News

१ अर्बको लगानी सहित कमलादीमा बन्न लागेको एसियाको दोस्रो मोक्सी होटल

Pinterest LinkedIn Tumblr

काठमाडौं । कमलादीमा पाँचतारे होटल सञ्चालक एमएस ग्रुपले ‘मोक्सी होटल’ निर्माण गर्ने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी ए‍ण्ड होटल प्रालिको लगानीमा मेरियट इन्टरनेशनलले होटलको निर्माण गर्न लागेको हो ।  होटल निर्माणका लागि म्यारियट इन्टरनेशनलसँग यसअघि नै सम्झौता भइसकेको छ । 

होटल निर्माणका लागि कम्पनीले वातावरणीय प्रभाव मुल्याङ्कन गरिसकेको छ । प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाइएको छ । होटलको कूल क्षेत्रफल ८८८.१४ वर्गमिटर हुने प्रतिवेदनमा उल्लेख छ । जसमध्ये आधाभाग खुला क्षेत्र हुने कम्पनीले जनाएको छ । 

होटलको निर्माणमा जग्गाबाहेक १ अर्ब १० करोड लागत लाग्ने कम्पनीको अनुमान छ । निर्माण सामग्रीको मूल्य र ज्यालादर बढेको हुँदा लगानी रकम बढ्न सक्ने कम्पनीले जनाएको छ । 

त्यस्तै दुईवटा बेसमेन्ट र भूई तला बाहेक ९ तले होटलमा २ सय बेडसहितका ९४ ओटा कोठाहरू रहनेछन् । अपाङ्गमैत्री यस होटेलमा ह्विलचेयरका लागि र्‍याम्प सुविधासहितका दुई कोठा र ३० वटा दुई पांग्रे र २० वटा चार पांग्रे सवारी पार्किङ‍ क्षमता हुने कम्पनिले जनाएको छ । 

मोक्सीमा रिसेप्सनको सट्टा बार हुनेछ ।  युवावर्ग लक्षित गरिएको हुँदा फरक र ह्यापेनिङ हुने कम्पनीले जनाएको छ । जहाँ बार, अल डे डाइनिङ आउटलेट, टेक अवे, रुफटप बार लगायतका सेवासुबिधा हुनेछन् ।  

एसियाको दोस्रो मोक्सी होटल निर्माण सुरु भएको ५६ महिनामा काम सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । 

प्रतिक्रिया दिनुहोस्
Pin It