News

काठमाडौं प्लाजा किन्ने तयारीमा महानगर

Pinterest LinkedIn Tumblr

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल ट्रस्टको नाममा रहेको काठमाडौं प्लाजाको भवन किन्ने भएको छ । एउटै भवनमा महानगरका सबै विभाग तथा शाखाहरू अट्ने देखिएपछि भाडामा लिएको प्लाजा किन्ने तयारी गरेको हो ।

हाल रेट्रोफिटिङ प्रक्रिया अघि बढिसकेको सुन्धारास्थित बागदरबार तयार भइसकेको छ । यद्यपि त्यहाँ महानगरका सबै कार्यालय नअट्ने भएपछि काठमाडौं प्लाजा नै उपयुक्त देखिएको निष्कर्षसहित प्लाजालाई आफ्नै बनाउन मेयर बालेन्द्र साह नै अघि बढेको जनाइएको छ । प्लाजा किन्ने विषयमा नेपाल ट्रस्ट र संघ सरकारसँग छलफल भने भइसकेको छैन । 

साउन १ गतेदेखि महानगरपालिकाले सबै विभाग, शाखा र महाशाखाहरूको सेवा भाडाको भवन काठमाडौं प्लाजाबाटै सेवा दिइरहेको छ । काठमाडौं प्लाजा नेपाल सरकारकै भवन भएकाले खरिद गर्न सहज भएको जनाइएको छ । 

यो पनि पढ्नुहोस्ः महानगरले काठमाडौं प्लाजाको लागि मासिक ६० लाख ५० हजार भाडा तिर्न थाल्यो,  

हाल काठमाडौं प्लाजालाई महानगरले मासिक ६० लाख ५० हजार रुपैयाँ भाडा तिरिरहेको छ । सो भाडा निकै चर्को भएकाले आफ्नै भवनमा बस्न महानगरलाई धेरैले सुझाव दिएका थिए । तर, मेयर शाहले कार्य सम्पादनलाई व्यवस्थित बनाउन एउटै भवन आवश्यक रहेको भन्दै काठमाडौं प्लाजा भाडामा लिने सम्झौता गरेका थिए । 

यस भवनमा ७० वटा चारपांग्रे र सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्छ । भवनसँगैको दुई रोपनी खाली जग्गा पनि महानगरले प्रयोग गरेको छ । त्यस्तै, टुकुचा खोलाको नजिकै रहेका अन्य साना सरकारी भवन पनि महानगरले नै प्रयोग गर्ने सम्झौता गरिसकेको छ ।

२६ वर्षअघि महानगरले लिएको बागदरबारस्थित कार्यालयः 

हाल महानगरपालिकाको कार्यालय रहेको बागदरबार पनि विगतमा काठमाडौं महानगरको नाममा थिएन । २०५४ मा टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग बागदरबार साटासाट गरिएको थियो । तत्कालीन समयमा मेयर केशव स्थापित थिए । काठमाडौं प्लाजाको भवन पनि कुनै अन्य संरचनासँग साटेर लिने योजना महानगरको छ । महानगरले टेकुमा निर्माणाधीन भवन र न्युरोडको सांस्कृतिक भवन केन्द्र सरकारलाई दिएर काठमाडौं प्लाजा लिन खोजिरहेको छ ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् । 

प्रतिक्रिया दिनुहोस्
Pin It