News

८ करोड लागतमा कालोपत्रे गरेको नमुना ब्लक सडक १५ दिन नपुग्दै भत्कियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । कैलालीको टिकापुरमा निर्माणाधीन नमुना ब्लक सडक कालोपत्रे गरेको १५ दिन नपुग्दै  भत्किएको छ । टीकापुर नगरपालिका–१ को खड्गचोकदेखि टीकापुर अस्पताल, खानेपानी ट्यांकी, इलाका प्रहरी कार्यालय हुँदै मेनरोडसम्म रहेको ब्लक नं. ए का भित्री सडक कालोपत्रे भएको हप्ता दिन नपुग्दै भत्किएको हो । 

सडक निर्माणमा कमसल सामाग्रीको प्रयोग भएको र गुणस्तरहिन काम गरेको स्थानीयको गुनासो छ । यसप्रति सम्बन्धित निकायले समयमै अनुगमन गरी सडक पुनः कालोपत्रका लागि निर्माण कम्पनीलाई निर्देशन दिनुपर्ने उनिहरूको भनाइ छ ।

कालोपत्रे गरिएको सडकमा समस्या आएको खबर प्राप्त भएपछि सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन एकाइ कार्यालय, धनगढीको प्राविधिक टोलीले सडकको अनुगमन गरेको थियो । 

अनुगमनका क्रममा कालोपत्रेमा अलकत्राको कमीका साथै कम्पेक्सन राम्रो नभएको देखिएको छ । सडकमा समस्या देखिएपछि कोहलपुरको ल्याबमा अलकत्राको परीक्षण गर्न पठाएको छ । त्यसको प्रतिवेदन आएपछि समस्या देखिएको ठाउँमा पुनःनिर्माण गर्न लगाइने विभागले जनाएको छ ।

नमुना ब्लक बनाउने भनिएको ब्लक ए टीकापुरको मुख्य बजार क्षेत्रमा पर्दछ । 

सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाइ कार्यालयको करिब ८ करोड लागतमा ‘ब्लक ए’ को ३ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण कार्य भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It