Vaastu

घरमा राखिने भित्ते घडीकाे महत्वः दिशा मिलाएर राख्दा हुनेछ मनग्य लाभ

Pinterest LinkedIn Tumblr

काठमाडौं । समय आफैमा अमूल्य चिज हो । यसकारण पनि हरेक पलको सही उपयोग गर्न नसक्दा कति कार्यहरूमा कठिनाइको सामना गर्नुपर्ने हुन्छ । जब मानव सभ्यताको विकास हुँदै गयो, मानिसहरूले समयको व्यवस्थापनका लागि विभिन्न उपायको खोज गर्न थाले । जसको एक महत्वपूर्ण कदम हो घडीको निर्माण ।  सुरुवाती समयमा सूर्यको दिशालाई हेरेर दिन र रातको अनुमान लगाउने गरिन्थ्यो । 

मानिसको कार्यशैलीलाई व्यवस्थित र छरितो बनाउन प्रयोग सुरू भएको घडीको हिजोआज उत्ति महत्व छैन । यद्यपि प्रयोग हुँदै नहुने पनि होइन । कतिपय अवस्थामा त सजावटको सामग्री जस्तो मात्र देखिन्छ । त्यसो त, घर तथा अफिसमा राखिने घडीको रखौट र महत्व केकस्तो छ भन्ने विषयमा आज हामी कुरा गर्दैछौँ । 

घडी

समय सूचकाङ्क घडीका विभिन्न किसिम छन् । भित्तामा राखिने घडि देखि लिएर हिजोआज हातहातमा भएका स्मार्टवाच सम्मलाई उदाहरणमा लिन सकिन्छ । वास्तु शास्त्रका अनुसार घडीले समय हेर्ने मात्र होइन, घडीले मानिसको जीवनमा विशेष प्रभाव पार्छ भन्ने गरिन्छ । 

घडीको आकार

वास्तु शास्त्रमा घडी गोलो तथा अण्डाकार भएमा सबैभन्दा उत्तम मानिन्छ । तर आजकाल बजारमा धेरै प्रकारका घडी देख्न सकिन्छ । जसमा घरको सदस्य वा भगवानको तस्बिरको पनि लगाइन्छ । तर घडीको साथमा घरको सदस्य वा भगवानको तस्बिर लगाउनु नराम्रो मानिन्छ । यसले घरका सदस्यमा समयको प्रभाव पर्दछ ।

घडीकाे लागि उपयुक्त दिशा 

के तपाईंलाई थाहा छ, उत्तर दिशामा धन र समृद्धिका देवता कुबेरको आसन रहन्छ । जसले गर्दा उक्त दिशामा भित्ते घडी राख्नु लाभदायक मानिन्छ । भन्ने गरिन्छ, उत्तर दिशामा  घडी राख्नाले परिवारमा आइपर्ने सबै आर्थिक कठिनाइहरू टाढा रहन्छन् ।

सँधै यस दिशामा घडी राख्न सम्भव हुन्छ भन्ने त छैन । यदि यस्तो अवस्था भएमा पूर्व दिशामा घडी राख्न सकिन्छ । पूर्वमा देवता र स्वर्गका राजा इन्द्रको आसन रहन्छ ।  यसरी घडी राख्नाले घरमा समृद्धि र उन्नति प्राप्त हुने विश्वास रहिआएको छ । 

उत्तर-पूर्व दिशामा सेतो रङ्गको घडी हुनु राम्रो मानिन्छ । यि दिशामा गोलाकार अथवा अण्डाकारको घडी लगाउनु राम्रो हुन्छ । यस दिशामा भरपुर सकारात्मक उर्जा हुने हुँदा यसरी घडी लगाउँदा परिवारका सदस्य मेहनेती र उनिहरूको स्वास्थ्य राम्रो हुने विश्वास छ । यदि यि दिशाहरूमा उपयुक्त स्थान नभएमा पश्चिम दिशामा पनि राख्न सकिन्छ । पश्चिम दिशामा वर्षाको स्वामी वरुणको आसन रहन्छ । जसले जीवनमा स्थिरताको संकेत गर्दछ । 

सुत्ने कोठाका लागि भित्ते घडीः

सुत्ने कोठाका लागि विशेषत टेबल घडी नै राख्ने गरिन्छ । यद्यपि  भित्ते घडी नै लगाउने हुँदा भने केही कुराहरूमा संयमता अपनाउनु आवश्यक छ । सुत्ने कोठामा घडीलाई पूर्वपट्टी पारेर राख्नुपर्छ । विकल्पको रूपमा उत्तर दिशामा पनि राख्न सकिन्छ । यदि तपाईं दक्षिणतिर टाउको फर्काएर सुत्नुहुन्छ भने,घडीलाई  उत्तर वा पूर्व दिशाकाे पर्खालमा राख्नु शुभ हुन्छ । ओछ्यान वा सुत्ने कोठाको ढोका अगाडि रिफ्लेक्टिव ऐना भएको घडीहरू राख्नु हुँदैन । साथै, भित्ते घडी बिच्छयौनाबाट टाढा हुनुपर्छ । 

यि दिशामा घडी राख्नै नहुनेः 

हामी मध्ये धेरैले घडी राख्दा दिशालाई भन्दा पनि आफ्नो सहजतालाई ध्यानमा राख्छौ । यसो गर्नुलाई वास्तुले राम्रो मान्दैन । घडीलाई गलत दिशामा राख्दा आर्थिक हानी हुनुका साथै उन्नति प्रगतिको बाटो समेत बन्द हुने वास्तुमा उल्लेख छ । वास्तुका अनुसार भित्ते घडी दक्षिण दिशामा राख्नु हुँदैन । यस दिशामा मृत्युका स्वामी यमको आसन रहेको हुन्छ । अन्यथा, यसले तपाईंको परिवारमा नकारात्मक प्रभाव पार्नेछ । त्यसैले यस दिशालाई अशुभ मानिन्छ ।  वास्तुका अनुसार घरमा दक्षिण दिशामा घडी राख्ने हो भने घरको मुखिया सँधै बिरामी रहन्छ । यस दिशामा राखिएको घडीले स्वास्थ्यमा मात्र असर गर्दैन, प्रगतिशील पनि हुन सकिन्न । 

कतिपय घरहरूमा ढोकाको सिधा माथि घडी झुन्ड्याइएको देख्न सकिन्छ । तर यसो गर्दा घडीको मुनिबाट गुज्रने कुराहरूमा नकारात्मक ऊर्जाले सबैभन्दा बढी प्रभाव पार्छ । यसबाहेक घरमा कुनै घडी बन्द अवस्थामा छ वा खराब छ भने त्यसलाई तत्काल हटाउनुपर्छ । वास्तवमा, खराब वा रोकिएको घडीले नकारात्मक ऊर्जालाई संकेत गर्दछ । 

घरमा राखिएको बन्द घडीले तपाईंको जीवनमा समस्या ल्याउन सक्छ ।  ‘बन्द घडीले पनि दिनको दुई पटक सही समय बताउँछ’ यो भनाइ निकै प्रचलित पनि छ । तर हामीलाई थाहा छैन बन्द घडीले  धेरै प्रकारका विपत्तिहरू ल्याउन सक्छ। वास्तु शास्त्र अनुसार घरमा भाँचिएको घडी र बन्द घडी अशुभको सूचक मानिन्छ । वास्तु शास्त्र अनुसार घरमा बन्द घडी राख्नाले गरिबी बढ्छ ।  वास्तु शास्त्रले यो पनि भनेको छ कि- पेन्डुलम घडी भएको घरमा खराब समय र नराम्रो समयको प्रभाव पर्दैन । त्यस्तो घडी आफ्नो कार्यस्थल वा ड्रइङ्ग रुम (गेस्ट रुम) मा राख्नु उचित हुन्छ ।

pendulum clock

पेन्डुलम घडीले मानव जीवनको खराब समयलाई हटाउने विश्वास गरिन्छ । यसले विकासको लागि नयाँ अवसरहरू ल्याउँछ । यस घडीले टिक टिकको ठूलो आवाज निकाल्छ । जसका कारण सम्पूर्ण परिवार ऊर्जावान् रहन्छ । साथै, यसले घरको वातावरणलाई पनि ऊर्जावान् राख्छ । पेन्डुलम घडीको लागि पनि पूर्व, उत्तर-पूर्व वा उत्तर दिशा शुभ मानिन्छ ।

त्यस्तै रातो, कालो वा नीलो रङ्गको घडी घर वा कार्यालयमा प्रयोग गर्नुहुँदैन भने पहेँलो, हरियो वा हल्का खैरो रङ्गको घडी लगाउनु शुभ हुन्छ। 

प्रतिक्रिया दिनुहोस्
Pin It