काठमाडौं । वास्तुशास्त्रअनुसार घरमा भएका हरेक वस्तुमा सकारात्मक र नकारात्मक ऊर्जा हुन्छ । र हरेक वस्तुबाट सकारात्मक ऊर्जा प्रवाह हुन ती वस्तु सही ठाउँमा हुन जरुरी छ । यसो गर्दा घरमा समृद्धि आउने शास्त्रमा उल्लेख छ । आजको लेखमा हरेक घरको सौन्दर्य र सजावटसँग जोडिएको वस्तु ‘ऐना’को वास्तुशास्त्रबारे चर्चा गरौँः
वास्तुशास्त्रअनुसार ऐना कहाँ र कसरी राख्ने ?
वास्तुशास्त्रमा ऐनालाई जल तत्त्वको प्रतीक मानिन्छ । पानी र ऐना दुवैले वस्तुको आकृति परावर्तन गराउने भएकाले ऐनाले जलतत्त्वको उपमा पाएको हो ।
शुभ दिशाः ऐनालाई उत्तर (North) र पूर्व (East) दिशामा राख्नु शुभ मानिन्छ । सकारात्मक ऊर्जाको केन्द्र मानिएका उक्त दिशालाई धनका देवता कुबेरको दिशा पनि मानिन्छ । त्यसैले यस दिशामा ऐना लगाउँदा घर परिवारमा आर्थिक सम्पन्नता बढ्छ भन्ने विश्वास छ । यसरी घरभित्र लगाइएको ऐनामा सौभाग्य, वैभव, खुसियाली र सम्मानलाई आकर्षित गर्छ ।
उपयुक्त स्थानः डाइनिङ हल र पढ्ने कोठामा ऐना राख्न सकिन्छ । डाइनिङ हलमा ऐना राख्दा पूर्वी भित्तामा राख्नु उपयुक्त हुन्छ । साथै, ऐनामा खानेकुराहरू परावर्तन हुनेगरि राख्न सकेमा घरमा खाद्यान्नको अभाव नहुने विश्वास छ ।
पढ्ने कोठाको उत्तर–पूर्वी कुनामा ऐना राख्नु राम्रो मानिन्छ । तर यसरी राख्दा किताबहरू भने परावर्तित हुनु हुँदैन ।
अशुभ दिशाः ऐनालाई दक्षिण र पश्चिम दिशामा झुन्ड्याउनु अशुभ मानिन्छ । यसरी राखिएको ऐनाले शरीरमा भएको सकारात्मक ऊर्जालाई परावर्तित गराइदिन्छ । दक्षिण पश्चिम दिशामा राखिएको ऐनाले घरमूलीलाई परिवारबाट टाढा बनाउँछ । पश्चिममा राखेको ऐनाले अल्छि बनाउँछ । वास्तुशास्त्रले उत्तर पश्चिममा पनि ऐना नराख्न सुझाएको छ । यस दिशामा ऐना राख्दा आफन्त नातेदारसँग वैमनस्यता बढ्छ ।
अशुभ स्थानः घरको मूल ढोकाको अगाडि वा पछाडि ऐना राख्न हुँदैन । यसले घरमा आउन सक्ने अवसरहरू गुम्न सक्छ । सुत्ने कोठामा ओछ्यानको अगाडि पनि ऐना राख्न हुँदैन । यसले थकान महसुस गराउँछ । यदि राख्नै पर्ने भए यसलाई पर्दाले वा अन्य केहीले ढाकेर राख्ने र काम भएको बेला मात्र प्रयोग गर्ने गर्नुपर्दछ । यदि सुत्ने कोठामा ऐना राखेमा अनिद्रा र स्वास्थ्यसँग सम्बन्धित समस्याहरू आउने कुरा वास्तुशास्त्रमा उल्लेख छ ।
ऐनालाई कहिल्यै अँध्यारो कोठामा राख्नु हुँदैन । यसरी राखिएको ऐनाले जीवनलाई धमिलो बनाउँछ । भान्साकोठाको gas stove अगाडि ऐना राख्दा परिवारका सदस्यहरूबीच सम्बन्ध बिग्रन सक्छ । ट्वाइलेटको अगाडि राख्दा खर्च वृद्धि हुनसक्छ । त्यसैगरी पूजा कोठाको मन्दिरको अगाडि पनि ऐना राख्नु अशुभ मानिन्छ ।
त्यस्तै एउटा कोठामा दुई विपरीत दिशामा ऐना लगाउनु अशुभ मानिन्छ । यसले दुईं तर्फबाट प्रवाह हुने ऊर्जालाई एक आपसमा टकराव गराउँछ ।
ऐनाको आकार, प्रकार र प्रयोगमा ध्यान दिनुपर्ने कुराहरूः
घरमा राखिने ऐना वर्गाकार र आयताकार हुर्नुपर्छ । र ऐनामा अनुहार स्पष्ट देखिने हुनुपर्छ । धमिलो वा विकृत अनुहार देखाउने ऐनाले नराम्रो प्रभाव पार्छ, यस्तो ऐनाले घरमा रोग बढाउँछ । ऐना सधैं समतल (प्लेन) किसिमको हुनुपर्छ । घरमा कहिल्यै पनि गोलाकार वा त्रिकोणीय ऐना लगाउनु हुँदैन ।
यदि दिशाविपरित ऐना लगाउनुपर्ने अवस्था भएमा उक्त दिशाको रंगको फ्रेम ऐनामा प्रयोग गर्न सकिन्छ । उत्तर-पूर्व तर्फ भएमा निलो रंगको फ्रेम, पूर्व-दक्षिण तर्फ भए रातो रंगको फ्रेम, दक्षिण-पश्चिम तर्फ भए पहेलो रंगको फ्रेम र पश्चिम तर्फ भए हरियो कलरको फ्रेम प्रयोग गरेर वास्तु दोष कम गर्न सकिन्छ ।
बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।