News

संस्थाभित्रका सदस्यलाई सहुलियतमा घर दिँदै मेची बहुउद्देश्यीय सहकारी

Pinterest LinkedIn Tumblr

काठमाडौं । मेची बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यलाई सहुलियत दरमा घर उपलब्ध गराउन थालेको छ । झापाको दमकस्थित संस्थाले विशेष गरी न्यून आय भएका सदस्यलाई सहयोग गर्ने उद्देश्यले घर निर्माण गरी वितरण समेत गर्न थालेको हो ।

संस्थाका सदस्यलाई एकै ठाउँमा घर बनाएर हस्तान्तरण गर्न लागिएको सहकारीले बताएको छ । दमक-४ मा रहेको एक बिघा १८ कट्ठा जग्गामा ५७ आवास निर्माण गरी हस्तान्तरणको तयारी गरिएको छ । मेची आवासमा सदस्यका लागि घर निर्माण अन्तिम चरणमा पुगेको छ । त्यहाँ बस्नका लागि मेची सहकारीकै सदस्य बन्नुपर्नेछ । 

कम्तीमा १० धुरदेखि बढीमा १३ धुर सम्मका जग्गामा बनिरहेका घरको मूल्य ४३ लाखदेखि अधिकतम ५१ लाखसम्म रहेको छ ।  सहकारीमार्फत घर निर्माण गरी एकै ठाउँमा सदस्यलाई राख्न लागिएको यस परियोजनाको कूल लागत २५ करोड रहेको छ ।

सामूहिक रुपमा निर्माण गरिएको आवासमा सहकारीका सदस्यहरूले खुला ठाउँ, बाल उद्यान लगायतका सुविधा पाउनेछन् । एकै प्रकृतिले निर्माण गरिएका प्रत्येक घर  १ हजार ७५ वर्ग मिटरका रहनेछन् । 

संस्थाका अनुसार ५६ वटा घर बिक्री भइसकेका छन् भने एउटा घर कार्यालय प्रयोजनका लागि राखिएको छ । सहकारीमा १४ हजार एक सय ३२ सदस्य रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Pin It