News

काठमाडौं महानगरका ७ हजार भन्दा धेरै घर मापदण्ड विपरित रहेको खुलासा

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका धेरैजसो घरमा स्विकृति बिना तला थपेको पाइएको छ । महानगरपालिकाले संकलन गरेको एक तथ्यांकमा सात हजारभन्दा धेरै घर तथा टहरामा नक्सा स्विकृति बिना तला थपेको पाइएको हो । 

केही समय अगाडि महानगरले नक्सा पास नभएका तर मापदण्ड अनुकूल रहेका संरचनाहरूको ९० दिनभित्र प्रक्रिया पूरा गर्न सम्बन्धित सबैलाई आग्रह गरेको थियो । सुचना जारी भएदेखि हालसम्म ७ हजार घरधनीले मापदण्ड पुरा गर्नका लागि आवेदन दिएको सहरी विकास विभागका निर्देशक सुरज शाक्यले बताए । 

नक्सापास बिना बनेका तथा तला थपिएका सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भवनको समेत नक्सा स्विकृतिका लागि नक्सा नियमित गर्न निवेदन दिएका हुन् ।

महानगर क्षेत्रभित्र भवन निर्माण मापदण्ड अनुरूप नक्सापास गरेर भवन निर्माण गर्नुपर्ने हुन्छ । तर कतिपय घरधनीहरूले स्वीकृत नक्सा भन्दा फरक ढंगले बनाएको पाइएको छ । मापदण्ड अनुरूप भएको संरचनालाई नियमित गर्ने तथा निर्माण सम्पन्न प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले काम अगाडी बढेको उनले बताए । 

निवेदनका आधारमा भवन बनेको समय, नक्सापास र करलगायत सम्पूर्ण विवरण तथा अभिलेख वडा कार्यालयबाट लिइने शाक्यले बताए । २०७५ भन्दा अगाडि र मापदण्ड भित्र बनेका घरलाई नियमित गरिन्छ । नक्सा पास नभएको  तर सडकको मापदण्ड नमिचेको भएमा अभिलेखमा राखिन्छ- ‘उनले भने’ । 

हाल सम्बन्धित वडा कार्यालयले मापदण्डमा घर बनेको नबनेको अनुगमन गरिरहेको छ । संरचनाको कागजात वडा कार्यकालमा पेश गरेपछि वडाका इन्जिनियरबाट नियमित गर्न मिल्ने नमिल्ने जानकारी मिल्ने शाक्यले बताए । हाल महानगरले नक्सा विपरीत बनेका अनधिकृत संरचना हटाउने कामलाई निरन्तरता दिइएको छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ऐनको दफा २७ मा नक्सा पास नगराई भवन निर्माण गर्न नहुने व्यवस्था छ । सोही ऐनको दफा ३९ को उपदफा ५ मा कसैले नक्सा पास नगरी वा पास भएको नक्सामा स्वीकृति हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा नक्सा पास नगरी भवन बनाएको भए पाँच लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । त्यसैगरी नक्सा पास भएको तर स्वीकृति बेगर हेरफेर गरी भवन बनाएको भए दुई लाख रुपैयाँसम्म जरिबाना गरी अध्यक्ष वा प्रमुखले सो भवन वा त्यसको कुनै भाग भत्काउने आदेश दिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It