काठमाडौं । हरेक घरमा पूजाकोठाबाट अधिकांश शुभकार्यको सुरुवात गरिन्छ । यसो गर्दा कामहरू कुनैपनि बाधा बिना सम्पन्न हुने विश्वास गरिन्छ । यस्तोमा घरमा आध्यात्मिक ऊर्जा प्रवाह गर्ने स्थान छुट्याउनु अघि शुभ/अशुभ दिशाको बारेमा ध्यान नदिए, विपरित प्रभाव पर्न सक्छ । वास्तुशास्त्रले शान्ति, समृद्धि र सकारात्मक ऊर्जाको स्रोत मानेको पूजाकोठालाई नकारात्मकताको कारण बन्न नदिन दिशा चयनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । आजको लेखमा वास्तुअनुसार पूजाकोठा कस्तो हुनुपर्छ भन्नेबारे चर्चा गरौं ।
पूजाकोठाका लागि शुभ दिशा तथा स्थान
वास्तुअनुसार पूजाकोठा घरको ईशान कोण अर्थात् उत्तर-पूर्व दिशामा हुनु शुभ मानिन्छ । ईश्वरको वासस्थानको रूपमा समेत लिइने पूर्व र उत्तर दिशाबाट सकारात्मक ऊर्जा घरभित्र प्रवेश गर्छ । घरको उत्तर-पूर्व दिशामा पूजाकोठा बनाउन सम्भव नभएमा पूर्व वा उत्तर दिशामा बनाउनु राम्रो मानिन्छ । यदि पूजाकोठा भएको स्थानमा झ्याल छन् भने ती झ्यालहरू खुल्ला राख्न सकिन्छ; यसो गर्दा अझ सकारात्मक ऊर्जा भित्रिन्छ ।
यो पनि पढ्नुहोस्ः वास्तुअनुसार घरको मूल ढोका कुन दिशामा हुनुपर्छ ?
पूजाकोठाको लागि अशुभ स्थान र तौरतरिकाहरू
वास्तुशास्त्र अनुसार पूजाकोठा नैऋत्य कोण अर्थात् दक्षिण-पश्चिमबीच दिशामा बनाउनु अशुभ मानिन्छ । यस दिशा पितृकर्म र श्राद्धसँग सम्बन्धित मानिन्छ । त्यस्तै पूजाकोठामा एउटै देवताको दुईवटा मूर्ति वा तस्बिर राख्नु हुँदैन । यसले द्विविधा ल्याउने र मानसिक द्वन्द्व निम्त्याउने विश्वास छ । त्यस्तै, शौचालयको छेउ, माथि वा तल, भान्छाको छेउ, भर्याङमुनी र सुत्ने कोठामा पनि पूजाकोठा राख्नु राम्रो मानिँदैन । यदि एउटा मात्र कोठा छ भने त्यस्तो अवस्थामा पूजा गर्ने स्थानलाई बार्नुपर्छ । त्यसैगरी टिन वा फलामको ढोका, माकुराको जालो र धूलोमैलो भएको पूजाकोठामा आध्यात्मिक ऊर्जा सन्तुलन हुँदैन । अन्यथा मानसिक तनाव, निरन्तर समस्या र पारिवारिक कलेश समेत बढ्न सक्छ । त्यसैले पूजाकोठा सफासुग्घर राख्नुपर्छ ।
पूजा गर्दा कुन दिशातर्फ फर्किने ?
वास्तुशास्त्र अनुसार पूजाआजा गर्दा पूर्व वा उत्तर दिशातर्फ फर्किनु शुभ मानिन्छ । यसरी बस्दा हाम्रो मानसिक एकाग्रता बढ्छ र पूजा प्रभावकारी हुन्छ । पूजा गर्दा भगवानको मूर्ति वा तस्बिर आफू बस्नेको स्थानबाट २ फिट वा छातीको लेभलमा राख्नुपर्छ ।
पूजाकोठामा उपयुक्त रंग र डिजाइन
वास्तुअनुसार सेतो, पहेलो, हरियो, वा हल्का निलो रंग पूजाकोठाको लागि अत्यन्तै शुभ मानिन्छ । यी रंगहरूले वातावरणलाई शान्त र पवित्र बनाउँछन् । यदि पूजाकोठाको भुईँमा मार्बल प्रयोग गर्दै हुनुहुन्छ भने सेतो रंगको मार्बल सबैभन्दा उत्तम मानिन्छ; जुन शुद्धताको प्रतीक हो । त्यसैगरी पूजाकोठाको झ्यालढोका सकेसम्म पूर्व वा उत्तर दिशातर्फ खुल्ने बनाउनु राम्रो मानिन्छ । यसरी बनाउँदा प्राकृतिक प्रकाश र हावा प्रवाह राम्रोसँग हुन्छ; र कोठालाई ताजा र ऊर्जाशील बनाउँछ । धूप, दीप वा अग्निकुण्ड राख्ने हो भने त्यसलाई दक्षिण-पूर्व, अर्थात् आग्नेय कोणमा राख्न सकिन्छ; जसले धार्मिक कर्महरूलाई सन्तुलनमा राख्न मद्दत गर्छ ।
घर तथा जग्गा खरिदबिक्रि गर्न बसोबास डटकम भिजिट गर्नुहोला ।