News

आठौँ घरजग्गा मेलाः ४० हजार बढीले गरे प्रत्यक्ष अवलोकन

Pinterest LinkedIn Tumblr

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघद्वारा आयोजित आयोजना गरेको ‘आठौँ घरजग्गा मेला’ सम्पन्न भएको छ । लामो समयदेखि सुस्ताएको घरजग्गा कारोबार चलायमान बनाउने उद्देश्यसहित पुष १२ गतेबाट भृकुकटीमण्डपमा मेला आयोजना गरिएको थियो । 

मेलामा घरजग्गा, निर्माण सामग्री र बैंकिङलगायतका जम्मा ५१ वटा स्टलहरू रहेका थिए । जसमध्ये रियलइस्टेटका २६ वटा र बैंक तथा निर्माण सामग्रीहरूका २५ वटा स्टलहरू राखिएका थिए । 

ghar jagga mela

चार दिनसम्म चलेको मेलाबाट करीब ३ अर्ब बराबरको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघको दाबी छ । नेपाल जग्गा तथा आवास विकास संघकाअनुसार ४० हजार भन्दा बढी अवलोकनकर्ताहरूले मेला अवलोकन गरेका थिए ।

मेलामा स्टल राखेका घरजग्गा व्यवसायीहरूले मेलालाई घरजग्गा किन्न तथा बेच्न ईच्छुकहरूका लागि राम्रो प्लेटफर्मका रुपमा लिएका छन् । यद्यपि कोरोना महामारीभन्दा पहिलेजस्तो अवलोकनकर्ताको चाप अझैपनि बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । मेलाको अन्तिम दिन भने केहि हदसम्म भिँड बाक्लिएको सीइ कन्स्ट्रक्सनकी मार्केटिङ हेड अमृत लक्ष्मी तुलाधरले बताइन् । 

ghar jagga mela

‘मेलामा लगानीको लागि नभइ बसोबासका लागि नै घरजग्गा खोज्नेहरू बढि देखिन्छन् । मेलाबाट १० देखि १५ वटा सम्म घर बेच्न सकिन्छ कि भन्ने अपेक्षा छ,’ उनले भनिन् । 

कोभिड पछि आयोजना भएको पहिलो घरजग्गा मेलामा अपेक्षा भन्दा धेरै नै अवलोकनकर्ताहरू देखिएको सनराइज सिटी होम्सका मार्केटिङ म्यानेजर सुबास बोहोराले बताए । ‘एक्पो बुझ्ने ठाउँ मात्र भएकाले किन्ने प्रकृयामा कति जान्छन् भन्ने यकिन भने गर्न सकिन्न, तर मेला लाभदायक नै रह्यो भन्न सकिन्छ,’ उनले भने ।

ghar jagga mela

घरजग्गाको क्षेत्रमा हुने गरेको सबैभन्दा ठूलो मेलाका रुपमा मानिएको मेलालाई आयोजक पक्षले राम्रोसँग व्यवस्थापन गर्न नसकेको केही सहभागीले गुनासो गरेका छन् । मेला सुरु भएको दुई दिनसम्म त आयोजकले हलभित्र बोर्ड हाल्ने काम नसकेको भन्दै मेलालाई थप व्यवस्थित बनाउन हाइ भिजन ल्यान्ड एण्ड हाउजिङका जेनेरल म्यानेजर हिरू राणाले सुझाएकी छन् । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It