Research

कति लाख सम्ममा बन्छ आधुनिक ‘एकतले घर’ ?

Pinterest LinkedIn Tumblr

काठमाडौं । हिजोआज आधुनिक घर निर्माणको लहर नै चलेको छ । छोटो समयमा लगानीमैत्री आवास निर्माणका लागि पुराना आरसीसी घरको विकल्पमा आएका प्रिफ्याब घरप्रति सर्वसाधारणको आकर्षण बढ्दो छ । 

हामीले प्रिफ्याब घरको अवधारणा, निर्माण प्रक्रिया, र लागतको विषयमा ‘प्रिफ्याब हाउस निर्माण सेवा एंड सप्लायर्स प्रा. लि.’ का संस्थापक ‘सरोज खातीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, संस्थापक खातीसँग गरिएको कुराकानीको सम्पादित अंशः 

प्रिफ्याब घर भनेको के हो ? 

प्रिफ्याब घर ‘रेडिमेड’ घरको अवधारणा हो । जसको पर्खाल, छानादेखि घरमा प्रयोग हुने सम्पूर्ण सामग्री तथा पार्टहरू कारखानामा निर्माण गरिन्छ । र पछि घर निर्माणका लागि छुट्याइएको स्थानमा ढुवानी गरेर जडान गरिन्छ । 

प्रिफ्याब घरको निर्माण प्रकृया कस्तो हुन्छ ?

प्रिफ्याब घरहरू बनाउँदा पहिला फलामको संरचनाहरूको निर्माण गरिन्छ । प्यानलका घरहरू स्क्रू मार्फत फिटिङ गरिन्छ । घरमा चाहिने साइज अनुसारको सामानहरू उद्योगमा बनाइन्छ । जसलाई घडेरीमा ढुवानी गरी स्क्रूबाट स्थापना गरिन्छ । यसो हुँदा प्रिफ्याब घरलाई फुकालेर सहजै अर्को ठाउँमा सार्न सकिन्छ ।

प्रिफ्याब घरको निर्माणमा कस्ता सामग्री प्रयोग गरिन्छ ?

‘प्रिफ्याब घर निर्माणका लागि गोर्खा इकोप्यानल, एस् वाइ इकोप्यानल लगायतका कंक्रिट बेस, सिमेन्ट ब्रोड बेस, पफ बेस र स्यान्डविच बेस प्यानल प्रयोग हुन्छन् । यी प्यानलहरूठाउँ र आफ्नो रोजाइ अनुसार प्रयोग गर्न सकिन्छ । 

Prefab House

प्रिफ्याव घरको नक्सापास प्रकृया कस्तो हुन्छ ?

प्रिफ्याब घर निर्माण गर्दा नगरपालिकामा स्टिल स्ट्रक्चरको नक्सा पास गर्नुपर्छ । बाँकी प्रकृया आरसीसी घरकै जस्तो हुने भएपनि प्रिफ्याब घरको नक्सा बनाउन खर्च कम लाग्छ । प्रिफ्याब घर घरको नक्सा नगरपालिकाबाट वा निर्माण कम्पनीबाट बनाउँदा प्रति वर्गफिट १० रुपैयाँ लाग्छ । त्यसबाहेक कम्पनीबाट गर्दा कम्पनीले पहिले नै डिजाइन गरेर राखेको डिजाइनबाट नै छानेर बनाउँदा डिजाइन खर्च पनि लाग्दैन । आफ्नो तरिकाले छुट्टै डिजाइन गर्ने हुँदा मात्र थप खर्च लाग्ने हो । एउटा साधारण घरको डिजाइन र नक्सा पास गर्दा ५० हजार देखि १ लाख खर्च हुन्छ । र कम्पनीबाट नक्सा पास गर्दा ३०/४० हजार लाग्छ ।

एकतले प्रिफ्याब घर बनाउन खर्च कति लाग्छ ?

प्रिफ्याबका घरको पर्खाल, छाना, झ्यालढोकामा छुट्टाछुट्टै प्यानल प्रयोग गरिन्छ । पर्खालमा प्रयोग हुने प्यानल प्रति वर्ग फिट २ सय देखि ५ सयसम्म पर्न जान्छ । छानाका लागि प्रयोग हुने प्यानल प्रति वर्ग फिट ३ सय देखि ६ सय पर्छ । त्यस्तै झ्यालढोकाको लागि प्रति वर्गफिट ३ सय देखि ८ सय रुपैयाँ पर्छ । फिनिसिङ सहितको मूल्य प्रति वर्गफिट २ हजार रुपैयाँ पर्ने हुँदा,  करिब १५ लाख देखि २५ लाखसम्मक लागतमा ४ कोठाको एकतले प्रिफ्याब घर निर्माण गर्न सकिन्छ ।

जबकी सोही साइजको आरसीसी घर निर्माणमा करिब प्रति वर्गफिट ३ हजार अर्थात् सम्पूर्ण घरको लागत ३० लाखसम्म पर्न जान्छ ।

 कम्पनीमार्फत घर निर्माण गर्नु र व्यक्तिगत तवरबाट निर्माण गर्नुमा के भिन्नता हुन्छ ? 

प्रिफ्याबका घरहरू व्यक्तिगत तवरबाट भन्दा कम्पनीबाट नै निर्माण गर्दा  राम्रो हुन्छ । व्यक्तिगत तवरबाट निर्माण गर्दा सीप भएका कामदार नपाउने र लागत धेरै लाग्छ । 

कम्पनीबाट निर्माण गर्दा लागत लक्ष्यकामदारबाट गुणस्तरीय निर्माण सामग्रीको प्रयोग गरिने र लागत पनि कम लाग्छ । त्यसबाहेक स्थायी वा अस्थाई कस्तो प्रकारको घर बनाउने हो त्यसले पनि लागतमा फरक पर्न जान्छ । 

प्रिफ्याब घरको आयु कति हुन्छ ? कति समयमा निर्माण गर्न सकिन्छ ?

सामान्यतया प्रिफ्याब घरको आयु २५ देखि १०० वर्ष सम्म हुन्छ । एक महिनाको समय अवधिमा निर्माण सम्पन्न गर्न सकिने यस्ता घरलाई सहजै एक ठाउँबाट अर्को ठाउँ सार्न सकिन्छ । 

प्रिफ्याव घरहरू कति प्रकारका हुन्छन् ?

प्रिफ्याब घर स्थाई र अस्थाई गरी दुई प्रकारका हुन्छन् । काठमाडौं उपत्यकामा स्थायी घरहरू बनेका छैनन् । तर उपत्यका बाहिर भने प्रशस्त मात्रमा बनेका छन् । 

यसको लोकप्रियता कस्तो छ ?

थोरै बजेटमा गुणस्तरीय घर बन्ने हुँदा प्रिफ्याब घरप्रति धेरैको आकर्षण बढेको छ । खासगरी प्रिफ्याब घर सस्तो र टिकाउ आवासीय विकल्प भएकाले २०७२ सालको महा-भूकम्पपछि लोकप्रिय बनेको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्
Pin It