Lifestyle

३५ वर्ष पुरानो घर किन्न मेस्सीले खर्चिए करोडौं डलर

Pinterest LinkedIn Tumblr

काठमाडौं । बहुचर्चित फुटबल खेलाडी लिओनेल मेस्सीले अमेरिकाको फ्लोरिडा सहरमा सानदार घर किनेका छन् । उनले करिब एक करोड अमेरिकी डलर खर्चेर यही सेप्टेम्बरमा फोर्ट लाउडरडेल सिटीस्थित घर किनेका हुन् ।

मेस्सीले हालसालै किनेको घरको खास मूल्य एक करोड सात लाख ५० हजार अमेरिकी डलर रहेको छ । जसलाई नेपाली रुपैयाँमा कन्भर्ट गर्दा करिब एक अर्ब ४२ करोड पाँच लाख ८७ हजार हुन आउँछ ।

सन् १९८८ मा निर्माण गरिएको उक्त घर १० हजार ५ सय वर्गफिटमा फैलिएको छ । सन् २००० मा केही कोठा थप गरी विस्तार गरिएको घरमा अहिले आठवटा बेडरुम छन् । सो घरको बार्दलीबाट समुद्रको मनोरम दृश्य देख्न सकिन्छ ।

साथै घरमा स्विमिङ पुल, इटालियन शैलीको किचन र तीनवटा कार अट्ने पार्किङ स्पेस, स्पा र जिम लगायतका सुविधा उपलब्ध छन् । उक्त घर मेस्सी र उनकी पत्नी एन्टोनेला रोकुज्जो दुवैको रोजाइ हो । जसलाई जोन एन्ड स्टासी डिकरसनले बिक्री गरेका हुन् ।

३६ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सी गत जुलाईमा इन्टर मियामीमा आबद्ध भएका थिए । त्यसअघि उनी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा थिए ।

सर्वाधिक सात पटकका बालोन डी’ओर विजेता मेस्सीकै कप्तानीमा अर्जेन्टिनाले गत वर्ष कतार विश्वकपको उपाधि हाँसिल गरेको थियो । हाल उनी आगामी विश्वकपको छनोट प्रतियोगिता खेल्न अर्जेन्टिना फर्किएका छन् ।

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It