News

 १ करोड ५० लाखमा पश्चिम चितवनको मेघौली विमानस्थल स्तरोन्नति गरिदैँ 

Pinterest LinkedIn Tumblr

काठमाडौं । पश्चिम चितवनमा अवस्थित मेघौली विमानस्थल स्तरोन्नति हुने भएको छ । घाँसेमैदानको रूपमा रहेको विमानस्थलको धावनमार्गलाई ‘ग्राभेलिङ’ गर्ने र तारबार व्यवस्थापन गर्न लागिएको हो ।

करिब १ करोड ५० लाख रुपैयाँ लागतमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ६ महिनाभित्रमा काम सम्पन्न गर्नेगरी बोलपत्र आह्वान गरिसकेको छ । विमानस्थलमा हाल भइरहेको तारबारलाई व्यवस्थित गरिने छ भने धावनमार्गमा ग्राभेल बिछ्‌याएर सम्याइने छ । 

धावनमार्गमा भएको घाँस र खाल्डाखुल्डीका कारण जहाज उडान र अवतरणमा समस्या हुँदै आएको छ । विमानस्थलको सुरक्षाका लागि लगाइएको तारबार ठाउँठाउँमा चुँडिएका छन्, पोल ढलेका छन् । जसले गर्दा मान्छे र चौपायालाई प्रवेश गर्न सहज भएकोले असुरक्षा बढेको छ ।

भरतपुर महानगरपालिकाले विमानस्थल स्तरोन्नतिका लागि चार्टर्ड र आपतकालीन उडान गर्न मिल्नेगरी भएपनि विमानस्थललाई व्यवस्थित बनाउन  क्यानलाई अनुरोध गर्दै आएको थियो ।

हाल महानगरभित्रका दुवै विमानस्थल स्तरोन्नति र विस्तार गरी जुनसुकै समयमा सञ्चालन गर्न सक्ने गरी काम गर्न लागिएको हो ।

०१७ सालमा स्थापना भएको विमानस्थलमा निकुञ्जभित्र रहेको टाइगरटप्स जङ्गल लजमा आउने पाहुना ल्याउन विमानले उडान भर्दै आएका थिए । तर सरकारले चितवन निकुञ्जभित्र होटल सञ्चालन गर्न नपाउने नीति बनाएपछि ०६७ साल मङ्सिरदेखि मेघौली विमानस्थल बन्द भयो ।

त्यसयता विमानस्थलमा फाट्टफुट्ट उडान हुने गरे पनि नियमित उडान भएको छैन । नेपाली सेनाले तालिमका लागि विमानस्थलको प्रयोग गर्दै आएको छ ।

काठमाडौंबाट उडेको लगभग आधा घण्टामा पुगिने मेघौली विमानस्थलमा कुनै समय १० वटासम्म जहाजले उडान भर्ने गरेको तथ्याङ्क छ । भरतपुरबाट २४ किलोमिटर पश्चिमको मेघौली विमानस्थल २३ बिघा जमिनमा फैलिएको छ । विमानस्थलमा एक हजार ६५ मिटर लामो घाँसे धावनमार्ग छ । 

हाल मेघौली क्षेत्रमा ठूला होटल बढ्न थालेका छन् । विमानस्थलको स्तरोन्नति भएसँगै चार्टर्ड उडान र भविष्यमा नियमित उडानसमेत हुनसक्ने हुँदा पश्चिम चितवनको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । 

मेघौली विमानस्थल नेपालको महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । यहाँबाट चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकका लागि प्रवेश गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Pin It