News

कुसुन्तीमा लिफ्टसहितको देशकै नमुना ओभरहेड ब्रिज बन्दै

Pinterest LinkedIn Tumblr

काठमाडौं । ललितपुर महानगरपालिकाले कुसुन्तीमा सुविधा सम्पन्न आधुनिक प्रविधिको ओभरहेड ब्रिज (आकाशे पुल) निर्माण गर्ने भएको छ । सडकमा सवारीसाधनको चाप बढ्दै गएकाले पैदल यात्रीलाई सडक पार गर्न समस्या भएपछि महानगरपालिकाले ब्रिज निर्माण गर्ने योजना बनाएको हो ।

महानगरपालिकाले कुसुन्तीमा पहिलो चरणमा एउटा ओभरहेड ब्रिज निर्माण गर्न लागेको हो । महानगरले ब्रिजको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ ।

डिपिआर तयार पारेसँगै महानगरले निर्माण स्वीकृति लिन सडक विभाग अन्तर्गतको पुल महाशाखालाई प्रतिवेदन पठाएको छ । महानगरपालिकाले कुसुन्तीमा सुविधा सम्पन देशकै नमुना ब्रिज बनाउने लक्ष्य लिएको छ ।

यो आयोजनामा पुल महाशाखाले पनि बजेटको विनियोजन गर्ने सक्ने जनाइएको छ । सडक विभाग र महानगरबीच सहकार्य गरेर नै उक्त ब्रिजको निर्माण कार्य सुरु हुनेछ ।

ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/८० मा चक्रपथ कुसुन्ती लगायतका सडकमा ओभरहेड ब्रिज गर्ने कार्यक्रम राखेको छ । त्यसको लागि महानगरपालिकाले ५ करोड ५ हजार रुपैयाँ बजेट पनि छुट्याएको छ ।

महानगर र पुल महाशाखा बिच सहकार्य भई बजेट सुनिश्चित हुन सक्यो भने चालू आर्थिक वर्षभित्रै ब्रिज निर्माण हुनेछ । ब्रिज लिफ्ट सहितको अपाङ्गमैत्री हुनेछ ।

डिपिआरमा ब्रिज ६ वटा सटरलाई पनि समावेश गरेर तयार गरिएको छ । ब्रिजमा शौचालय, कफीसप लगायतका सेवा सुविधाहरू हुनेछन् । तर, डिपिआरमा समावेश गरिएका पूर्वाधारहरू केही फेरबदल हुन सक्ने जनाइएको छ । 

केही समय अघि ब्रिज निर्माणको विषयलाई लिएर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रधानमन्त्री पुष्पकमल दाहालबीच पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Pin It