News

उपमहानगरपालिकाको नाममा रहेको जग्गा अतिक्रमणमा, घरटहराको लगत सङ्कलन हुँदै

Pinterest LinkedIn Tumblr

काठमाडौं । दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाको नाममा रहेको जग्गा अतिक्रमण भएको छ । कार्यालय रहेको १० कठ्ठा जग्गा र बसपार्क क्षेत्रको केही जग्गाबाहेक उपमहानगरपालिका कार्यालयको उत्तर–पूर्वतर्फको केही जग्गा समेत अतिक्रमणमा परेको हो । जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ । 

सो क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा भएको मध्ये सिमित जग्गाको भोगचलन गर्दै आएको छ । जसमा उपमहानगरपालिकाको नाममा भएको १० विघा जग्गामध्ये ३ विघा जग्गामा त १ सय ५० भन्दा बढि पक्कि संरचनाहरू निर्माण भइसकेका छन् । 

सो क्षेत्रमा उपमहानगरपालिकाका पाँचवटा कित्ता मध्ये उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ अतिक्रमणमा परेको हो । त्यसबाहेक तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४ मा १ बिघा १० कठ्ठा १४ धुर जग्गा छ । जहाँ हालसम्म लगत सङ्कलन गर्दा ९७ घर बनेको पाइएको छ । अझै पनि त्यहाँ लगत सङ्कलन कार्य भइरहेको छ ।

त्यस्तै कित्ता नं ५ (ख)कै ५४५ मा तीन कठ्ठा जग्गा छ । जहाँ १९ वटा घर बनेका छन् । कित्ता नं ५(ख) ५४६ मा ११ कठ्ठा जग्गा छ । जहाँ ३६ घर बनेका छन् । तीमध्ये केही उपमहानगरपालिकाको संरचना रहे पनि अधिकांश जग्गा अतिक्रमणमा परेको हो ।

त्यस्तै कित्ता नं ५(ख) ४९९३ मा ५३ हजार पाँच सय ६५ वर्गमिटर जग्गा रहेको छ भने ४७ घर बनेका छन् ।

सो कित्ताको लगत सङ्कलन अझै बाँकी रहेकाले निर्माण भएका घरको सङ्ख्या थप हुनसक्ने तुलसीपुर उपमहानगरपालिकाका भूमि व्यवस्थापन विभागले जनाएको छ । 

उपमहानगरपालिकाको जग्गा कतिपयले किनबेचसमेत गरेको पाइएको छ । हाल उपमहानगरले सो क्षेत्रको अतिक्रमित जग्गामा बनेका घरटहराको लगत सङ्कलन गर्ने कार्य गरिरहेको छ । 

पाँच कित्तामध्ये तीन कित्ताको लगत सङ्कलन भइसकेको छ भने अन्य दुईवटा कित्ताको पनि आधा जति काम भइसकेको  उपमहानगरपालिका कार्यलयले जानकारी दिएको छ ।  

मङ्सिर १३ देखि  उपमहानगरले लगत सङ्कलनको काम सुरु गरेको हो । एक हप्तामा लगत सङ्कलन गरेर  कार्यपालिकामा पठाउने उपमहानगरको  तयारी छ । 

उपमहानगरपालिकाले कात्तिक ३ गते नै जग्गा खाली गरिदिन भन्दै ३५ दिने सूचना जारी गरेको थियो । तर, सूचना प्रकाशित भएको ३५ दिन कटिसक्दा पनि चासो नदिएको भन्दै नागरिकले ध्यानाकर्षण गराइरहेका छन् । 

सूचना प्रकाशनपछि केही व्यक्ति कार्यालयमा आएर छुट गरेर भाडा तिर्नेसमेत प्रतिबद्धता जनाएको तर, त्यो पनि अब लगत सङ्कलनपछि बोलपत्रमार्फत गर्न सकिने कार्यालयले जनाएको छ । साथै उपमहानगरपालिकाकै जग्गा कतिपयले किनबेचसमेत गरेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It