Development

डीपीआर स्वीकृत नहुँदै सिद्धबाबा सुरुङमार्गको काम सुरु

Pinterest LinkedIn Tumblr

काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डको सिद्धबाबामा सुरुङमार्ग निर्माणको काम सुरु भएको छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत नभइ सुरुङमार्गको प्रारम्भिक काम सुरु गरिएको हो ।

हाल डिजाइन स्वीकृत भएअनुसार पार्ट–पार्टमा काम भइरहेको सुरुङमार्ग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले जनाएको छ । हाल कर्पोरेसनले ‘नर्थ पोर्टल’ तर्फ फलामका पाइपलाई जोडेर एंकरिङको काम गरिरहेको छ । 

उत्तरतर्फ सुरुङ खन्ने कामका लागि सडक विभाग र स्विस कन्सल्ट्यान्टबीचको छलफलमा स्वीकृत भइसकेको छ । हाल कम्पनीले सुरुङ निर्माणको पूर्वतयारी मात्र गरेको हो । डीपीआर स्वीकृत हुनासाथ धमाधम काम अघि बढ्ने जनाइएको छ । 

स्विस परामर्शदाता आईटीईसीओ–एएफले यस क्षेत्रको भौगर्भिक अध्ययनपछि डीपीआर तयार गरेको थियो । सोहीअनुसार नेपाल सरकारले बजेट सुनिश्चित गरेर ठेक्का लगाएको थियो ।

सुरुङमार्ग निर्माणका लागि भ्याटसहित कुल ७ अर्ब ३४ करोड २१ लाखमा चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनसँग २०७८ फागुन २५ गते निर्माण सम्झौता भएको थियो । 

निर्माण कम्पनीले ९ महिनाभित्र डिजाइन रिपोर्ट बुझाउने र बाँकी चार वर्ष तीन महिनाभित्रमा निर्माण कार्य सक्ने सम्झौता भएको थियो । सोहिअनुसार नौ महिनाभित्रमा डिजाइन रिपोर्ट पेस भइसकेको छ । 

हाल डिजाइन रिपोर्ट जाँच गरेर स्विस सरकारसँगको सहयोगमा सडक विभागबाट स्वीकृतिकै क्रममा छ ।

साढे ५ वर्षभित्र सम्पन्न गर्ने लक्षसहित निर्माण सुरु भएको सुरुङमार्ग निर्माणको पेश्की ५८ करोड निर्माण कम्पनीलाई दिइसकिएको छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It