News

‘भूकम्प प्रतिरोधी’ घर बनाएर बेच्दै साल्ट ट्रेडिङ

Pinterest LinkedIn Tumblr

काठमाडौं । नुन लगायत दैनिक उपभोग्य वस्तु र कृषिमलको बिक्री वितरण गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशनले भूकम्प प्रतिरोधी घरहरू बनाएर बिक्री गर्ने भएको छ । कर्पोरेशनले आफ्नो लगानीका सहायक कम्पनीहरूमार्फत् भूकम्प प्रतिरोधी घरहरू निर्माण गर्न लागेको हो । 

पहिलो चरणमा कर्पोरेशनले काठमाडौंको दहचोकमा  १० वटा भूकम्प प्रतिरोधी घर बिक्री गर्ने तयारी साथ काम गरिरहेको छ । यी जसमध्ये चारवटा घर निर्माण सम्पन्न हुन लागेको र बाँकी निर्माणाधीन रहेको कर्पोरेशनले जनाएको छ । 

अमेरिकाको पिनाकल बिल्डिङ सिस्टम टेक्नोलोजी (पीबीएसटी)बाट निर्माण भइरहेका घरहरू पूर्णतया भूकम्प प्रतिरोधी हुने कर्पोरेशनले जनाएको छ ।

कस्ता छन्, साल्ट ट्रेडिङले बनाएका घर ?

Earthquake-resistant houses

पीबीएसटी प्रविधिमा स्टिल फ्रेम बनाएर हलुका कङ्क्रिट फम वा काठको प्रयोग गरिन्छ । त्यसका लागि कोल्ड फर्म स्टिल (सीएफएस) वा लाइट गेज स्टिल (एलजीएस) प्रयोग हुन्छ । 

यी घरहरूमा डीपीसी ढलानभन्दा माथि पानीको प्रयोग समेत गरिँदैन भने घरको ‘फाउन्डेशन’ बनिसकेपछि त्यसमा स्टिलको ‘स्ट्रक्चर’ बनाइन्छ । त्यसमा हलुका खालका सामग्री प्रयोग गरेर पर्खालहरू र झ्याल ढोका बनाइन्छ । 

यसरी बनाइएको संरचना भूकम्पले भत्किए पनि स्ट्रक्चर नखस्ने र अन्य हलुका कुराले लागेर मानिसको ज्यान नजाने खालका हुन्छन् ।

घर बनाउने र बेच्ने सहायक कम्पनी

Earthquake-resistant houses

कर्पोरेशनले घरहरू बनाउन फ्यूचर वर्क्स सोलूशन्स प्रालि र बिक्री तथा व्यवस्थापनका लागि उपहार हाउजिङ प्रालि स्थापना गरेको छ । 

फ्यूचर वर्क्समा कर्पोरेशनका साथै निजी व्यवसायी र उक्त प्रविधि विकास गर्ने अमेरिकी कम्पनीको पनि लगानी रहेको बताइएको छ ।

त्यसमा ७० प्रतिशत हिस्सा कर्पोरेशनको रहेको छ । त्यस्तै, उपहार हाउजिङ पनि साल्ट ट्रेडिङकै सहायक कम्पनी भएको वेबसाइटमा उल्लेख छ ।

उक्त कम्पनीले यसअघि पनि केही व्यक्तिगत घरहरू बनाएको थियो । तर आफैँले घर बनाएर सर्वसाधारणलाई बिक्री गर्न लागेको यो पहिलो पटक हो । 

साल्ट ट्रेडिङमा भने नेपाल सरकारको २१.२८ प्रतिशत र निजी क्षेत्रको ७८.७२ प्रतिशत शेयर रहेको छ । 

कर्पोरेशनमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९.६७ प्रतिशत र वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको ११.५९ प्रतिशत शेयर स्वामित्व छ ।

कति छ कर्पोरेसनद्वारा निर्मित घरको मूल्य ?

Earthquake-resistant houses

अढाई तलाका घरहरू तीनदेखि चार आनासम्म क्षेत्रफलमा निर्माण भइरहेका छन् । तीन आनामा बनेका चारवटा घर भने तयारी अवस्थामा छन् । 

तीन आनामा बनेका घरको मूल्य २ करोड ३० लाख रुपैयाँ तोकिएको छ । चार आनामा बनेका घरको मूल्य भने बनिसकेपछि नै तय हुनेछ ।

साल्ट ट्रेडिङले विभिन्न सामग्रीहरू बेच्न पाउने भए पनि घर बनाएर बिक्री गर्ने अनुमति थिएन । तर भूकम्पपछि त्यस्तो अनुमति लिइएको र कम्पनीको उद्देश्य परिवर्तन गरी त्यसलाई प्रक्रियागत रूपमा पूरा गरिएको जनाइएको छ ।

कर्पोरेशनले किन घरमा लगानी ?

Earthquake-resistant houses

कर्पोरेशनले आफ्नो लगानीलाई विस्तार गर्न घर निर्माण क्षेत्रमा पनि हात हालेको जनाएको छ । २०७२ सालको भूकम्पले घरले नै किचिएर धेरैको ज्यान गएको थियो । यसो हुँदा नेपालमा पनि भूकम्प प्रतिरोधी घरको आवश्यकता देखिएकाले सोही अनुरूप प्रविधि खोजेर घर बनाउने काम गरेको कर्पोरेशनले जनाएको छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It