Research

काठमाडौंमा एक तले घर बनाउन कति खर्च लाग्छ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । कंक्रिटको अर्थात् पक्की घरले स्थायित्वको आभाष दिन्छ । हिजोआज आधुनिक घरहरूप्रति केहीको ध्यान खिचिएको भएपनि कंक्रिटका घरप्रति मानिसको विश्वास घटेको छैन । त्यसो त घर निर्माण प्रकृया र लागत ठाउँअनुसार फरक पर्न सक्छ । काठमाडौंमा सामान्य पक्की घर निर्माण गर्न लाग्ने खर्चको विषयमा चर्चा गरौँ ।

घर निर्माणको खर्च यति नै हुन्छ भनेर तोक्न सकिँदैन । किनकी विभिन्न पक्षले लागतलाई प्रभाव पार्दछन्जस्तोकि; घरको डिजाइन, निर्माण सामग्रीको गुणस्तर, निर्माण सामग्रीको दरभाउ र घरको आकार आदि । 

उपत्यकामा ३ देखि ४ आना घडेरीमा बन्ने ८ सय देखि १ हजार वर्गफिटमा फैलिएको ४ कोठे घर बनाउन कति खर्च लाग्छ, थाहा पाउनका लागि बसोबासले ‘रेनबो कन्स्ट्रक्सनका सिभिल इन्जिनियर उज्ज्वल रिजालसँग कुराकानी गरेको थियो । जसबाट अहिलेको समयमा उपत्यकाभित्र एकतले घर निर्माण गर्न ४० देखि ४६ लाखसम्म लाग्ने पाइएको छ । रिजालबाट प्राप्त जानकारीका अनुसार घर निर्माणमा लाग्ने खर्चको फाँटबारी यस्तो छः

नक्सा र डिजाइनमा लाग्ने खर्चः

नगरपालिकाबाट नक्सा पास गराएर मात्रै घरको जग खन्न पाइन्छ । तसर्थ, घर निर्माणको सुरुवाती प्रकृया नक्सा पास र डिजाइनको काम हो । सामान्यतया साढे २ तल्लाको मध्यम खालका घरको नक्सा बनाउन ४० देखि ५० हजार लिने गरिएको छ । तर हिजोआज आफ्नो घर बनिसकेपछि कस्तो देखिन्छ भन्ने जिज्ञासाले थ्री डी नक्सा तयार गरिन्छ । यसो हुँदा आर्किटेक्चर डिजाइन, स्ट्रक्चर डिजाइन र थ्री डी नक्सा तयार गर्दा ९० हजार सम्म पर्न जान्छ । स्ट्रक्चर डिजाइनमा नै जग, पिलर, बिम, ढलान, गारोदेखि झ्यालढोकासम्ममा प्रयोग गर्ने डन्डी, सिमेन्ट, बालुवा, गिट्टी, इँटाको मात्राबारे उल्लेख हुन्छ । 

ठेकेदारलाई दिइने ज्यालाः

घरको नक्सा पास भइसकेपछि बाँकी काम ठेकेदारलाई जिम्मा दिइन्छ । ठेकेदारले चलनचल्ती तथा सम्झौताअनुसार प्रतिवर्गफिट ९ सय रुपैयाँसम्म ज्याला लिन्छन् । यसरी हिसाब गर्दा पुरा घरको फिनिसिङ सम्ममा ठेकेदारको खर्च ८ देखि ९ लाख रुपैयाँ लाग्छ ।

सिमेन्टमा लाग्ने खर्चः 

सिमेन्ट घर निर्माणमा प्रयोग हुने महत्वपूर्ण सामग्री हो । संरचना निर्माणमा ओपीसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट)पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) दुईथरी सिमेन्टको प्रयोग गरिन्छ । एक तल्ले घरको लागि ओपीसी सिमेन्ट र पिपिसी सिमेन्ट गरी लगभग ५ सय ८० बोरा लाग्छ । ढलान, पिलर, बिम लगायतमा ओपीसी सिमेन्ट प्रयोग गरिन्छ । इँटाको गारो लगाउन र प्लास्टर गर्न पीपीसी सिमेन्ट प्रयोग गरिन्छ । बजारमा अहिले ओपीसी सिमेन्टको ७५० देखि ७८० रुपैयाँ छ । पिपिसी सिमेन्टको चाहिँ ६५० रुपैयाँ पर्छ । समग्रमा एक तले घर निर्माणमा ढुवानी खर्चसहित लगभग ४ लाख रुपैयाँ सिमेन्टमा खर्च लाग्छ ।

इँटामा लाग्ने खर्चः

घरको वाल र कम्पाउन्डको लागि इँटाको प्रयोग हुन्छ । एक तल्ला घरको लागि लगभग १९ हजार पिस इँटा लाग्छ । एउटा इँटाको औसत मूल्य १७ रुपैयाँ हुँदा ढुवानी खर्चसहित १९ हजार पिस इँटाको मूल्य करिब साढे ३ लाख रुपैयाँ हुन आँउछ । 

रडमा लाग्ने खर्चः

राष्ट्रिय भवन संहिता १०५ः२०७७ अनुसार पिलरको न्यूनतम साइज १२×१२ भए पनि काठमाडौंका प्रायः सबै नगरपालिकाले पिलरको न्यूनतम साइज १४×१४ हुनुपर्ने अनिवार्य गरेको छ । र, पिलरबीचको दूरी ५ मिटर भन्दा बढी हुनुपर्छ । साथै बिमको साइज १२ mm को हुनुपर्छ । एक तले घर बनाउँदा करिब ८ टन रड खपत हुन्छ । एक टनमा १ हजार किलो डन्डी हुन्छ । हाल बजारमा चलेको रडको मूल्यअनुसार हिसाब गर्दा लगभग १० देखि ११ लाख रुपैयाँ खर्च लाग्छ । 

बालुवामा लाग्ने खर्चः

एक तल्ले घर बनाउन लगभग ४६ क्युबिक बालुवा लाग्छ । हाल एक क्युबिक बालुवाको ३५ सय रुपैयाँ पर्छ । त्यसैले  ४६ क्युबिक बालुवाको मूल्य करिब साढे एक लाख पर्न जान्छ । यो ढुवानी खर्चसहितको लागत हो । 

गिट्टी र चिप्समा लाग्ने खर्चः

एक तल्ले घरमा लगभग ५० क्युबिक गिट्टी र साढे ३ क्युबिक चिप्स प्रयोग हुन्छ । जसअनुसार १ क्युबिक गिट्टी र चिप्सको ३५ सय रुपैयाँ पर्छ । त्यसैले ढुवानी खर्चसहित ५० क्युबिक गिट्टीको मूल्य १ लाख ७५ हजार पर्छ भने साढे ३ क्युबिक चिप्सको मूल्य करिब साढे १२ हजार पर्छ ।  

काठमा लाग्ने खर्चः

घरको झ्यालढोकाको खापा र चौकोसमा काठको प्रयोग गरिन्छ । एकतले घरको लागि चौकोसमा १ क्युबिक काठ लाग्छ । हाल बजारमा चलेको काठको मूल्यअनुसार चौकोसका लागि २ लाख ५० हजार खर्च लाग्छ । त्यस्तै खापाका लागि ४७ वर्ग मिटर काठको प्रयोग हुन्छ । हाल बजारमा चलेको मूल्यअनुसार १ वर्ग मिटर खापाको मूल्य ७ हजार ५ सय पर्छ । जसअनुसार खापाको लागि साढे ३ लाख खर्च लाग्छ । यसरी झ्याल र ढोका फिनसिङ गर्न लगभग ५ लाख हजार रुपैयाँसम्म पर्न जान्छ । यो मूल्याङ्कन काठअनुसार फरक पर्न जान्छ । 

टायल र ग्रेनाइटमा लाग्ने खर्चः

सामान्यतया घरको भर्याङ र भान्छामा ग्रेनाइटको प्रयोग गरिन्छ भने फ्लोरिङमा टायलको प्रयोग गरिन्छ । सोहीअनुसार एक तले घरमा सामान्यतया ६० वर्गमिटर टायलको प्रयोग गरिन्छ । भने साढे ३ वर्गमिटर ग्रेनाइट लाग्छ । एक स्क्वायर मिटरमा १० दशमलब ७६ वर्गफिट हुन आउँछ । हाल बजारमा चलेको रेटअनुसार १ वर्गमिटरको टायल लगाउँदा २ हजारदेखि ३ हजार सम्म पर्न जान्छ । त्यसैगरी ३ वर्गमिटर ग्रेनाइट लगाउँदा ४ हजार देखि ५ हजार सम्म पर्न जान्छ । यसरी हेर्दा एकतले घरमा टायल लगाउँदा साढे १ लाख खर्च लाग्छ । यो मूल्य कम्पनीअनुसार फरक पर्न सक्छ । 

रङरोगनमा लाग्ने खर्चः 

घर आकर्षक बनाउन र बाहिरी भाग सुरक्षित राख्न रङको प्रयोग गरिन्छ । घरको रङ भित्री र बाहिरी गरी दुई थरीको हुन्छ । सोहीअनुसार रङका लागि १ लाख १० हजार देखि १ लाख ५० हजारसम्म पर्न जान्छ । रङ्गरोगनको खर्च घरमा प्रयोग भएको रङको ब्रान्डले पनि फरक पर्छ । 

अन्य खर्चः

यी मुख्य निर्माण सामग्रीबाहेक घर निर्माणको उल्लिखित कुल लगानीमा धारा, बिजुली, बाथरुम, पाइप जडानमा पनि उल्लेख्य रकम खर्च हुने गर्छ । जसमध्ये बिजुली र बत्तीका लागि कुल लागतको ८ प्रतिशत खर्च लाग्छ । त्यस्तै बाथरुम, पाइप लगायत अन्यमा २ प्रतिशत खर्च हुन जान्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It