News

कर्मचारी अभावले भूमि आयोगको काम प्रभावित  

Pinterest LinkedIn Tumblr

 काठमाडौं । पाल्पाको भूमि आयोगमा कर्मचारीको अभाव हुँदा काममा ढिलासुस्ति भएको छ । कर्मचारीको अभावमा जिल्लाभरका भूमिहीन सुकुम्बासीबाट आएका निवेदनको टुङ्गो लगाउन  समस्या भएको आयोगका पदाधिकारीहरूले जनाएका छन् ।

आयोगको काम अगाडि बढाउन १० जना प्राविधिक तथा अन्य प्रशासनिक कर्मचारी आवश्यक छ । तर कार्यलयमा हाल एक जना मात्र कर्मचारी रहेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति पाल्पाले जनाएको छ । 

आयोगले छिटो काम गर्न खोजेपनि जग्गा, नापजाँच गर्न, फिल्डबुक तयार गर्न, स्रेस्ता कायम गर्न आवश्यक कर्मचारीको व्यवस्था नहुँदा काममा ढिलासुस्ती भएको जनाइएको छ । 

वि.स. २०७९ चैत महिनामा नियुक्त भएपछि आयोगका पदाधिकारीद्वारा २० महिनाको अवधिमा रामपुर नगरपालिकाभित्र ७६३ वटा लालपुर्जा वितरण गरिएको छ । रामपुरमा नयाँ समिति आउनुभन्दा अघि जग्गा नापजाँच तथा फिल्डबुक तयार गर्ने काम भइसकेको थियो ।

रामपुर नगरपालिकामा बाहेक हालसम्म अन्य कुनै पनि पालिकाका भूमिहीन, सुकुम्बासी तथा विपन्न दलित समुदायलाई लालपुर्जा वितरण हुन सकेको छैन । 

हाल जिल्लाभरिबाट ८ हजार ५ सय सुकुम्बासी, भूमिहीनले पुर्जाका लागि निवेदन दिएका छन् । तर कर्मचारी अभावमा भूमिहीनको निवेदन लिनेबाहेक अन्य काम अगाडि बढाउन नसकेको जनाइएको छ । 

पछिल्लो समय तानसेन-२, ३, ४, ६ र ९ वडाका भूमिहीन सुकुम्बासीका एक हजार ७२४ वटा निवेदन सङ्कलन भएको छ । हाल ती निवेदनमाथि जाँचबुझ गरेर नक्सा र फिल्डबुक तयार पार्ने काम भइरहेको आयोगले जनाएको छ । यद्यपि कर्मचारी नहुँदा तानसेनका भूमिहीन सुकुम्बासीको हातमा कहिले लालपुर्जा हात पर्छ भन्ने यकिन छैन ।

कर्मचारी अभाव र पालिकाको ढिलासुस्तीले गर्दा एक वर्षभित्रै सबै निवेदनमाथि कारबाही अगाडि बढाउन सकिने आयोगको कामले गति लिन नसकेको छैन । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It