News

नेपालमा एक वर्षभित्र थपिए १८ वटा तारे होटल, हजारौंलाई रोजगारीको अवसर ।

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षमा मात्र देशभर १८ वटा तारे होटल सञ्चालनमा आएका छन् । पर्यटन विभागले सार्वजनिक गरेको होटल स्तर वर्गीकरण अनुसार हेरिटेज एवम् बुटिक होटल तीन वटा, पाँचतारे दुईवटा, चारतारे नौ वटा, तीनतारे दुईवटा र दुईतारे दुईववटा गरी जम्मा १८ वटा तारे होटल सञ्चालनमा आएका हुन् । काठमाडौंमा मात्र तीन अर्ब रूपैयाँ लगानीमा तीन वटा बुटिक होटल सञ्चालनमा आएका छन् । 

बुटिक होटल

यसमध्ये एक हो गत असारबाट सञ्चालनमा आएको इमिरो प्लाजा प्रालिको बसेरा बुटिकले विभागबाट लक्जरी स्तर पाएको छ । बबरमहलस्थित उक्त होटेलमा एक अर्ब ५० करोड रूपैयाँ लगानी रहेको छ । जसमा ६० वटा कोठा र ६५ वटा बेड छन् ।

त्यसैगरी गत साउनबाट सञ्चालनमा आएको होटल पबेरा प्रालिको पबेरा बुटिकले पनि डिलक्स स्तरको वर्गीकरण पाएको छ । ८० करोड रूपैयाँ लगानीमा बनेको पबेरामा ६२ वटा कोठा र ९६ बेड छन् ।

७० करोड रूपैयाँ लगानीमा बनेको होटल मनास्लु प्रालि गत कात्तिकबाट सञ्चालन आएको हो। काठमाडौंको लाजिम्पाटमा रहेको यो होटलमा ८० वटा कोठा र ९९ वटा बेड छन्।

यसअघि भने द्वारिकाज काठमाडौं भिलेज होटल प्रालिले मात्र बुटिक होटलका रूपमा स्तर वर्गीकरण पाएको थियो । तीन वटा होटेल थपिएसँगै नेपालमा स्तर वर्गीकरण (तारे) बुटिक होटलको संख्या चार पुगेको छ । सबैमा जम्मा तीन सय ३९ कोठा र पाँच सय ५४ बेड छन् । जसबाट चार सय ९८ जनाले रोजगारीको अवसर पाएका विभागले जनाएको छ ।

परम्परागत कला, संस्कृति र मौलिकता झल्काउनेहरूलाई हेरिटेज एवम् बुटिक होटल मानिन्छ । होटलको स्तर वर्गीकरण हुन थालेसँगै आकर्षक सेवा सुविधासहितका होटल सञ्चालनमा मोह बढ्न थालेको देखिन्छ ।

The Kingsbury Jhapa

पाँचतारे होटल

त्यस्तै चालु आर्थिक वर्ष पाँचतारे स्तरका दुइटा होटल सञ्चालनमा आएका छन् ।  दुई अर्ब लगानीमा होटल द किङबरी झापा र दुई अर्ब ८० करोड रूपैयाँ लगानीमा हयात प्लेस (सिटी होटल) काठमाडौं सञ्चालनमा आएका हुन् । विभागका अनुसार यी दुइटा होटल थपिएसँगै पाँचतारे होटलको संख्या १७ पुगेको छ ।

चारतारे होटल

चारतारेमा होटल स्टारलाइट नीलदेवी, कल्पतरू होटल एन्ड कौशिकी ब्यांकेट, मौर्य होटल, होटल माउन्ट कैलाश, होटल सिटी प्यालेस, होटल सिराइचुली, हिमाल वाटरपार्क एन्ड भिलेज, हेरिटेज होटल स्विट एन्ड स्पा र बिग होटल प्रालि सञ्चालनमा आएका छन् ।

तीनतारे होटल

तीनतारे स्तरमा होटल द फ्लेमिंगो र मिराज हस्पिटालिटी होटल थपिएका छन् ।

दुइतारे होटल

दुइतारे होटल जनजीविका र होटल एम्ब्रोसिया पनि यसै आर्थिक वर्ष थपिएका हुन् । २०६८ सालदेखि विभागमा एक तारे होटल भने दर्ता भएका छैनन् । गत आर्थिक वर्ष एउटा पाँच तारे डिलक्स होटल पनि सञ्चालनमा आएको थियो । ०७७ सालमा झापाको धूलाबारीमा भेगस सिटी इन्टरनेसनल प्रालिको होटल मेची क्राउनले पाँचतारे वर्गीकरण पाएको छ । यस वर्ष भने डिलक्स होटलको संख्या थपिएको छैन ।

होटलको अवस्था 

यो वर्ष वैशाख मसान्तसम्मको तथ्यांकअनुसार १२ वटा होटलहरूमा ११ अर्ब १५ करोड रूपैयाँ लगानी थपिएको छ। बाँकी ६ वटाको भने लगानी तथ्यांक प्राप्त भइसकेको छैन ।

यससँगै देशभर बुटिक चार, पाँचतारे १८ (एउटा डिलक्ससहित), चारतारे २७, तीनतारे ३४, दुईतारे ४३ र एकतारे ३७ वटा गरी तारे होटलको संख्या एक सय ६३ पुगेको छ । यी सबैमा दस हजार १३९ वटा कोठा र १६ हजार ४१ वटा बेड छन् । यिनमा दस हजार ४ सय ७५ जनाले रोजगारी पाएका विभागले जनाएको छ।

अर्कोतर्फ पछिल्लो समय पर्यटन स्तरका रिसोर्टको संख्या पनि बढेको छ । उद्योग विभागका अनुसार हाल मुलुकभर दुई सय १८ वटा रिसोर्ट दर्ता भएका छन् । यीमध्ये करिब ३ अर्ब रूपैयाँ लगानीमा चालु आर्थिक वर्ष पाँच वटा रिसोर्ट दर्ता भएका छन् ।

पहिलोपटक नेपालमा २०२९ सालमा पाँचतारे होटल सोल्टी स्थापना भएको थियो । त्यसयता करिब पचास वर्षको इतिहासमा डेढ सयभन्दा बढी तारेहोटल सञ्चालनमा आएको विभागको तथ्यांकमा उल्लेख छ । होटल संघ (हान) नेपालले केही महिना अघि गरेको एक सर्वेक्षण अनुसार मुलुकभर होटलमा १५ खर्ब रूपैयाँभन्दा बढीको लगानी भइसकेको छ ।

होटल निर्माणको काम सकिएपछि सञ्चालकले पर्यटन विभागमा दर्ता (स्तर वर्गीकरण) गर्ने गरेका छन् । होटलको क्षेत्रफल, भौतिक सेवा सुविधा लगायतका आधारमा विभागले अनुगमन गरेर स्तर वर्गीकरण गर्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एकतारेदेखि पाँचतारे डिलक्ससम्मका होटलको वर्गीकरणका लागि मापदण्ड तोकेको छ । विभिन्न तारे होटल सञ्चालन गर्न छुट्टाछुट्टै प्रावधान छन् ।

होटलका मापदण्ड

सामान्य होटलमा भौतिक सुविधा र सेवा, स्वास्थ्य सेवा, खाना, कोठा, पार्किङ क्षमता लगायत अन्य सुविधा हुनुपर्ने मापदण्ड छ । चारतारे वा सोभन्दा माथिल्लो स्तरको होटलमा भने मौलिक नेपाली खानाका लागि छुट्टै रेस्टुरेन्टसहित विभिन्न देशका खानाको स्वाद दिनुपर्छ । चारतारे माथिल्ला स्तरका होटलमा अनिवार्य स्विमिङ पुल अन्तर्राष्ट्रिय स्तरको ब्युटी सैलुन र सवारीसाधन पार्किङको क्षमता तोकिएको छ ।

सामान्यतया, काठमाडौं उपत्यकाभित्र एकतारेमा २० वटा, दुईतारेमा ४०, तीनतारेमा ६०, चारतारेमा ८०, पाँचतारेमा सय वटा र पाँचतारे डिलक्स होटलमा एक सय पचास वटा कोठा हुनुपर्छ । उपत्यका बाहिरको हकमा भने हरेक तारे होटलमा काठमाडौंको भन्दा पाँच वटा कम भए पुग्नेछ ।

होटलअनुसार डबल बेड रूम, स्विट, क्लब, इन्टर कनेक्टिङ, बेबी सिटिङ, अपांगतामैत्री लगायतका रूम हुनुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It