News

बिगो माग्दै मालपोतका सुब्बाविरुद्ध अख्तियारको मुद्दा

Pinterest LinkedIn Tumblr

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुईजना विरुद्ध ९ हजार रुपैयाँ बिगो असुल उपर माग्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

अख्तियारले भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वर, महोत्तरीका नायब सुब्बा रामकृष्ण पण्डित र  भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाषचन्द्र लाल कर्णविरुद्ध  मुद्दा दायर गरेको हो । 

सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस मागी पुष्टि भएसँगै आयोगले बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो । गत फागुनमा पण्डित र भू-सेवा केन्द्र, जलेश्वर, महोत्तरीका लेखापढी व्यवसायी शुभाषचन्द्र लाल कर्णले जग्गा नामसारी गर्ने क्रममा सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस लिएका थिए ।

घुस लिएको जानकारी पाएसँगै बर्दिबासबाट खटिएको आयोगको टोलीले कर्णलाई पक्राउ गरेको थियो । 

अनुसन्धानको क्रममा पण्डितले दाखिला खारेज गरी जग्गाधनी पुर्जासमेत दिलाइदिने भनी सेवाग्राहीबाट ९ हजार रुपैयाँ घुस मागी लेखापढी व्यवसायी कर्णलाई राख्न दिएको पुष्टि भएको छ । 

सोहीको क्षतिपूर्तिका लागि पण्डित र कर्णलाई ९/९ हजार बिगो असुल उपर कायम गरी अख्तियारले मुद्दा दायर गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Pin It