News

निर्माण सामाग्रीको अभाव हुँदा नागढुंगा–सिस्नेखोला सुरुङमा्र्गको काम रोकियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । निर्माण सामाग्रीको अभावमा नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम रोकिएको छ  । क्रसर व्यवसायीले ढुवानीमा अवरोध गर्न थालेपछि माघ २ गतेदेखि काम ठप्प भएको हो । 

जापानी कम्पनी हाज्मा एन्डोले निर्माधिन सुरुङमार्गका लागि वैधानिक रूपमा दर्ता भएका क्रसर उद्योगबाट बालुवा ल्याउने गरेको थियो । यद्यपि अवैध रूपमा सञ्चालित क्रसर उद्योगले ढुवानी गर्न नदिएपछि काम रोकिएको सडक विभागले जनाएको छ । 

निर्माणका लागि अनुकूल मौसम भएकै बेला निर्माण सामग्री अभाव हुँदा चालु अवस्थाका ८० प्रतिशत आयोजना प्रभावित बनेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । 

निर्माणको सिजनमा क्रसर उद्योग बन्द गरेर निर्माण ठप्प गर्ने गृहको निर्देशनले देशभर विभिन्न मन्त्रालय, विभागअन्तर्गत ठेक्का भएका करिब ८ हजार आयोजना चालु रहेपनि निर्माण सामग्रीको अभावमा काम रोकिएको महासंघले जनाएको छ ।

तीन वर्षअघि सुरू भएको नागढुंगा–सिस्नेखोला सुरुङ मार्ग निर्माणको ठेक्का अवधि अबको चार महिनामा  सकिनेछ । सुरुङ खन्ने काम ७३.३० प्रतिशत सकिँदा हालसम्म समग्र भौतिक प्रगति ४७.९० प्रतिशत छ । मुख्य र आपत्‌कालीन सुरुङसहित ५ दशमलव ४९९ किलोमिटर दूरी रहेको मुख्य सुरुङको दूरी भने २.६८८ किमि छ । 

ठेक्का लिने कम्पनीले तीन महिना भित्र सुरुङको ब्रेक थ्रु गर्ने आयोजनाको लक्ष्य रहेको छ । कुनै समस्या नआए ०८० साउनमा सुरुङबाट गाडी चल्ने आयोजनाको तयारी थियो । २२ अर्ब रुपैयाँको ठेक्का रकममा सञ्चालन भइरहेको सुरुङ निर्माणमा जापानको साढे १६ अर्ब रुपैयाँ ऋण सहयोग  र ६ अर्ब रुपैयाँ बजेट नेपाल सरकारको तर्फबाट छुट्याइएको छ ।

यता गृह मन्त्रालयले  गत पुस २० मा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै अवैध क्रसर बन्द गराउन निर्देशन दिएपछि अधिकांश निर्माणका काम प्रभावित भएका छन् । 

हालसम्म देशभर १ हजार २ सय १ क्रसर सञ्चालनमा रहेकोमा ८ सय ९० भन्दा बढी अवैध र नवीकरण नभएका क्रसर जिल्ला प्रशासन कार्यालयले बन्द गराइसकेका छन् । जसमा ८६ वटा क्रसर विभिन्न आयोजनाका नाममा देखाइएको छ । 

क्रसर बन्द भएपछि निर्माणाधीन ठूला आयोजनामा प्रभाव पारेको छ । काठमाडौं उपत्यकामा पनि सडककका काम अघि बढ्न सकेको छैन । धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक हुँदै निर्माण सामग्री उपत्यका भित्रिन्छ । अहिले ती जिल्लामा रहेका क्रसर बन्द भएपछि निर्माण सामग्री भित्रिन छाडेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It