा, रोडा र पानी मिलाउनुपर्छ । यो प्राविधिक कुरा भएकाले इन्जिनियरसँग राम्ररी परामर्श गर्नु आवश्यक हुन्छ । हरेक संरचनाले लिनुपर्ने भारको हिसाब गरेर कुन क्षमताको कंक्रिट चाहिन्छ त्यस्तै प्रकारको कंक्रिटको छनौट गर्नाले निर्माण सुरक्षित हुन्छ ।

७. ठेकेदारः

घरको लागत अनुसारको काम गर्ने ठेकेदारको चयन गर्नु पनि महत्वपूर्ण कुरा हो । घर निर्माणसम्बन्धी सम्पूर्ण कुराको ज्ञान भएको अनुभवी तालिम प्राप्त ठेकेदारलाई कामको जिम्मा दिएमा निर्माण सामग्रीको सदुपयोग हुनुका साथै व्यवस्थापन पनि राम्रो हुन्छ । यसबाट कम खर्चमा गुणस्तरीय काम गर्न सकिन्छ ।

माथि उल्लिखित निर्माण सम्बन्धी आधारभूत कुराहरू ध्यानमा राखेर घर बनाउँदा संरचना बलियो र राम्रो बन्ने अपेक्षा गर्न सकिन्छ । यी उपायले घरमा लाग्ने लागत पनि कम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It