Research

बनिसकेका घरलाई भूकम्पबाट हुने जोखिम कम गर्न कसरी तयार गर्ने 

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल भौगर्भिक अवस्थाले भूकम्पको उच्च जोखिममा भएका कारण बेलाबेला ठूला तथा साना भुकम्प गइरहन्छन् । ग्लोबल रिपोर्टका अनुसार नेपाललाई भूकम्पीय जोखिमताका आधारमा एघारौँ स्थानमा राखिएको छ । 

विगतमा गएका भुकम्पमा परेर धेरै धनजनको नास भइसकेको छ । कमजोर भौतिक संरचना, अव्यवस्थित बस्ती, निर्माण संहिता विपरीतका भवनका कारण भुकम्पबाट हुने क्षति झनै बढ्छ । 

भूकम्पबाट धनजन र मानवीय क्षति हुन नदिन भौतिक संरचनाहरू बलियो, भूकम्प आउँदा नलड्ने, भूकम्प प्रतिरोधी बनाउनु पर्छ । तर पहिल्यै बनिसकेका घरलाई पनि केही हदसम्म सुरक्षित बनाउन सकिन्छ; यसबारे संक्षिप्‍त जानकारी आजको लेखमाः 

१. बेलाबेला घरको स्थिति चेकजाँचः

समयसमयमा आफू बसेको घरको स्थिति, संरचनात्मक कमजोरीको जाँच गरिरहनुपर्छ । त्यसका लागि नियमित विज्ञ मार्फत घरको निरीक्षण गराउन सकिन्छ । उनीहरूले घरलाई सुरक्षित ठहर नगरेको खण्डमा प्रतिरोधित उपाय अपनाइहाल्नुपर्छ

२. संरचनाको नियमित मर्मतसम्भारः

घरको बाहिरी भाग चर्किएको छ भने त्यसलाई असुरक्षित छ कि भन्ने आशंका गरिन्छ । तर जगको अवस्था, घरमा प्रयोग भएका काठ लगायतको अवस्थाबारे खासै ध्यान दिइँदैन । जसले गर्दा भूकम्पले संरचना र मानवीय क्षति हुने गर्छ । यसो हुँदा हामीले आफू बस्ने घरको बाहिरी तथा भित्री संरचना र प्रयोग भएका उपकरण तथा निर्माण सामग्रीको गुणस्तरबारे पनि ख्याल राख्न पर्ने हुन्छ । प्लम्बिङ, इलेक्ट्रिकल वायरिङ, सुरक्षा प्रणाली आदिको नियमित रेखदेख तथा समयसमयमा मर्मत सम्भार गर्नुपर्छ ।

३. आपतकालीन योजनाः

भूकम्प जुनसुकै समयमा आउने हुँदा त्यसबाट बच्ने उपायबारे सजग रहनुपर्छ । भूकम्पको समयमा बस्नका लागि सुरक्षित स्थान र चाहिने सामग्रीको व्यवस्थापनका लागि परिवारभित्र र नजिकका छिमेकीसँग पनि सरसल्लाह गर्नु राम्रो हुन्छ । र योजनाअनुरूप नै सुरक्षित स्थानमा जाने, तनावमुक्त वातावरणमा जोखिमको समय बिताउनुपर्छ । 

४. घरभित्र र बाहिरका सामानहरू सुरक्षित व्यवस्थापनः

घरभित्र र बाहिर राखिने सामग्रीहरूले पनि चोटपटक लाग्ने वा ज्यान जाने गर्छ । त्यसैले हामीले सामानहरूको सुरक्षित व्यवस्थापन गर्नु जरुरी हुन्छ । घरको टपका गमलाहरू हटाउने वा नखस्नेगरी राख्ने, ऐना लगायत सिसाजन्य सामाग्रीहरू सुत्ने ओछ्यानबाट टाढा राख्नुपर्छ । ग्यास पाइप, विद्युतीय तारहरू समयान्तर मर्मत गरिरहनु पर्दछ । ठुला फर्निचर, पुस्तक दराज लाई बलियो तरिकाले किला ठोकेर जडान गर्नुपर्दछ । पंखा लगायत सामग्रीलाई राम्रोसँग फिक्स गरेर राख्नुपर्दछ । साथै कीटनाशक औषधि, पेट्रोल लगायत ज्वलनशील पदार्थलाई आगोबाट टाढा राख्नुपर्दछ ।

५. एमर्जेन्सी किटको सहज पहुँच तथा प्राथमिक उपचारः 

पानी, खाना, प्राथमिक उपचारका सामग्री, टर्चलाइट, हेलमेट र ब्याट्री जस्ता अत्यावश्यक वस्तुहरू सजिलै मिल्ने स्थानमा राख्नुपर्छ । यसो गर्दा आपतकालीन अवस्थामा अतिआवश्यक चिजको अभाव हुँदैन। भूकम्प आएको बेला आत्तिएर, हडबडाएर अन्य दुर्घटनाको सामना गर्नुपर्ने अवस्था सिर्जना हुनसक्छ । यस्तोमा आपत्कालिन अवस्थामा तत्काल मलमपट्टी गर्न प्राथमिक उपचारका कुराहरू सिक्नु आवश्यक हुन्छ ।  

६. भूकम्पपछिका सुरक्षा उपायहरू:

भूकम्प पछि घरको सुरक्षाको मूल्याङ्कन गरेर मात्रै  पुन: प्रवेश गर्नुपर्छ । आवश्यक परेमा घरभित्रको स्पेस र पुरै घर पनि खाली गर्नुपर्ने हुनसक्छ । साथै ग्यास चुहावट, बिजुली समस्याहरू, र संरचनात्मक क्षतिको जाँच गर्नुपर्छ । र घरको सुरक्षा सुनिश्चित गर्न सुरक्षा उपायहरू अपनाउनुपर्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It