News

रोकिएन कित्ताकाट: ९ महिनामै साढे १३ लाख टुक्रा, चैतमा सबैभन्दा धेरै (पूर्ण विवरण)

Pinterest LinkedIn Tumblr

काठमाडौं । गत चैत महिनामा वर्षभरकै सबैभन्दा बढि जमिनको कित्ताकाट भएको पाइएको छ । सरकारले खेतीयोग्य जमिनको खण्डिकरण रोक्नका लागि कडाइ गरेको भए पनि कित्ताकाटको क्रम भने बढ्दो छ । २०७४ सालमा कित्ताकाट रोक लागेसँगै कानुनी छिद्र प्रयोग गरेर कित्ताकाट गर्ने प्रवृत्ति मौलाएको हो । सहरी क्षेत्रमा भएको जनसंख्या वृद्धि, आवास निर्माणको तीव्र आकांक्षा र भूमाफियाको सक्रियताले जमिनको कित्ताकाट बढेको देखिन्छ ।

खेतीयोग्य जमिनलाई प्लटिङ गरेर टुक्राटुक्रा पारी बिक्री गर्ने भूमाफियाहरूको धन्दाले खण्डिकरण मात्र होइन मूल्य पनि उत्तिकै अकासिएको छ । सरकारले खेतीयोग्य जमिनको खण्डिकरण भएको भन्दै त्यसलाई नियन्त्रण गर्न २०७४ साउन २६ मा कित्ताकाटमा रोक लगाएको थियो । त्यसबेला कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा बिक्री वितरण गर्न नपाइने भनिए पनि भूमाफियाहरूको कारोबार भने निकै मौलाएको थियो ।  त्यसको एक वर्षपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो ।

जग्गा कित्ताकाटको लागि फिल्डबुकमा जग्गाको किसिम जे लेखिए पनि स्थानीय तहबाट खेतीयोग्य जमिन होइन भन्ने व्यहोरा आएमा कित्ताकाट गर्न सकिने मन्त्रालयले निर्देशनमा व्यवस्था गरेको थियो । सोही आधारमा टेकेर अहिले जग्गाको खण्डिकरण मौलाउँदै गएको सरकारकै तथ्याङ्कहरूले देखाएको छ । निष्प्रभावी र अस्थिर सरकारको नीतिका कारण बेलाबेलामा भूमाफियाहरू सक्रिय हुने गरेको आवास व्यवसायीहरूले नै बताउने गरेका छन् ।

अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरूलाई रियल स्टेटमा कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले कडाइ गरेको थियो । बैंकले गत पुसमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत घरजग्गाको कर्जामा जोखिम भार बढाएको थियो । तर, यसको विपरीत किनबेचसँगै भूमि टुक्रिने क्रम दिनानुदिन बढ्दो छ । सरकारी अधिकारीहरू भने जग्गा कित्ताकाट बढ्नुको अन्य खास कारण नभएर जनसंख्या वृद्धि र घडेरी खरिद प्रचलन रहेको बताउँछन् ।

जग्गा खरिद बिक्री, बकस पत्र, अंशवण्डा, नामसारी, अदालतको फैसला, अधिग्रहण, प्राकृतिक प्रकोप आदि कारणले जग्गाको स्वामित्वमा आंशिक परिवर्तन भएमा जग्गा कित्ताकाट हुने गर्छ ।

९ महिनामै साढे १३ लाख टुक्रा पारियो, चैतमा सबैभन्दा धेरै

चालु आर्थिक वर्षको ९ महिना (साउन देखि चैतसम्म) मा मात्रै जग्गालाई १३ लाख ४३ हजार ६६५ टुक्रा पारिएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस अवधिमा ५ लाख ८१ हजार १३४ कित्ता जग्गा टुक्र्याएर साढे १३ लाख टुक्रा पारिएको हो । जसमा चैतमा चालु वर्षको सबैभन्दा धेरै जग्गा कित्ताकाट भएको छ । भूमि विभागका अनुसार चैतमा महिनामा ७३ हजार ८०५ जग्गालाई टुक्र्याएर १ लाख ७२ हजार ७९७ टुक्रा बनाइएको छ । यो चालु वर्षकै सबैभन्दा धेरै हो । 

त्यसैगरी, फागुनमा ६८ हजार ९५१ जग्गालाई टुक्र्याएर १ लाख ६१ हजार ७०२ टुक्रा बनाइएको थियो भने माघमा ५६ हजार ९९८ जग्गालाई कित्ताकाट गरी १ लाख ३४ हजार ८९६ कायम बनाइएको थियो । विभागका अनुसार साउनमा ७३ हजार १५९ जग्गालाई १ लाख ६५ हजार ७०० टुक्रा, भदौमा ६४ हजार ९४२ जग्गालाई १ लाख ४८ हजार १६८, असोजमा ५५ हजार ४६३ जग्गालाई १ लाख २७ हजार ८०३ टुक्रा पारिएको थियो ।

यस्तै, कात्तिकमा भने चालु वर्षको सबैभन्दा कम ४८ हजार ९३२ जग्गालाई खण्डिकरण गरी १ लाख १० हजार ८३९ कायम गरिएको थियो भने मंसिरमा ६८ हजार ६३६ जग्गा टुक्रा पारी १ लाख ५८ हजार ३१० बनाइएको छ ।  यस्तै, पुसमा ७० हजार २४८ जग्गाको कित्ताकाट गरेर १ लाख ६३ हजार ४५० बनाइएको विभागको तथ्यांकले देखाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It