Research

यस्ता छन्, जमिन भासिनबाट जोगाउन शहरका बासिन्दाले जान्नैपर्ने कुराहरू

Pinterest LinkedIn Tumblr

काठमाडौं । कुनैपनि ठाउँको जमीन यसै भासिँदैन । कतिपय स्थानमा प्राकृतिक रुपमा जमिन भासिन्छ भने कतिपय स्थानमा मानव हस्तक्षेपका कारण जमिन भासिन्छ । पछिल्लो समय नेपालका पनि कतिपय शहरहरू भासिने जोखिममा छन् । आज हामी जमिन भासिनुका कारणहरूका बारेमा चर्चा गर्दैछौँ ।

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा पोखरा जमीन भासिने जोखिममा रहेको छ । 

पोखरामा हरेक वर्षको वर्षायाममा यहाँ जमिन भासिएको अथवा भ्वाङ परेको खबर बाहिरिने गर्छ । २०७१ सालतिर पोखरा नजिक अर्मलामा बनेका अनगिन्ती भ्वाङ (सिन्कहोल) ले पोखरा बसिन्दा त्रसित थिए । पोखरामा सडक भासिने यस्तै घटना बर्सेनि दोहोरिरहन्छन् । पोखराको खासगरी नदीपुर, महेन्द्रपुल, न्यूरोड, लामाचौर लगायत क्षेत्रमा जमिन बढी भासिने गरेको पाइएको छ ।

पोखरा बाहेक काठमाडौं शहरले पनि जमिन भासिने समस्या खेपिरहेको छ । २०७७ असारमा मध्यबानेश्वरको मुख्य सडकको बीचमा गाडी नै छिर्न सक्ने ठूलो खाल्डो पर्यो । २०७८ कात्तिकमा बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल र यातायात व्यवस्था विभाग कार्यालय अगाडिको सडकमा ठूलो खाल्डो पर्यो ।  २०८० माघमा नयाँ बानेश्वरमा गुडिरहेको बस सडकमै भासियो । यी बाहेक राजधानीमा स–साना रूपमा सडक भासिने, सडकमै खाल्डो पर्ने घटना प्रायः दैनिक नै हुने गरेको पाइन्छ । 

यी त भए भौतिक संरचना र त्यहाँको कमसल माटोका कारण शहर भासिएका उदाहरण । अब कुरा गरौँ, विश्वका कुन कुन स्थानमा शहरहरूमा  किन भासिन थालेका छन् त !

किन भास्सिरहेका छन् त शहरहरू ? 
शहरीकरणः

शहरहरू भास्सिनुको मुख्य कारण जमिनमुनीको पानी दोहन हुनु तथा तीव्र रुपमा बढ्दो शहरीकरण रहेको सम्बन्धित विज्ञहरूको धारणा छ । 

पहिले आकाशको पानी जमिनमा पर्दा तताततै सोसिएर जान्थ्यो । एकत्रित भएर बग्ने अवस्था थिएन । अहिले शहर घरैघरले भरिएको छ । 

१ घण्टामात्र पनि लगातार पानी परे सडकमा सडकमा खोलो बग्छ । सडक छेउको नाला सानो छ । सडकमा बग्ने खोलोले सानो छिर्दा पायो भने त्यहीभित्र पसेर चुनमाटो घोलिन्छ । अनि भित्रभित्रै जमिन कमजोर बन्छ । र माथिबाट केही दबाब पर्नासाथ भासिने गर्छ । 

पोखरा र काठमाडौं क्षेत्रमा खुकुलो माटो, चट्टानका टुक्रा चुनढुंगा छन् । यो अलिकति अम्लीय पानीमा सजिलै घुल्छ र कुहिन सक्छ भने यसलाई जमिनमुनिको पानीले सजिलै खियाउन र बगाउन सक्छ । 

जलवायु परिवर्तन

त्यस्तै अर्को कारण जलवायु परिवर्तन पनि हो । वायुमण्डलमा तापक्रम घट्ने वा बढ्ने प्रक्रियाका कारण नै जलवायु परिवर्तन हुन्छ । हरित गृह ग्याँसको बढ्दो उर्त्सजन जलवायु परिवर्तनको मुख्य कारण हो । यसबाहेक वनविनाश र क्षयीकरण, औद्योगीकरण, वन डढेलो, जीवाश्म ईन्धनको बढ्दो प्रयोग तथा शहरीकरण जलवायु परिवर्तनका कारणहरू हुन् । जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरू निस्किन्छन् । जसमा ठूलो मात्रामा कार्वनडाइअक्साइडको रहेको हुन्छ । यी ग्यासहरूका कारण विश्वको तापक्रममा वृद्धि भइ पृथ्वीको ओजोन तहमा पनि क्षति पुग्दछ । 

मानिसहरूले उद्योग र यातायातमा खनिज तेल, ग्यास र कोइला प्रयोग गर्न थाले यता विश्व लगभग १.२ डिग्री सेल्सियसले तातो बनेको छ।

बढ्दो तापमानका कारण हिमनदीको हिउँ तीव्र रुपमा पग्लिरहेको छ भने समुद्रको जलस्तर बढ्नुका साथै जमिन तीव्र रुपमा भास्सिइरहेको छ । जसले गर्दा सामुद्रिक तटीय सहरहरूका लाखौँ मानिसहरू बाढीको खतरामा परेका छन् ।

जमिन भासिएपछि चीनले गरेको अनुसन्धानः

चीनमा देखिएको जमिन भास्सिने समस्या बुझ्नका लागि चीनका विभिन्न विश्वविद्यालयका शोधकर्ताहरूको एक समूहले २० लाखभन्दा धेरै जनसंख्या भएका ८२ वटा सहरमा अध्ययन गर्यो । ती सहरको समुद्री सतहदेखिको उचाइ मापनका लागि सेन्टिनल १ उपग्रहले संकलन गरेका तथ्यांक उपयोग गरियो । जसअनुसार चीनका ८२ ठूला शहरहरूमध्ये आधा शहरहरू भास्सिइरहेको छ । 

यी मध्ये ४५ प्रतिशत शहरी भूमि प्रतिवर्ष ३ मिलिमिटर अर्थात लगभग ०.१२ इन्च भास्सिइरहेको छ । १६ प्रतिशत भूमि प्रतिवर्ष १० मिलिमिटर अर्थात लगभग ०.४ इन्चले भास्सिइरहेको छ । त्यस्तै राजमार्ग आसपासका क्षेत्रहरूमा प्रतिवर्ष ४५ मिलिमिटर दरले जमिन भास्सिइरहेको अनुसन्धानकर्ताहरूको भनाइ छ ।

सन् १९२० दशक देखिनै चीन यस प्रकारको समस्यासँग जुधिरहेको छ । त्यतिबेला सांघाइ तथा तियान्जिन दुबै लगातार भास्सिइरहेका थिए । सांघाइ पछिल्लो शताब्दीमा ३ मिटरभन्दा धेरै तल भास्सिइसकेको छ । 

सन् २०२० मा चीनको झण्डै ६ प्रतिशत क्षेत्र समुद्री सतहबाट कम उचाइँमा अवस्थित छ । आगामी १ सय वर्षमा यो स्थिति देशको २६ प्रतिशत इलाकामा निम्तिन सक्दछ ।

वैज्ञानिकहरूका अनुसार यो गति निकै तीव्र देखिन्छ । यसरी तीव्र रुपमा भास्सिइरहेका चिनियाँ सहरहरूमा ६ करोड ७० लाख मानिसहरू बस्दछन् । 

प्रभावित शहरहरूले कस्ता समस्या झेल्नुपर्छ ?

जलवायु परिवर्तनको असरले नै हाल विश्वभर जमिन भासिने समस्या देखिएको हो । यसको असर विश्वभर फरक-फरक रुपमा भइरहेको छ । यसले बाढीको जोखिम बढ्ने, समुद्र सतहको हाराहारीमा रहेका टापुहरू पानीको सतह बढ्न जाँदा हराउने, खडेरी र खाद्य अभाव हुने छ । 

त्यसैगरी अतिवृष्टि र शक्तिशाली आँधी बढ्ने छन् भने बहिकतै चरम गर्मी र खडेरी देखिने छ । वैज्ञानिकहरूले १.५ डिग्री सेल्सियससम्मको तापक्रम वृद्धि पृथ्वीका लागि सुरक्षित हुने बताएका छन् । त्योभन्दा बढ्यो भने प्राकृतिक वातावरणमा नराम्रो परिवर्तनहरू आउने र जीवनशैली सकसपूर्ण हुने बताउँछन् ।

समाधानका उपायहरू केके छन् !

यसरी दैनिक रुपमा शहर भास्सिइरहनुले अर्थव्यवस्थामा ठूलो धक्का लाग्ने देखिन्छ । यसबाट बच्न दैनिक रुपमा भइरहेको कार्बन उत्सर्जन शून्यमा पुर्‍याउनु पर्छ । 

जमिनको प्राकृतिक सन्तुलन कायम गर्न मुख्यतः शहरी क्षेत्रमा जमिनबाट पानी तान्ने कम गर्नुपर्ने र बढी ‘रिचार्ज’ हुने अवस्थाको सिर्जना गर्नुपर्छ । 

दैनिक करोडौँ लिटर पानी जमिनमुनिबाट निकालिन्छ तर त्यसको सट्टामा ‘रिचार्ज’ नहुनुले हाम्रो जमिनमुनिको माटोको भाग नै भासिँदै गएको विज्ञ बताउँछन् ।

त्यसैगरी शहरी क्षेत्रको बढ्दो चापलाई कम गर्नुपर्छ । २० औँ शताब्दीमा टोकियो शहरमा बन्दरगाह आसपासको भूमि पाँच मिटरसम्म धस्सिएको थियो । 

सन् १९७० को दशकमा टोकियो पिउने पानी अन्य क्षेत्रबाट आउँथ्यो । कुवाको पानी उपयोगलाई रोक्नका लागि त्यहाँ एउटा कानून लागू गरियो । ती यावत् प्रयासबाट जमिन भास्सिने क्रमलाई नियन्त्रणमा लिइएको थियो । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It