News

रुस-युक्रेन द्वन्द्वको प्रभावः दुबईमा घरजग्गाको मूल्य ५० प्रतिशतसम्म बढ्यो

Pinterest LinkedIn Tumblr

काठमाडौं । रुस-युक्रेनबीचको द्वन्द्वले दुबईको अर्थतन्त्र धराशायी भएको छ । जसको प्रत्यक्ष प्रभाव त्यहाँको घरजग्गा बजारमा पनि देखिएको छ । दुबईमा रुसीहरूको आगमन बढेपछि घरजग्गाको माग उच्च भएकाले घरजग्गाको मूल्य वृद्धि भएको हो । 

दुबईमा २०२० को तुलनामा सन् २०२२ मा अपार्टमेन्टको मूल्य ३५ प्रतिशत र भिल्लाको मूल्य ५० प्रतिशतले बढेको छ । गत वर्ष दुबईले ८६ हजारभन्दा बढी आवासीय घरको किनबेच गरेको थियो । जुन हालसम्मकै उच्च हो । 

यूएईले सन् २००९ मा ८० हजार आवासीय घर बिक्री गरेको थियो । उक्त रेकर्डलाई तोड्दै गत वर्ष यूएईले हालसम्मकै उच्च कारोबार गरेको  अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

गत वर्ष यूएईले करिब ५६ अर्ब ६ करोड अमेरिकी डलरको सम्पत्ति बिक्री भएको थियो । जुन २०२१ को तुलनामा करिब ८० प्रतिशत बढि  हो । पछिल्लो तथ्याङ्कले दुबईमा करिब एक दशकको अवधिमा घरजग्गाको मूल्य ह्वात्तै बढेको देखाएको छ । 

हाल दुबईमा आपूर्तिभन्दा घरजग्गाको माग बढेकोले भाडादर पनि वृद्धि भइरहेको जनाएको छ । दुबईको मूल्यवृद्धि विरोधी कानुनले घरधनीलाई भाडामा लिनेहरूबाट २० प्रतिशत भन्दा बढि भाडा बढाउन अनुमति दिदैँन । 

साथै घरधनीले भाडामा बसेकालाई कुनै कारणबिना बस्नेलाई हटाउन वा भाडा बढाउन सक्दैनन् । तर, पछिल्लो समय घरधनीले महँगो भाडामा अपार्टमेन्ट वा घर बिक्री गर्न पुराना बहालवालाहरूलाई स्पेस खाली गर्न सूचना दिन थालेका छन् । 

उनीहरूले  भाडामा बस्दै आएका मानिसलाई आफ्नै प्रयोजनका लागि घर तथा अपार्टमेन्ट खाली गराउन लागेको कारण देखाइरहेका छन् । 

त्यति मात्रै नभएर घर खरिद गर्नेको लागत पनि निकै बढेको छ । करिब एक करोड जनसंख्या भएको यूएईमा ९० प्रतिशत विदेशी नागरिक छन् ।  

प्रवासी जीवनशैली नै दुबईको अर्थतन्त्रको मेरुदण्ड हो । यस्तोमा घरभाडा महँगीले त्यहाँको अर्थतन्त्रमा उल्लेखनीय असर पुगेको छ । हिजोआज  दुबईमा अपार्टमेन्ट तथा भिल्लाहरू पाउन धेरै संघर्ष गर्नुपरेको एजेन्सीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Pin It