News

साउनमा खस्किएको घरजग्गा कारोबार भदौमा बढ्ला त !

Pinterest LinkedIn Tumblr

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा देशभर घरजग्गाको कारोबार खस्किएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ३९ हजार २६३ वटा मात्रै घरजग्गाको लिखत पारित भएका छन् । 

अघिल्लो वर्ष निकै सुस्ताएको घरजग्गा बजार माघयता भने सुधारात्मक नै थियो । हरेक महीना ४० हजारभन्दा बढी कारोबार भइरहँदा जेठमा घरजग्गाको किनबेच ५५ हजार नाघेको थियो । 

नयाँ आर्थिक वर्षको पहिलो महीनामै कारोबारमा गिरावट देखिएको भएपनि गत वर्षको साउनसँग तुलनामा भने कारोबार बढेको देखिन्छ । २०७९ साउनमा देशभरि ३३ हजार ८३४ वटा घरजग्गा किनबेच भएका थिए ।  

साउनमा घरजग्गा कारोबारबाट हुने राजस्व संकलनमा पनि कमी आएको छ । घरजग्गा किनबेचबाट साउनमा दुई अर्ब ९१ करोड चार लाख राजश्व उठेको छ । जबकि असारमा चार अर्ब २७ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

साउनमा ३५ हजार २ सय ९१ जग्गाको कित्ताकाट भएर ७७ हजार ६८ कित्ता कायम भएको छ । सरकारले हालैमात्र भू-उपयोग नियमावली संशोधन गरेर जग्गा कित्ताकाट खोलेको छ । यससँगै कित्ताकाटमा झमेला, बैंकको महँगो ब्याजदर, आर्थिक शिथिलताको प्रभावले घटेको घरजग्गा कारोबारमा सुधार आउने अपेक्षा गरिएको छ ।

संशोधित नियमावली राजपत्रमा समेत प्रकाशित भइसकेकाले भदौदेखि घरजग्गा कारोबार अझै बढ्ने अपेक्षा गरिएको छ ।

घरजग्गा कारोबारमा मन्दी आउँदा राजस्व प्रभावित बनेको र त्यसले अर्थतन्त्रमा प्रभाव परेको निष्कर्षसहित सरकारले नियमावली संशोधन गरेको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It