Development

२० महिनाको काम चार महिनामै सकियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । म्याग्दीको  बेनी नगरपालिका–२ स्थित भसभसेको नदि कटान र पहिरो नियन्त्रण योजना सम्पन्न भएको छ । ८१ दशमलव पाँच मिटर लामो पर्खाल निर्माण सुरु भएको चार महिनामै सम्पन्न भएको हो । 

गत फागुनमा हिमालयन कन्स्ट्रक्सन कम्पनीसँग दुई करोड ६० लाखमा आयोजनाको  ठेक्का सम्झौता भएको थियो ।  २० महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको भएपनि निर्माण कम्पनीले १६ महिना अगाडि नै काम सम्पन्न गरेको छ । 

बाढीको कटान रोक्न म्याग्दी नदी किनारको जमिनभित्र चार मिटर चौडाइ र दुई दशमलव पाँच मिटर पक्की आरसीसी पर्खाल बनाइएको छ । पक्की पर्खालको माथिपट्टि तीन मिटर अग्लो ग्यावियन पर्खाल लगाइएको छ । 

आर्थिक मन्दी र निर्माण सामग्रीको मूल्य वृद्धिका कारण निर्माण कार्य थप चुनौतिपूर्ण भएको थियो । 

तर ठेक्का लगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन र निर्माण सामग्री जुटाएर चार महिनामै पूरा गरेको निर्माण कम्पनीले जनाएको छ । 

म्याग्दी नदीको किनारमा निर्माण गरिएको उक्त पर्खालले कटानका साथै बेनी–बागलुङ सडकमा पर्ने भसभसेको पहिरो रोकथाममा सहयोग पुग्ने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले जनाएको छ । 

निर्माण व्यवसायीको इच्छाशक्ति, सम्बन्धित कार्यालयको समन्वय, सहजीकरण, निगरानी तथा आयोजना निर्माणस्थलमा सहजरूपमा काम गर्ने वातावरण भएमा विकास आयोजना समयमै पूरा गर्न सकिने सन्देश यो आयोजनाले दिएको स्थानीयवासीको भनाइ छ । 

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It