News

तथ्यांकको प्रामाणिकतामा कमी रहेको भन्दै राष्ट्र बैंकले घरजग्गा मूल्यको सर्वेक्षण रोक्यो

Pinterest LinkedIn Tumblr

काठमाडौं । आधिकारिक तथ्यांक नआएको भन्दै नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सर्वेक्षण प्रतिवेदनको प्रकाशन रोकेको छ ।

प्रत्येक तीन महिनामा प्रतिवेदन सार्वजनिक गर्ने योजना रहेको केन्द्रीय बैंकले गत वर्षको मङ्सिरदेखि सर्वेक्षण सुरु गरेको थियो ।  

राष्ट्र बैंकलाई उपलब्ध भएका तथ्याङ्क विश्वास गर्नसक्ने खालको नदेखिएपछि यसलाई निरन्तरता दिन नसकिएको बैंकले जनाएको छ ।

सर्वेक्षणका लागि मालपोत कार्यालयमा हुने कारोबार, बैंकमा धितो प्रयोजनका लागि कायम गरिएको मूल्य र हामीले छनोट गरेका बजार केन्द्रबाट स्वतन्त्र रूपमा प्राप्त गरेको मूल्यलाई आधार बनाएको थियो । 

मूल्यमा आएको उतारचढावका कारण नेपालको रियल स्टेट क्षेत्र अझै व्यावसायिक र प्रतिस्पर्धी बन्न नसकेको राष्ट्र बैंकले निष्कर्ष निकालेको छ । 

खासगरी धितो मूल्याङ्कनका लागि कारोबार मूल्य बढी देखाउने, कर प्रयोजनका लागि मूल्य कम देखाउने तथा परिवारभित्रका सदस्यबीच कारोबार हुँदा एउटा मूल्य कायम गर्ने प्रवृत्तिले यो अवस्था सिर्जना भएको जनाइएको छ । 

घरजग्गाको कारोबारमा मालपोत कार्यालयले कारोबार कर र पुँजीगत लाभकर लिँदै आएको छ । धेरै मूल्य देखाउँदा खरिदकर्ताले तिर्नुपर्ने कारोबार कर बढि हुन आउने र बिक्रेताले तिर्नुपर्ने पुँजीगत लाभकर पनि बढ्ने भएकाले कम मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने चलन छ ।

तर बैंकबाट ऋण लिन चाहने वा बैंकको ऋणमै जग्गा किन्नेले भने धेरै मूल्य कायम गरेर जग्गाको कारोबार गर्ने गरेको पाइएको छ । यसले प्राप्त तथ्याङ्कको विश्वसनीयता घटाएको राष्ट्र बैंकको निष्कर्ष छ ।

घरजग्गाको अधिक कारोबार हुने देशका २० केन्द्रिय शहरका आधारमा राष्ट्र बैंकले सर्वेक्षण सुरु गरेको थियो । सर्वेक्षणमा जमिनको आकार, मोहडा, मुख्य बजारसम्मको दूरी, बस्तीको सम्मिश्रण, बाटोको आकार र भौतिक पूर्वाधारको अवस्थालाई समेत हेरेर मूल्यसम्बन्धी तथ्यांक संकलन गरिएको थियो ।

अहिले विश्वका ६० भन्दा धेरै मुलुकले घरजग्गा कारोबारको नियमित सर्वेक्षण गर्दै आएका छन् । दक्षिण एशियाली मुलुक भारत, श्रीलङका्देखि संयुक्त राज्य अमेरिका, टर्की, इन्डोनेसिया, ओमनलगायत देशमा केन्द्रीय बैंकले नियमितरूपमा यस्तो सर्वेक्षण गर्ने गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It