News

बैंकको ऋण नतिरेपछि ‘स्वेताश्री फाउन्डेसन’को माझी बस्ती जोखिममा

Pinterest LinkedIn Tumblr

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र अभिनेत्री स्वेता खड्काद्वारा सञ्चालित ‘स्वेताश्री फाउन्डेसन’ को सहयोगमा निर्माण भएको माझी बस्ती  लिलामीको जोखिममा परेको छ । 

बैंकसँगको सम्झौता अनुसार ऋणको लिएको किस्ता चुक्ता नगर्दा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका १४ मा अवस्थित सिङ्गो माझी बस्ती लिलामीको जोखिममा परेको हो । 

माझी समुदायको जग्गा लक्ष्मी सनराइज बैंकमा धितोको रूपमा राखेर उक्त बस्ती निर्माण गरिएको थियो । बैंकसँग लिएको करिब अढाइ करोड रुपैयाँको सावा तथा ब्याज लामो समयसम्म नपाएपछि बैंकले लिलामीका लागि सूचना निकालेको हो ।

सरकारले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले क्षति पुगेका घरलाई भने प्रतिघर तीन लाख रुपैयाँ दिने निर्णय गरेको थियो । जसअनुसार पुनर्निर्माण प्राधिकरण गठन गरेर सहजीकरण भएको थियो ।

सिन्धुपाल्चोकको माझी समुदायका ५३ वटा घर स्वेताश्री फाउन्डेसनले बनाउने घोषणा गरेको थियो । खुला होमस्टेको अवधारणा अन्तर्गत फाउन्डेसनले २०७३ फागुनबाट एकीकृत बस्ती निर्माण सुरु गरेको थियो ।

तर, अपेक्षित सहयोग जुट्न नसकेपछि फाउन्डेसनले बैंकबाट ऋण लिएर बस्ती निर्माण सम्पन्न गरेको थियो । 

तत्कालीन लक्ष्मी बैंक चौतारा शाखाबाट प्रतिघर चार लाख रुपैयाँ थप ऋण लिइएको थियो । पुनर्निर्माण प्राधिकरणले दिएको जनही तीन लाख र बैंकको समेत गरी प्रतिघर लागत सात लाख रुपैयाँ पुगेको थियो । 

लामो समयसम्म सावा तथा ब्याज नपाएपछि बैंकले २०८० असोज ४ गते लिलामी प्रक्रियाको सूचना निकालेको थियो । बैंकको सूचनापछि स्थानीय ६० परिवारले उच्च अदालतमा लिलामी प्रक्रिया रोक्न माग गर्दै रिट दायर गरेका थिए ।

उच्च अदालत पाटनले बैंकले जारी लिलामी प्रक्रियाको सूचना कात्तिक २४ गतेसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश रमेशराज पोखरेलको एकल इजलासले मंगलबार उक्त आदेश जारी गरेको हो ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It