Lifestyle

बेलायतको एक शहरमा नेपाली गाउँ बनाउन २४ एकड जग्गा खरिद 

Pinterest LinkedIn Tumblr

काठमाडौं । बेलायतस्थित वेल्सको ऐतिहासिक शहर ब्रेकन नजिकै नेपाली गाउँ निर्माणको प्रक्रिया सुरु भएको छ । जसका लागि नेपाली भिलेज यूकेले आवरभिलेज र टलिबोन्ट अनस्क नजिकै २४ एकड (करिब १९० रोपनी) जग्गा खरिद गरिसकेको छ । जुन ब्रेकन टाउनबाट ८ माइल दूरीमा रहेको छ । 

पर्यटन प्रवर्द्धनको प्रमुख लक्ष्यसहित अघि सारिएको परियोजनाले नेपाली कला, संस्कृति, परम्परा संरक्षण र संवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । 

तीन चरणमा अगाडि बढाइने परियोजनाको पहिलो चरणमा खरिद गरिएको २४ एकड जग्गामा तारबार गरि वृक्षारोपण गरिने छ । त्यसैगरी, सो स्थानमा भएका घर मर्मत गरि नेपाली शैली झल्काउने मूल प्रवेशद्वार (गेट) बनाउने, लोकेसन हेरेर नेपाली स्टाइलको दुई ‘भान्साघर’, कलात्मक ढुंगेधारा र आवश्यकताअनुसार गाडी पार्किङको व्यवस्था गरिने जनाइएको छ । 

पहिलो प्लटको बीचमा पूरै स्थानीय ढुंगाबाट चौतारी बनाइने छ । जहाँ नेपालबाट लगिएको पीपल र वरको बिरुवा सारिनेछ । चौतारीसँगै पोखरी र एक भागमा ५० देखि ८० टेन्ट फिट सम्मको क्याम्पिङ क्षेत्र छुट्टाइने छ । दोस्रो चरणमा पारम्परिक पिँढीसहितको नेपाली घर निर्माण गरिने छ । 

नेपालका ग्रामीण भेगमा जस्तै कलात्मक शैलीमा निर्माण हुने घरमा पिँढीको एक छेउमा ढिकी र अर्को छेउमा जाँतो राखिने छ । संग्रहालय स्वरुप घरभित्र नेपाली सोभनियर (नेपाली कलात्मक सामग्री) का पसल हुनेछ । 

परियोजना अन्तर्गत कम्तिमा १०० जनाका लागि सुविधायुक्त भवन बनाइने छ । भवनमा योग शिविर (मेडिटेसन सेन्टर), तालिम तथा अन्य कक्षाहरू सञ्चालन गर्न सकिनेछ ।

भिलेजमा ‘काष्ठमण्डपका दुई नाथ’ भनेर चिनिने पशुपतिनाथ र बौद्धनाथ छुट्टाछुट्टै बनाइने छ । साथै सगरमाथा र अन्य मुख्य हिमालहरूको प्रतिकृति (रेप्लिका) समेत निर्माणको लक्ष्य राखिएको छ । 

त्यस्तै, तेस्रो चरणमा पहिलो प्लटमा सुविधासम्पन्न ठेट नेपाली रेस्टुरेन्ट बनाइनेछ । बजारको मागलाई मध्यनजर गर्दै सोहीअनुसार होम स्टे (बीएन्डबी) बनाउने योजना छ । सम्भाव्यता अध्ययनपछि केही रिटायरमेन्ट आवासहरू बनाउने सोच पनि छ । 

पहिलो चरणको परियोजनाका लागि २२७ जना सेयरहोल्डर छन् । सेयर मूल्य प्रतिव्यक्ति ५ हजार पाउन्ड रहेको छ । दोस्रो चरणको सेयर नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर १४ अप्रिल २०२३ शुक्रबारदेखि खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It