News

५० करोड लगानीमा दुई वर्षभित्र अत्याधुनिक रंगशाला निर्माण हुँदै,

Pinterest LinkedIn Tumblr

काठमाडौं । जुम्लामा अत्याधुनिक सुविधायुक्त रंगशाला निर्माण हुने भएको छ । चन्दननाथ नगरपालिका–५ स्थित राजासिम चौरमा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालयले  रंगशाला निर्माण लागेको हो ।

५० करोड लगानीसहित निर्माण हुन लागेको उक्त रंगशाला प्रदेशकै नमुना रंगशाला हुने जनाइएको छ । सघन सहरी विकास कार्यक्रमअन्तर्गत बन्न लागेको रंगशाला निर्माणका लागि टेन्डर आह्वान समेत भइसकेको छ । 

दुई वर्षमा रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । कूल लगानी मध्ये १३ करोड लागतमा रंगशाला निर्माण हुने र बाँकी ३७ करोड लागतमा बाहिरका अन्य सुविधायुक्त संरचना निर्माण हुनेछन् । 

जसमध्ये रानी ताल पार्क, चन्दननाथ नगरपालिका अगाडि सटर, चन्दननाथ ८ को पक्की वडा कार्यालय भवन,जुम्ला बजारमा कटिङ ढुङ्गा छाप्ने काम हुनेछन् । 

कृष्ण मन्दिरदेखि एयरपोर्ट सडक कालोपत्रे, कर्णाली प्रतिष्ठानदेखि कर्णाली राजमार्ग सडक मर्मत, छिनासांगु, कार्तिकस्वामी सडक कालोपत्रे गरिनेछ । त्यसैगरी कर्णाली राजमार्गदेखि महतगाउँको घाट जाने सडक कालोपत्रे, धाइपालादेखि भण्डारी वडा सडक कालोपत्रे र मालाभिड कर्णाली प्रतिष्ठान जाने सडक कालोपत्रेलगायतका ११ वटा संरचना रंगशाला सँगसँगै निर्माण हुनेछन् ।

जुम्लामा रंगशाला नहुँदा खेलाडीलाई अभ्यास गर्न, जिल्लास्तरीय खेलकुद आयोजना गर्न समस्या हुने गरेको थियो । निर्माणको चरणमा रहेको यस रंगशालाले जुम्लाको खेल क्षेत्रमा देखिएका समस्यामा राहत पुग्ने अपेक्षा गरिएको छ । 

रंगशाला निर्माणसँगै जुम्लाका खेलाडीले हिउँदमा धुलो तथा हिउँ र बर्खामा हिलोमा अभ्यास गर्नुपर्ने, विभिन्न खेलको आयोजना गर्न स्थान अभावले भौँतारिनुपर्ने बाध्यताको अन्त्य हुनेछ । 

वर्षौंदेखि रंगशाला निर्माण हुने भनिए पनि यसले पूर्णता पाउन सकेको थिएन । सुविधायुक्त रंगशाला निर्माण हुने भएपछि जुम्लामा खेलाडी उत्साहित छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It