News

मकर संक्रांतिका लागि नारायणगढ-मुग्लिन सडकखण्ड खुला गरिने 

Pinterest LinkedIn Tumblr

काठमाडौं । माघे सङ्क्रान्ति मेलालाई लक्षित गर्दै नारायणगढ-मुग्लीन सडकखण्ड दुईका लागि खुला गरिने भएको छ । पुलनिर्माणका लागि अवरोध भइरहेको सडक यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो ।

सो सडकखण्डमा अहिले पुल निर्माणका लागि  बिहान ११ देखि दिउँसो ३ बजेसम्म सवारी रोकेर भित्तो काट्ने काम भइरहेको छ । सवारीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । 

देवघाट जानका लागि रामनगर हुँदै जानुपर्ने र फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । दासढुङ्गाको पुलतर्फबाट भने आवातजावतका लागि सुविधा रहने छ । 

हरेक वर्ष देवघाटमा स्नान गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय भक्तजनको घुईंचो हुन्छ । भक्तजन र धामको व्यवस्थापनका लागि १ सय ५१ सदस्यीय मूल समिति र उपसमितिले काम गर्दछ । यस वर्ष पनि ५ लाखभन्दा बढी स्वदेशी तथा विदेशी भक्तजन आउने देवघाट क्षेत्र विकास समितिको अपेक्षा रहेको छ । पछिल्ला केहि वर्षमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने समितीको अनुमान छ ।

सङ्क्रान्तिलाई लक्षित गरि देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा याफ्टिङको व्यवस्था गरिएको छ । 

दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई सोही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ ।

स्नानको क्रममा पानीमा डुब्दा हुनसक्ने सम्भावित दुर्घटना तथा क्षतिलाई न्युनिकरण गर्न नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ । साथै विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति पनि बनाइएको छ ।

पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडेर पूजा गरी मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It