News

काठमाडौंको फोहोर लैजाने मुड्खु-तीनपिप्ले सडकखण्ड धमाधम कालोपत्रे हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । तारकेश्वर नगरपालिकाको मुड्खु–तीनपिप्ले सडकखण्ड कालोपत्रे गर्न थालिएको छ । उपत्यकको फोहोर सिसडोल लैजान प्रयोग गरिँदै आएको यस सडकखण्डका कारण उपत्यकाको फोहोर विसर्जनमा समस्या भएपछि ‘फास्ट ट्रयाक’मा काम सक्न भन्दै उक्त खण्डको कालोपत्रे थालिएको हो ।

चार महिनाभित्र काम सक्नेगरी बालाजु–रानीपौवा सडकअन्तर्गत मुड्खु–तीनपिप्ले खण्ड कालोपत्रे गर्न असोजमा ठेक्का सम्झौता भएको थियो । सडक कालोपत्रेका लागि १५ करोड रुपैयाँ ठेक्का कमलजित–ड्रागन जेभीले पाएको हो ।

सम्झौता अनुसार माघ २६ भित्र कालोपत्रेको काम सकिइसक्नुपर्नेछ । तोकिएको समयभित्र काम नसकिए ठेक्काको म्याद थप नहुने सडक विभागले जनाएको छ । 

अर्थ मन्त्रालयबाट १० करोड रुपैयाँ रकमान्तर भएपछि काम अघि बढेको बालाजु–रानीपौवा–त्रिशूली सडक विस्तार आयोजनाले जनाएको छ । थप रकम पनि रकमान्तरमार्फत नै आउने जनाइएको छ । शुक्रबारबाट यो खण्डमा कालोपत्र गर्न सुरु गरिएको हो ।

पहिलो दिन १६ सय मिटर सडक कालोपत्र गरिने योजना रहेको छ ।  तोकिएकै समय भित्र सक्नेगरी नै काम भइरहेको आयोजना पक्षले जनाएको छ ।

सवारी आवागमन नरोकी काम भइरहेकाले दुइ चरणमा कालोपत्रे हुने भएको हो ।  पहिलो चरणमा एक लेन सडक कालोपत्र गर्ने र दोस्रो चरणमा थप लेन कालोपत्र गरिने छ ।  

बालाजु–रानीपौवा सडक टुक्र्याएर ५ किलोमिटर सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का गरिएको हो । बालाजु–रानीपौवा १७.१० किलोमिटर सडक स्तरोन्नतिका लागि आठ वर्षअघि भारतीय निर्माण कम्पनी एआईपीएलसँग शैलुङ कन्स्ट्रक्सनले संयूक्त ठेक्का लिए पनि काम हुन सकेको थिएन  ।

सात पटक म्याद थप्दा पनि आयोजनामा प्रगति नभएपछि सडक सुधार तथा विकास आयोजना निर्देशनालयले गत असार ५ मा ठेक्का तोडेको थियो  ।

ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले गत भदौ ८ मा तीन वर्षका लागि कालोसूचीमा राखेको छ  । बाँकी १२ किलोमिटर खण्डको लागत अनुमान तयारी भइरहेको आयोजनाले जनाएको छ ।

रानीपौवा–त्रिशूली खण्डको पनि ठेक्का तोडिसकिएको छ  । पटकपटक म्याद थप्दा पनि प्रगति नभएपछि ठेक्का तोडिएको हो । यस खण्डको दूरी ३४.१८ किलोमिटर छ  । जसको ठेक्का दिनेशचन्द्र आर अग्रवालसँग नागार्जुन–कोसी एन्ड न्यौपाने कम्पनी जेभीले लिएको हो  ।

यस कम्पनीलाई तीन वर्षसम्म नयाँ ठेक्का नपाउने गरी गत साउनमा कालोसूचीमा राखिएको हो । सडक विभागका अनुसार रानीपौवा–त्रिशूली खण्डमा सुरुदेखि नै काममा प्रगति थिएन  । दुवै खण्डको लागत अनुमान तयार पारेर बजेटको सुनिश्चितता गरी ठेक्का आह्वान गरिने आयोजनालो जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It