News

साँगा-धुलिखेल सडक निर्माणका लागि ठेक्का आह्वान, तीन वर्षभित्र काम सम्पन्न गर्नुपर्ने

Pinterest LinkedIn Tumblr

काठमाडौं । भक्तपुरको सूर्यविनायक देखि धुलिखेलसम्मको सडक विस्तार प्रक्रिया अन्तर्गत साँगा-धुलिखेल सडक विस्तार हुने भएको छ । अरनिको राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक सम्मको सडक तीन वर्षभित्र विस्तार गरिने भएको हो । सडक निर्माणका लागि सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले बोलपत्र आह्वान गरेको छ ।

आयोजनाले केही दिनअघि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) सकेर निर्माण प्रक्रिया अघि बढाएको हो । सरकारले सूर्यविनायक–धुलिखेल सडक विस्तार आन्तरिक स्रोतबाटै गर्ने निर्णय गरेको छ । जसका लागि हाललाई साँगाबाट धुलिखेलसम्मको लागि ४ अर्ब ८९ करोड रुपैयाँ लागतमा ठेक्का आह्वान गरिएको छ । 

यसअघि जापान सहयोग नियोग (जाइका) ले आयोजनाबाट हात झिकेपछि सडक विभाग आन्तरिक स्रोतबाटै निर्माण अघि बढाउने तयारीमा लागेको थियो । डिपिआर अनुसार छ लेनमा सूर्यविनायक–धुलिखेल सडक विस्तार गर्न रु ९ अर्ब लाग्ने छ । प्रतिवेदन अनुसार साँगामा डेढदेखि दुई किलोमिटर सडक विस्तारमा समस्या देखिएको छ । हाललाई सूर्यविनाक–धुलिखेल सडक विस्तारअन्तर्गत काभ्रेपलाञ्चोक खण्डको साँगादेखि धुलिखेलसम्म विस्तारका लागि ठेक्का आह्वान गरिएको जनाएको छ ।

साँगाबाट धुलिखेलसम्म करिब १० किलोमिटरको दूरी काभ्रेपलाञ्चोक खण्डमा पर्छ । ठेक्का पाउने व्यवसायीले तीन वर्षभित्र निर्माण पूरा गर्नुपर्ने तथा निर्माण सम्पन्न भएको एक वर्षसम्म मर्मतको जिम्मा लिनुपर्नेछ । भदौमा प्रक्रिया सम्पन्न गरी आगामी असोजमा सम्झौता हुने बताइएको छ ।

डिपिआरमा गाडी चल्ने मुख्य चार लेनको सडक बनाउने र दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ निर्माण गर्नुपर्नेछ । त्यसैगरी बीचमा तीन मिटरको मेडियन निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । आगामी कात्तिकबाट काम सुरु गर्न सकिने आयोजक पक्षले जनाएको छ ।

यस आयोजनाको भक्तपुर खण्ड अन्तर्गत साँगादेखि सूर्यविनायकसम्मका छुट्टै बोलपत्र आह्वान गरिनेछ । आयोजनाले सूर्यविनायक-धुलिखेल सडक विस्तारका लागि यही साउन पहिलो साता राजमार्ग छेउछाउमा सडक मापदण्डभित्रका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । 

सडक विभागले केही वर्षदेखि धुलिखेलबाट बनेपा हुँदै भक्तपुरसम्म सडकको चाप बढिरहेकाले उक्त सडकखण्ड विस्तारका लागि यस अघि नै प्रक्रिया थालेको थियो । उक्त सडक विस्तारका लागि सकेसम्म लगानीकर्ता खोजिने, नभए सरकार आफैँले निर्माण गर्ने योजना थियो ।

उक्त सडकखण्ड विस्तारमा केही वर्षदेखि चासो देखाउँदै आएको जाइकाले हात झिकेको छ । उक्त सडक आयोजना करिब १६ किलोमिटर दूरीको हो । अध्ययनअनुसार उक्त दूरीमा ६ स्थानमा आकाशे पुल, चार स्थानमा पुल र एउटा कल्भर्ट निर्माण हुने छ ।

भक्तपुर र काभ्रेपलाञ्चोकको सीमा क्षेत्र साँगामा प्रस्तावित १.२९ किलोमिटर सुरुङमार्ग निर्माण गर्ने नगर्नेबारे छलफल भइरहेको छ । सुरुङमार्ग निर्माण गर्दा निकै खर्चिलो हुने भएकाले लगभग नबन्ने देखिएको छ । जाइकाले नै सूर्यविनायक-धुलिखेल सडक विस्तारबारे सन् २०१८ मा अध्ययन सकेर प्रारम्भिक डिजाइन पेश गर्दै सरकारको बजेटमा डिजाइनअनुसारको काम गर्न नसक्ने जनाएको हो ।

सरकारले आव २०७७/७८ मा कान्ति राजपथसँगै धुलिखेल–सूर्यविनायक सडक विस्तार सुरु गर्न रु १ अर्ब २० करोड विनियोजन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा समेत उपत्यकाको विद्यमान सवारी चापलाई व्यवस्थापन गर्न स्तरोन्नति विस्तृत अध्ययन गरिने उल्लेख गरेको थियो ।

डिभिजन सडक कार्यालय भक्तपुरले २०७६ सालमा सडक निर्माणस्थल खाली गराउन रुख कटान लगायतका काम गर्यो तर केही समयमै सो कार्य रोकिएको थियो ।

सङ्घीय राजधानीबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका विपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको छोटो दूरीसँग धुलिखेल जोडिएको छ । यी सडकबाट अरनिको राजमार्ग हुँदै प्रदेश १ र मधेश प्रदेशका नागरिक काठमाडौँ आवतजावत गर्दछन् ।

उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुग्न पनि यसै सडकखण्डको प्रयोग हुन्छ । तातोपानी खुला भए यो सडकखण्डमा सवारी चाप बढ्ने अनुमान गरिएको छ । सिन्धुपाल्चोक, रामेछापलगायत जिल्लाका विभिन्न ठाउँमा आवतजावतका लागि समेत यो सडक प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It