News

साढे २८ हजारले घट्यो माघ महिनामा कित्ताकाट, कहाँ कति जग्गाको खण्डीकरण ?

Pinterest LinkedIn Tumblr

देशभर घरजग्गाको कारोबारमा मन्दी छाएसँगै कित्ताकाट संख्या पनि घटेको छ। चालू आवको साउनमा सबैभन्दा धेरै कित्ताकाट भएकोमा भदौबाट केही घटेपनि मंसिरबाट भने पुन: बढ्न थालेको थियो। तर, माघ आइपुग्दा भने पुन: घटेको छ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार माघमा एक लाख ३४ हजार ८९६ कित्ताकाट भएको छ। अघिल्लो महिना पुसमा एक लाख ६३ हजार ४५० कित्ताकाट भएको थियो। चालु आवको पहिलो महिना साउनमा सबैभन्दा बढी एक लाख ६६ हजार कित्ताकाट भएको थिए।

भदौमा एक लाख ४८ हजार, असोजमा एक लाख २८ हजार, कात्तिकमा एक लाख ११ हजार र मंसिरमा एक लाख ५८ हजार गरी नौ लाख बढी कित्ताकाट भएको थियो। पुसमा फेरी उकालो लागेर एक लाख ६३ हजार ४५० वटा कित्ताकाट भएको थियो।

कृषियोग्य जमिनको जथाभावी खण्डीकरण निरुत्साहन गर्न सर्वोच्च अदालतले जग्गाको कित्ताकाट खोल्ने सरकारको निर्णयमा अंकुश लगाएपछि जमिन टुक्रयाउने क्रम झन् झन् बढ्दै गएको देखिन्छ।

भूमि व्यवस्था मन्त्रालयले २०७४ साउनमा कृषियोग्य जमिन खण्डीकरण गर्न नदिने निर्णय गर्दै कित्ताकाटमा रोक लगाएको थियो। त्यसयता २०७५ पुसमा आंशिक रूपमा कित्ताकाट खुकुलो बनाउँदै मन्त्रालयले २०७७ भदौ १८ मा भने यसमा लगाएको बन्देज पूर्णरूपमा हटाउने निर्णय गर्‍यो।

मन्त्रालयको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर परेको थियो। उक्त रिटमा २०७७ मंसिर २३ मा अन्तिम फैसला गर्दै सर्वोच्चले भूमि व्यवस्था मन्त्रालयलाई भदौ १८ को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो।

विभागले कित्ताकाटको संख्या बढ्नुमा अंशबण्डा र अदालतको फैसला प्रमुख कारण रहेको जनाएको छ। सर्वोच्च अदालतले कित्ताकाटमा अंकुश लगाएपनि अंशबण्डा र वर्षमा एउटा कित्तालाई दुई वटासम्म बनाउन मिल्ने प्रावधान छ। यही प्रावधानले मात्रै कित्ताकाट बढेको दाबी विभागको छ। अदालतले जग्गासम्बन्धी कुनै फैसला दिएपनि कित्ताकाट गर्न पाइन्छ।

विगतमा जतिबेला पनि कित्ताकाट गर्न पाइने भएकाले कित्ताकाट गर्न मरिहत्ते गर्ने अवस्था थिएन। तर, अहिले वर्षमा एउटा कित्तालाई दुई वटासम्म मात्रै गर्न पाइने भएकाले जग्गा किनबेच नगरे पनि कित्ताकाट गरेर राख्दा संख्या धेरै देखिँदै आएको जिकिर विभागको छ।

सामान्यतया कित्ताकाट गरेरै जग्गा बिक्री गरिन्छ। माघमा कित्ताकाट नै घटेकाले घरजग्गाको कारोबार पनि ओरालो लागेको जानकारहरु बताउँछन्।

कहाँ कति भए कित्ताकाट

माघमा सबैभन्दा धेरै कित्ताकाट सुनसरीको इनरुवा मालपोतमा भएको छ। ७०९७ कित्ताकाट भएको इनरुवा मालपोत पछि जनकपुरधामले ५०३९, मोरङको बेलबारी मालपोतले ४८१८, लगनखेलले ४०२३ जग्गा कित्ताकाट भएको विभागले जनाएको छ।

यस्तै, भद्रपुर मालपोतबाट ३९५०, कलैयामा ३६१८, नेपालगञ्जबाट ३५६६, मकवानपुरले ३१८७, कलंकीबाट ३१७३ कित्ताकाट भएका छन्। तौलिहवाले २९६३, भक्तपुरले २९५१, जलेश्वरले २८८६, काभ्रेले २८८२, धनगढीले २८७५ जग्गा कित्ताकाट भएको विभागले जनाएको छ।

चितवनबाट २६८३, पर्साबाट २४८९, रुपन्देहीबाट २३१७, दमकबाट २२३८, तुलसीपुरले २१५९, राजविराजले २०२२, घोराहीले २०२०, घोराहीबाट २०२० कित्ताकाट भएको जनाएको छ।

त्यसैगरी, मलंगवा मालपोतबाट १९९८, साँखुबाट १९५०, परासीबाट १९२३ कित्ताकाट भएका छन्।

प्रतिक्रिया दिनुहोस्

Write A Comment

Pin It