परम्परागत रूपमा घर बनाउँदा आवश्यकताअनुसार ठेकेदार, मिस्त्री, आर्किटेक्ट आदिमा भर पर्ने र आफूले जानेसम्म विवेक र उनीहरूको सहयोगको संयोजनमै घर तयार गर्ने चलन छ । तर, पछिल्लो समय घरलाई आकर्षक बनाउन तथा कार्यालय कोठा सजावट गर्न त्यस्ता विषयका विज्ञ इन्टेरियर डिजाइनरको सहयोग लिने चलन बढ्दो छ ।

आवासीय वा व्यावसायिक प्रयोजनका घर वा भवनका कोठा, अन्य आन्तरिक वा बाह्य भागसमेतमा उपलब्ध ठाउँलाई सम्बन्धित घरधनी वा कार्यालयको आवश्यकताअनुसार सुहाउँदो डिजाइनमा ठाउँको उपलब्धताअनुसार कुन चीज कता व्यवस्थापन गर्दा उपयुक्त हुन्छ, त्यो तय गरेर सजाउने व्यक्ति इन्टेरियर डिजाइनर हो । पछिल्लो समय यही विषयमा विज्ञता हासिल गराउन पढाइ हुने कलेज खुल्ने र त्यहाँ अध्ययन गरी यही पेसा अँगाल्ने जमात बढ्दो छ ।

नलिनुस् सतही निर्णय

हामी जीवनभर घरसँग जोडिएको हुन्छौं । आफ्नै कमाइबाट घर बनाएपछि मात्र मानिस परिपक्व हुन्छ भन्ने आमबुझाइ छ । त्यसैले हामीमध्ये अधिकांशले जीवनको कुनै मोडमा आफ्नै वा परिवारको स्वामित्वमा घर बनाउँछौं । अपवादबाहेक घर बनाउने कार्यमा कुनै न कुनै समय जोडिनुपर्ने भए पनि हामी आफैं घर बनाउन विज्ञ हुँदैनौं ।

घर बनाउने काम सम्बन्धित ठेकेदार, मिस्त्री, आर्किटेक्ट इन्जिनियर, वास्तुविद् आदि पेसा अँगाल्ने वा त्यससम्बन्धी अध्ययन गर्नेलाई बाहेक अरूलाई निर्माण सम्बन्धमा सतही ज्ञान मात्र हुन सक्छ । सतही बुझाइले मात्र घर बनाउँदा कमी–कमजोरी हुन सक्छ । घर बनाइसकेपछि पुनः परिवर्तन गर्न गाह्रो र थप आर्थिक बोझ पर्न जान्छ । त्यसैले आफूले घर निर्माण गर्ने क्रममा सुरुदेखि नै आर्किटेक्ट, ठेकेदार, मिस्त्री, अन्य कामदार, वास्तुविद् आदिको सहयोग लिनुपर्छ । घर निर्माणको क्रममा उचित चरण पार गरेपछि अर्थात् कोठा, भान्सा, बैठक, कार्यालय, बगैंचा, पार्किङ स्थल, भर्‍याङ आदिको स्वरूप र ठाउँ तयार हँुदै गएपछि ती ठाउँमा आवश्यक सरसामान कसरी मिलाएर प्रबन्ध गर्ने भन्ने प्रयोजनका लागि इन्टेरियर डिजाइनरको सेवा लिनु बुद्धिमानी हुन्छ ।

घर, भवन तथा कोठा व्यवस्थापनका लागि इन्टेरियर डिजाइनरको सेवा किन लिनुपर्दछ भन्ने जिज्ञासामा एक दशकदेखि इन्टेरियर डिजाइनर नेपाल दरबारमार्गमा आबद्ध डिजाइनर सन्दीपा तामाङ भन्छिन्, ‘आफ्नो घर आवश्यक अरू जनशक्तिको सहयोगमा आफैंले अगुवाइ गरेर बनाउनु राम्रै हो । तर, सामान्य मानिसले घर, कोठालाई व्यवस्थापन गर्ने क्रममा १८० डिग्रीसम्म देख्छन् भने एउटा दक्ष डिजाइनरले ३६० डिग्रीमा आँखा दौडाएको हुन्छ । त्यसैले आवश्यक महसुस भएसम्म इन्टेरियर डिजाइनरको सहयोग लिनु कन्जुस्याइँ गर्नुहुन्न ।’

इन्टेरियर डिजाइनर तामाङका अनुसार डिजाइनरले घरधनी वा संस्था वा कम्पनी भए त्यसको प्रतिनिधि तथा काम गरिरहेका इन्जिनियर, मिस्त्रीसँग समेत समन्वय गरेर उपलब्ध ठाउँलाई कसरी उपयुक्त किसिमले उपयोगी र सुन्दर बनाउन सकिन्छ भन्ने उपाय सुझाउन सक्छन् । घरधनीलाई घरको कोठा वा खाली स्थानमा के कसो गर्दा उपयुक्त होला भनी ठ्याक्कै युक्ति नफुर्न सक्छ वा त्यसैमा अधिक समय दिन अहिलेका व्यस्त मानिसलाई कठिन हुन सक्छ । डिजाइनर तामाङको भनाइमा त्यस्तो परिस्थितिमा सहयोग लिने भनेकै इन्टेरियर डिजाइनरको हो । इन्टेरियर डिजाइनरले बैठक कोठादेखि भान्सा र भर्‍याङदेखि बगैंचासम्म के–कस्तो खाले सरसामान, फर्निचर, वनस्पति तथा सजावटका सामान कहाँ र कसरी राख्न वा बनाउन सकिन्छ भनेर सुझाउँछन् । त्यसो गर्दा प्रकाश र हावाको आउजाउसमेतको ख्याल गरी वातवरण तथा स्वास्थ्यमैत्री बनाउनसमेत ध्यान दिइरहेका हुन्छन् । जबकि यी विषयबारे आम व्यक्ति जानकार नहुन सक्छन् ।

निजी आवासबाहेक व्यावसायिक प्रयोजनका भवन, कार्यालयका कोठामा डिजाइनरको सहयोग लिन जरुरी देखिन्छ । जुनसुकै व्यवसायमा पनि अत्यधिक प्रतिस्पर्धा रहेको समय आफ्नो कार्यालय भवन तथा कोठा आकर्षक हुनु त्यत्तिकै आवश्यक छ । आफ्नो जीवनको अभिन्न अंग घर र अर्को त्यस्तै महत्वपूर्ण स्थान कार्यस्थल वा कार्यालय जति राम्रो भयो त्यति नै आफूलाई आत्मसन्तुष्टि मिल्ने हो । ती स्थानको सही सजावटले समग्रमा आफ्नो व्यक्तित्वमा उचाइ थपिरहेको हुन्छ। त्यसैले निजी घर होस् वा कार्यालय, तिनको सही सजावटका लागि इन्टेरियर डिजाइनरको सहयोग लिनु बुद्धिमानी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It