News

नेपालकै पहिलो फ्लाइओभर बलम्बु-कीसिपिडी मा बन्दै, प्रथम चरणको काम सुरु 

Pinterest LinkedIn Tumblr

काठमाडाैं । पछिल्लो समय ट्राफिक व्यवस्थापन सर्वाधिक चर्चाको विषय बनेको छ । लामा त छोटा दूरीका सवारीले खप्नु परेको अस्वभाविक जामको चपेटाका बीचमा यो सबैको चासोको विषय बन्नु त स्वभाविक नै हो । यस्तोमा निर्माणाधीन ५ सय मिटर भन्दा लामो नागढुङ्गा नौबिसे सुरुङमार्गलाई त्रिभुवन हाइवेसगँ जोड्नका लागि काठमाडौंको बलम्बु-कीसिपिडीमा फ्लाइओभर निर्माण भइरहेको छ । बहुलेनको सुरुङमार्गलाई जोड्ने यो नेपालकै पहिलो फ्लाइओभर हो ।

नागढुङ्गा नौबिसे सुरुङमार्गको छोटो समयमा निर्माणकार्य सम्पन्न गर्ने हिसाबले यो फ्लाइओभरको निर्माण थालिएको हो । फ्लाइओभरको पिलर फाउन्डेसन अर्थात् जगको काम भइसकेको छ । हाल, फ्लाइओभर निर्माणका लागि यस क्षेत्रमा पर्ने घरहरू भत्काउने काम भइरहेको छ । 

यो नेपालको पहिलो फ्लाइओभर हो । फ्लाइओभरको प्रथम चरणको काम सुरु भइसकेको छ । त्रिभुवन राजमार्गलाई डाइभर्ट गरेर सुरुङमार्गको अप्रोच रोडतर्फ लैजान फ्लाइओभर निर्माण भइरहेको छ । यो फ्लाइओभर लम्बाइ १२८ मिटर र चौडाइ ७ मिटर हुनेछ । र्याम्प अप गर्दै याे फ्लाइओभर निर्माण हुनेछ र देशकै पहिलो फ्लाइओभर हुनुका साथै यो कर्भ सेपको हुनेछ । 

साधारणतया ट्राफिक जाम बढि हुने ठाउँमा वा ट्राफिक डाइभर्ट गर्नका लागि फ्लाइओभर निर्माण गर्ने गरिन्छ । राजमार्गबाट सुरुङमार्गतिर मोडिँदा जाम हुन सक्ने भएकाले फ्लाइओभर निर्माण गर्न लागिएको हो । दुई लेनको हुने यो फ्लाइओभर १२८ मिटर लामो हुने भनिएको छ । लामो खण्डमा सडकको समानान्तर बनाइएको फ्लाइओभरले इलिभेटेड एक्प्रेस वे को काम गर्दछ । 

राजमार्गबाट सुरुङमार्गको काठमाडौँतिर बन्ने पोर्टलसम्म जानका लागि फ्लाइओभर निर्माण गर्न लागिएको हो । जसको डिजाइन तयार भइसकेको छ । फ्लाइओभरबाट करिब तीन किमि पहुँच (एक्सेस) सडक मार्फत काठमाडौं तिरको पोर्टलमा पुग्न सकिन्छ । अहिले पहुँचमार्ग निर्माण भइरहेको छ । निर्माण सुरु गरेको ८ महिनामा फ्लाइओभर निर्माण पुरा हुने दाबी गरिएको छ । 

यो पनि पढ्नुहोस् : 

नागढुंगा नौबिसे सुरुङमार्गकाे ५० प्रतिशत काम सम्पन्न, घण्टौँ जाममा बस्नुपर्ने समस्याबाट छुटकारा

नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य ठेकेदार कम्पनी हाज्मा-आन्दो कर्पोरेशन लिमिटेडले नै बलम्बुको फ्लाइओभर निर्माण गर्नेछ । आयोजनाको ठेक्काभित्रै रहेकाले उसैले निर्माण जनाइएको छ । जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा यो आयोजना निर्माण भइरहेको हो । कुल लागतमध्ये १६ अर्ब रुपैयाँ जापान सरकार र ६ अर्ब रुपैयाँ नेपाल सरकारले लगानी गर्ने सहमति रहेको छ । फ्लाइओभर निर्माणमा १ अर्ब १४ करोड लागत लाग्ने अनुमान रहेको छ भने ८ महिना देखि १ वर्ष भित्रै निर्माण सम्पन्न गर्ने आयोजनाले तयारी थालेको छ । 

फ्लाइओभरः

फ्लाइओभर भनेको एउटा सडक वा रेलमार्गलाई अर्को सडकमा जोड्ने पुल हो । जसले ट्राफिक व्यवस्थापनका लागि पूरक सडकको काम गर्दछ । यसले अत्यावश्यक अवस्थाका सवारीमा पर्ने प्रत्यक्ष तथा अप्रत्यक्ष असरलाई कटौती गर्दछ । सामान्यतया फ्लाइओभर ‘ओभरपास र अन्डरपास’ गरी दुई किसिमका हुन्छन् । फ्लाइओभर निर्माणमा प्रयोग हुने सामग्रीका आधारमा कम्पोजिट, कंक्रिड र स्टिल फ्लाइओभरमा विभाजन गरिएको हुन्छ । विशेषगरी सडक जामको प्रचुर सम्भावना भएका ठाउँहरूमा फ्लाइओभरको निर्माण गरिन्छ ।

फ्लाइओभरका फाइदाहरूः

  • यसले सडकको ट्राफिक व्यवस्थापनमा सघाउ पुर्याउँदछ ।
  • ट्राफिक जामको चरम सम्भावना भएका शहरमा यात्रीहरूको समय बचत हुन्छ ।
  • बहुलेनका बाइपास सडकको विकल्प हुनेहुँदा पैदल यात्रीको सडक सुरक्षा सुनिश्चित गर्दछ ।
  • आकस्मिक सवारीसाधनका लागि आवश्यक स्पेश उपलब्ध गराउँदछ । 
  • दुर्घटनाको अनुपात कम हुन्छ ।

फ्लाइओभरका सम्भावित बेफाइदाहरूः

  • धेरै भुभाग ओगट्ने हुँदा निर्माण क्षेत्रमा फ्लाइओभरको निर्माण सजिलो छैन ।
  • फ्लाइओभरको उचित व्यवस्थापन नहुनाले विविध सम्स्या निम्तिन सक्छ ।
  • दूर्घटना कम त गर्छ तर घटना घटेको खण्डमा हुने क्षति भने बढ्न सक्छ ।
  • निर्माणकार्य महंगो हुन्छ ।

यता, त्रिभुवन हाइवेबाट यो फ्लाइओभरको कुरा गर्नपर्दा, यसको मद्दतले ३ किलाेमिटरकाे पहुँचमार्ग हुदैँ नागढुङ्गा न‌ौबिसे सुरुङमार्गको काठमाडाैं पोर्टलसम्म पुग्न सकिन्छ । यसले ट्राफिक नियन्त्रण प्रणालीलाई व्यवस्थित बनाउन ठूलो भूमिका खेल्दछ । यो फ्लाईओभरले शहरको सौन्दर्यता बढाउँदछ । यसले यात्राको समय, इन्धनको बचत, वातावरणीय प्रदूषणलाई उल्लेखनीय रूपमा कम गर्नेछ । अफ-रोड दुर्घटनाको जोखिम कम गर्छ । पानी परेपछि सडक मात्रै होइन अन्य सबै सडक पानीले भरिन्छन् त्यसैले पानीको सहजता पाउन फ्लाईओभरबाट यात्रा गर्न सजिलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It