News

सात महिनामा १७ करोडको सिमेन्ट निर्यात, बालुवामा पानी ‘सरकारी अनुदान’

Pinterest LinkedIn Tumblr

काठमाडौं ।  सिमेन्ट निर्यातमा नगद अनुदान दिने सरकारको घोषणाले समेत निर्यात बढाउन सकेको छैन । सिमेन्ट निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेसँगै उत्साहका साथ सुरु भएको सिमेन्टको निर्यात अपेक्षित रूपमा बढ्न सकेको देखिँदैन । 

नेपाल सिमेन्ट उत्पादक संघले सरकारले घोषणा गरेका सुविधा दिँदै थप सहयोग गरेमा नेपालबाट वार्षिक एक खर्ब ५० अर्बको सिमेन्ट निर्यात हुने सम्भावना रहेको जनाएको थियो । 

तर पछिल्ला सात महिनामा नेपालबाट १७ करोड बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएको छ । यस अवधिमा भारतबाट सात करोड ९१ लाखको सिमेन्ट तथा क्लिंकर आयात भएको छ । 

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट, छडलगायत ठूला औद्योगिक उत्पादनको निर्यातमा ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा गरेपछि उद्योगीहरू उत्साही भएका थिए । तर  घोषणाअनुसार अनुदान दिने कार्यविधि ल्याए पनि सिमेन्ट निर्यात भने अपेक्षा अनुरूप हुन सकेको छैन । 

सिमेन्ट क्लिंकरले निर्यात अनुदान

सरकारले गत ७ असोजमा निर्यात अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै वार्षिक ५० करोडभन्दा बढी निर्यात गर्ने संस्थालाई ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको छ । 

‘कुनै एक उद्योगले आर्थिक वर्षभरमा आफ्नो उत्पादित वस्तु ५० करोड रुपैयाँभन्दा बढीको निकासी गरेमा बढी निकासी भएको मूल्यका आधारमा ८ प्रतिशतसम्म नगद अनुदान उपलब्ध गराइने कार्यविधिमा उल्लेख छ । 

निर्यातकर्ताले यसरी पाउने अनुदानलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन, प्रविधि तथा क्षमताको विकास तथा विद्युतीय व्यापारको क्षेत्रमा खर्च गर्नुपर्नेछ । कार्यविधिअनुसार ५० प्रतिशतभन्दा बढी मूल्य अभिवृद्धि गर्ने वस्तुलाई ५ प्रतिशत र ३० प्रतिशत मूल्य अभिवृद्धि गर्ने वस्तुमा ४ प्रतिशत नगद अनुदान दिने व्यवस्था छ । 

सिमेन्ट र क्लिंकर ४ प्रतिशत नगद अनुदान पाउने सूचीमा छन् । ५० करोडभन्दा बढी मूल्यको निर्यात गरेर ८ प्रतिशत नगद अनुदान पनि पाउने सम्भावना राख्छन् । 

सिमेन्ट निर्यातको अवस्थाः

सात महिनामा १७ करोडको सिमेन्ट निर्यात, बालुवामा पानी ‘सरकारी अनुदान'

सिमेन्ट निर्यात भर्खरै सुरु भएकाले परिमाण र मूल्य थोरै देखिएको हो । निर्यातलाई क्रमशः बढाउने समेत संघले जनाएको छ । 

हाल सिमेन्ट उद्योगहरूले भारतीय गुणस्तर चिह्न लिने, बजार खोज्ने, आयातकर्ता (भारतीय पार्टर) खोज्नेलगायत काम भइरहेको छ । उद्योगले गुणस्तर चिह्न प्राप्त गरेपछि निर्यात अझ बढ्ने संघको अपेक्षा छ ।

पछिल्लो सात महिनामा नेपालमा ७ करोड ३१ लाख रुपैयाँ बराबरको सिमेन्ट आयात भएको छ भने ६ करोड ६ लाख रुपैयाँ बराबरको सिमेन्ट निर्यात भएको छ । 

क्लिंकर १० करोड ६४ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । त्यस्तै सिमेन्ट र ढुङ्गाको ब्रिक्स ६० लाखको आयात र ४३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । 

सिमेन्ट निर्यात गरिरहेका कम्पनीहरू भने सानै आकारमा भएपनि निर्यातको क्रम बढ्न थालेको बताउँछन् ।

हाल अर्घाखाँची सिमेन्ट मात्रै दैनिक तीन–चार हजार बोरा सिमेन्ट निर्यात भइरहेको छ । 

कम्पनीहरूले भारतमा ब्रान्डको प्रचार–प्रसार गराउने तथा नेटवर्क बनाउने काम गरिरहेको हुँदा निर्यातलाई लिएर धारणा बनाइहाल्न नमिल्ने उद्योगीहरूको भनाइ छ ।

हालसम्म पाल्पा सिमेन्ट उद्योगको तानसेन सिमेन्ट’ र मुरारका अर्गनाइजेसन लगायतको लगानी रहेको अर्घाखाँची सिमेन्टले निर्यात सुरु गरेका छन् । 

‘तानसेन सिमेन्ट’ रूपन्देहीको नाका सुनौली बजारदेखि गोरखपुरसम्म हाल १३ वटा डिलरमार्फत बिक्री सुरु गरेको छ । भने अर्घाखाँचीले भारतको आनन्दनगर र नौतनवामा सिमेन्ट निर्यात गरेको छ । 

त्यसबाहेक हालसम्म कुनै पनि सिमेन्ट उद्योगले निर्यात सुरु गरेका छैनन् । तर अन्य सात/आठवटा सिमेन्ट उद्योगले भारतीय गुणस्तर चिह्न लिने प्रयास गरिरहेका छन् । गुणस्तर चिह्न प्राप्त भएलगत्तै निर्यात सुरु गर्ने छन् । हाल नेपालमा करिब ६० वटा सिमेन्ट तथा क्लिंकर उद्योग रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It