News

२ वर्षभित्र महानगरको आफ्नै भवन बन्दैछ, तर १० वर्षका लागि मासिक ६० लाख भाडा तिर्न बाध्य 

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजामा सर्ने तयारी भइरहेको छ । महानगरले नागरिकलाई  एकै स्थानबाट सबै सेवा प्रवाह गर्ने वातावरण सिर्जना गर्न कमलादीस्थित नेपाल ट्रस्टको काठमाडौं प्लाजामा मासिक ६० लाख भाडा तिर्ने गरी सर्न लागेको हो । 

टेकुस्थित वातावरण विभागसँगै ७० करोड (भ्याटबाहेक) लागतमा महानगरको ६ तले नयाँ भवन निर्माण भइरहेको छ । भ्रष्टाचार मुद्दाका कारण विवादमा तानिएको महानगरको भवन निर्माण आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । यद्यपि काठमाडौं प्लाजासँग महानगरले १० वर्षका लागि भवन भाडामा लिने निर्णयको अन्तिम सम्झौता फागुनमै हुने बताइएको छ । 

 

जसले आर्थिक व्ययभार पर्ने भएपछि महानगरका कर्मचारीहरूको सल्लाहअनुसार प्रमुख बालेन्द्र साहले नेपाल ट्रस्टसँग दुई वर्षका लागि मात्रै सम्झौता गर्न खोजेका थिए । तर, ट्रस्टले दुई वर्षका लागि मात्रै सम्झौता गर्न नमानेको महानगरले जनाएको छ ।

हाल महानगरले विभिन्न १० स्थानबाट सेवा प्रवाह गर्दै आएको छ । धेरै स्थानबाट सेवा दिनुपर्दा काठमाडौं महानगर र नागरिकले सास्ती खेप्नुपरेको भन्दै जतिसक्दो छिटो काठमाडौं प्लाजामा सर्ने तयारी भइरहेकोछ । सम्झौताअनुसार काठमाडौं प्लाजाको पूरै भवन महानगरले प्रयोग गर्न पाउनेछ । 

एक लाख १५ हजार स्क्वायर फिटमा फैलिएको भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ क्षमता रहेको छ । महानगरले भवनसँगैको दुई रोपनी खाली जग्गा पनि प्रयोग गर्न पाउनेछ भने स्क्वायर फिटको हिसाबमा प्लाजालाई भाडा तिर्नुपर्नेछ ।

 

महानगरले कार्यालयका लागि आवश्यक फर्निचरलगायत सामान खरिद गर्ने योजना तय गरिसकेको छ । यसका लागि दुई करोड खर्च हुने महानगरको अनुमान छ । 

०७२ को भूकम्प पछि महानगरको प्रशासनिक सेवा सुन्धारास्थित ‘जेडिए कम्प्लेक्स’बाट सञ्चालन भइरहेको छ । भूकम्पले महानगरको कार्यालय रहेको बागदरबार भवनमा क्षति पुर्‍याएपछि जेडिए कम्प्लेक्सको छैटौँ र सातौँ तलामा महानगरपालिकाका कार्यालय छन् । यसबाहेक अन्य नौ स्थानबाट महानगरले सेवा प्रवाह गर्दै आइरहेको छ । 

 

कम्प्लेक्सलाई महानगरले मासिक १८ लाख रुपैयाँ भाडा तिर्दै आएको छ । केही सेवा भने बागदरबारको पुरानै भवनबाट प्रवाह भइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस्
Pin It