News

देशभरि घरजग्गा कारोबार सुस्ताउँदा पनि यी ठाउँमा भने परेको छैन असर

Pinterest LinkedIn Tumblr

चालु आर्थिक वर्षको असोजपछि नेपालमा घरजग्गा कारोबार सुस्ताएको छ । बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा त्यसको असर घरजग्गा कारोबारमा समेत पर्न पुगेको छ । अहिले घरजग्गा कारोबारका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन खोज्दा नपाउने, पाए पनि ब्याजदर महँगो पर्न जाने अवस्था छ । त्यसैले पनि कोरोना कहरमा समेत फस्टाएको घरजग्गा कारोबार यति बेला सुस्ताउन पुगेको छ ।

घरजग्गा कारोबारका लागि सिजन मानिएको पुस महिनामै कारोबार घटेपछि धेरै घरजग्गा व्यवसायीहरु समस्यामा परेका छन् । तर देशभर कारोबार घट्दा पनि विभिन्न ६ ओटा ठाउँमा भने घरजग्गा कारोबार तुलनात्मक रुपमा बढेको पाइएको छ।

नेपालका १२६ मालपोत कार्यालयमध्ये पुस महिनामा कम्तीमा एक हजार कारोबार हुने मालापोत कार्यालयको संख्या ३२ छ । तीमध्ये अघिल्लो वर्षको पुसको तुलनामा यसपटकको पुस महिनामा ६ वटा कार्यालयमा घरजग्गा कारोबार बढेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । यस्ता ठाउँहरु तल दिइएको छ ।

१. भद्रपुर झापा

झापाका दुवै मालपोत कार्यालयमा पुसमा घरजग्गा कारोबार बढेको छ । गत वर्ष पुसमा २ हजार ६९२ घरजग्गा किनबेच भएको भद्रपुरमा यो वर्ष पुसमा २ हजार ७५५ घरजग्गा किनबेच भएका छन् । गत वर्षको तुलनामा यो वर्ष पुस महिनामा भद्रपुरमा घरजग्गा काराेबारकाे संख्या ६३ ले बढेकाे छ ।

२. दमक झापा

झापामै रहेको दोस्रो मालपोत कार्यालयले पनि गत वर्ष पुसमा १ हजार ४०० घरजग्गा किनबेच गराएकोमा यो वर्ष पुसमा १ हजार ४३४ घरजग्गा किनबेच गराएको छ । यहाँ गत वर्षको तुलनामा ३४ ओटा घरजग्गा बढी किनबेच भएका हुन् । झापामा रहेका दुवै कार्यालयमा कारोबार संख्या बढेकोले झापामा मन्दीको असर कम भएको बुझ्न सकिन्छ ।

३. साँखु काठमाडौं

काठमाडौंको उत्तर पूर्वी किनारमा रहेको साँखु मालपोत कार्यालयले गत वर्ष पुसमा ९५१ घरजग्गा मात्रै किनबेच गराएको थियो । यो वर्ष पुसमा भने साँखु मालपोत कार्यालयले १ हजार १६० घरजग्गा किनबेच गराएको छ । जुन गत वर्षको तुलनामा २०९ ले बढी हाे ।

४. कलंकी काठमाडौं

गत वर्ष पुसमा १ हजार ५६४ घरजग्गा किनबेच गराएको कलंकी मालपोत कार्यालयले यो वर्ष पुसमा १ हजार ६९९ घरजग्गा किनबेच गराएको छ ।  गत वर्षको तुलनामा याे मालपाेत कार्यालयबाट १३५ ओटा बढी घरजग्गा किनबेच भएकाे छ ।

५. चितवन

गत वर्ष पुसमा १ हजार ५५९ घरजग्गा किनबेच गराएको चितवन मालपोत कार्यालयले यो वर्ष पुसमा १ हजार ६७४ घरजग्गा किनबेच गराएको छ । गत वर्षको तुलनामा यहाँ ११५ ओटा बढी घरजग्गा किनबेच भएका छन् । यद्यपी चितवनको कारोबार यसै वर्ष मंसिरमा भएको कारोबारको तुलनामा भने कम हो । मंसिरमा यहाँ २ हजार हाराहारी घरजग्गा किनबेच भएका थिए ।

६. नेपालगञ्ज

पश्चिम नेपालमा नेपालगञ्ज मालपोत कार्यालयले मात्रै गत वर्षको भन्दा बढी घरजग्गा किनबेच गराएको छ । गत वर्ष पुसमा २ हजार ३७१ घरजग्गा किनबेच गराएको नेपालगञ्ज मालपोत कार्यालयले यो वर्ष पुसमा २ हजार ४११ घरजग्गा किनबेच गराएको छ । जुन गत वर्षको तुलनामा ४० ले बढी हाे ।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It