Vaastu

लाफिङ बुद्ध: किन उनको मूर्ति घर तथा पसलमा राख्नु शुभ मानिन्छ

Pinterest LinkedIn Tumblr

सुन्नुहोस्:

 

काठमाडौं । घर तथा अफिस सजावटका लागि विभिन्न तस्वीर, प्लान्ट, पेन्टिङ र मूर्तिहरू राख्ने गरिन्छ । मूर्ति भन्नासाथ हाम्रो रोजाईमा भगवान र ख्याति प्राप्त व्यक्ति लगायतका मूर्तिहरू पर्दछन् । प्रायजसो मूर्तिले घरमा खुसी, शान्ति र समृद्धि कायम रहन्छ भन्ने विश्वासका साथ घरमा सजाइन्छ । त्यस्तै लाभदायक एक मूर्ति हो लाफिङ बुद्ध, जसलाई हामीले घरहरूमा सजाएको देख्न सक्छौँ । तर  के तपाईंलाई थाहा छ ! लाफिङ बुद्ध को थिए र उनको मूर्ति घरमा राख्नुको महत्व ? उनको नाम लाफिङ बुद्ध नै किन ?

यो विशेष जानकारी आजको लेखमा ।

लाफिङ बुद्ध को हुन् ? उनको नाम लाफिङ बुद्ध कसरी रह्यो ?

लाफिङ बुद्धलाई १० औं शताब्दीका चिनियाँ भिक्षु अर्थात् बुडाइ मानिन्छ । होतेई गौतम बुद्धका शिष्य हुन् । जब होतेईले बुद्धबाट आत्मज्ञान प्राप्त गरे तब उनी अट्टाहास हाँसो हाँस्न थाले । साथै गाउँगाउँमा गएर उनले अरूलाई पनि हसाउँन थाले । दुखी व्यक्तिहरूलाई पनि हाँस्न, हरेक समय प्रसन्न र प्रफुल्ल रहने सन्देश दिन थाले । उनको यो विशेषता अरूभन्दा पृथक थियो । यसैकारण उनलाई सबैले हाँसिरहने बुद्धको रुपमा चिन्न थाले । आज पनि उनलाई संसारले लाफिङ बुद्धको नामले चिन्दछन् । 

उनका अनुयायी तथा शिष्यहरूले विभिन्न देशमा उनको हाँसोको सन्देश फैलाउन शुरु गरे । चीनमा उनका अनुयायीहरूले गरेको प्रचारका प्रभावले चिनियाँहरू उनलाई भगवान मान्दछन् ।

लाफिङ बुद्धको मूर्ति घरमा किन राखिन्छ? 

सफलता र आर्थिक समृद्धिको लागि लाफिंग बुद्ध घरमा राखिन्छ । हिन्दु धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान मानिए जस्तै चीनमा लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवताका रूपमा मानिन्छ । लाफिङ बुद्धको मूर्तिले हामीलाई कृतज्ञ हुन, बाधाहरू पार गर्न र जीवनमा खुशी रहन झक्झक्याइ रहन्छ ।

चिनियाँहरूले लाफिङ बुद्धको हँसिलो अनुहारलाई शुभ मान्छन् । उनले बोकेको झोलाले सुख र समृद्धि ल्याउने विश्वास गरिन्छ । ‘फेंग शुई’ परम्परा अनुसार लाफिङ बुद्धको मूर्ति घरमा राख्दा जीवनमा आइपर्ने उतारचढाव कम हुन्छ भन्ने मान्यता छ । लाफिङ बुद्धको मूर्ति घरमा राख्दा सुख र समृद्धि छाउने, सकारात्मक उर्जा प्राप्त हुने  विश्वास छ । यसो हुँदा लाफिङ बुद्धलाई घरमा राख्न  वास्तुशास्त्रीले समेत सुझाएका छन् ।  

लाफिङ बुद्ध कहाँ र कसरी राख्ने?

लाफिङ बुद्धको मूर्ति घरमा जथाभावी राख्दा यसको उल्टो प्रभाव पर्दछ । तसर्थ यो मूर्ति राख्दा विशेष सजगता अपनाउनुपर्ने वास्तुशास्त्रीहरू बताउँछन् । विशेष दिशा र स्थानमा यो मूर्ति राख्नु अर्थपूर्ण हुन्छ । यसलाई घरको पूर्व, दक्षिण-पूर्व वा उत्तर-पूर्व दिशामा वा घरको भित्री प्रवेशद्वारको अगाडि राख्नुपर्छ । यसरी राख्दा घरबाट नकारात्मक ऊर्जा हट्नुका साथै धन, सुख र समृद्धि प्राप्त हुन्छ । घर परिवारका सदस्यबीच आपसी प्रेम, लगाव र मेलमिलाप बढाउँछ । जागिर र व्यवसायमा सफलता मिल्छ ।  विरोधी तथा विपक्षीहरू समेत परास्त हुन्छन् भन्ने विश्वास छ । 

लाफिङ बुद्धको मूर्ति राख्दा विशेष गरि उचाईमा ध्यान दिनुपर्छ । घर तथा अफिस आउदा वा जाँदा आँखा सिधै लाफिङ बुद्धमाथि पर्नेगरी राख्नु राम्रो हुन्छ । अधिक उचाई या होचो ठाउँमा मूर्ति राख्न हुदैन । यस्तै मुख्य ढोका तर्फ फर्काएर राखिएको लाफिङ बुद्धले धन वृद्धि गर्ने र सकारात्मक उर्जा आकर्षित गर्ने जनविश्वास छ । लाफिङ बुद्धलाई जमिनबाट कम्तिमा पनि ३० इन्चको उचाइमा राख्नुपर्दछ ।

यस बाहेक अध्ययनको टेबुलमा लाफिङ बुद्ध राख्न सकिन्छ, जसका कारण बालबालिकालाई अध्ययनमा रूचि जाग्दछ । लाफिङ बुद्धको मुर्ति बालबालिकाको रक्षक भएको मानिने भएकाले बालबालिकाको कोठामा सुरक्षा र सौभाग्यको लागि ढोकातिर फर्काएर सानो मूर्ति राख्ने गरिन्छ । 

लाफिङ बुद्धका विविध प्रकार र प्रभावः

लाफिङ बुद्ध धेरै प्रकारका हुन्छन् । र तिनिहरूको फरक कथा छ । तर हरेक ठाउँका लागि छुट्टै प्रवृतिको मूर्ति छुट्याइएको छ । व्यवसाय राम्ररी चलिरहेको छैन वा निरन्तर घाटा र पैसाको अभाव भइरहेको छ भने दुवै हात उठाएर बसेका लाफिङ बुद्धको मूर्ति पसल वा अफिसमा राखे व्यापार बढ्ने मान्यता छ । 

laughing buddha

पैसाको झोला काँधमा झुण्डिएको लाफिङ बुद्ध घर वा कार्यालयको लागि शुभ मानिन्छ । सो मूर्ति राख्नाले धनसँग सम्बन्धित हरेक समस्याको अन्त्य हुन थाल्छ र पैसाको कमी कहिल्यै हुँदैन । हरेक काममा असफलता र दुर्भाग्यको सामना गरिरहनु भएको छ भने भुईँमा पल्टेर बसेका लाफिङ बुद्धको मूर्तिलाई घर वा पसलमा राख्नु राम्रो हुन्छ । यसबाट दुर्भाग्य समाप्त हुन थाल्छ । 

जुन मूर्तिमा लाफिङ बुद्ध बालबालिकासँग बसेको देखिन्छ, त्यो मूर्तिलाई सन्तान प्राप्तिका लागि निकै शुभ मानिन्छ । पति र पत्नीले यसलाई आफ्नो कोठामा राख्न सक्छन् ।

निर्णय लिने कुरामा आत्मविश्वास कम भएका व्यक्तिहरूका लागि पनि लाफिङ बुद्धको महत्व छ । निर्णय लिने क्षमता कमजोर भएकाहरूले आफ्नो घर वा कार्यालयमा धातुको लाफिङ बुद्धको मूर्ति राख्न सक्छन् । यसो गरेमा अटल निर्णय लिन सक्ने शक्ति बढाउँछ ।

अफिस वा घरको काम गर्ने टेबुलमा, डुङ्गामा बसेका लाफिङ बुद्ध राख्नु शुभ मानिन्छ । यसले प्रगतिको बाटो खोल्दछ । जुन मुर्तिमाको एक हातमा सुनको सिक्का र अर्को हातमा पंखा हुन्छ । सो मुर्तिले घर तथा पसलमा समृद्धि र सफलता ल्याउँछ । तपस्या गरिरहेको जस्तो देखिने लाफिङ बुद्धको मूर्ति घर तथा पसलमा राख्दा वातावरण शान्त रहन्छ । 

उपहारका लागि लाफिङ बुद्धः

लाफिङ बुद्धको अर्को रोचक पक्ष, आफ्नो पैसाले किनेको लाफिङ बुद्धको मूर्तिले फल दिँदैन । अरू कोहिले लाफिङ बुद्ध उपहार स्वरुप दिँदा मात्र सुख र समृद्धि प्राप्त हुन्छ भन्ने गरिन्छ । आजकाल बर्थडे, विवाहको वार्षिकोत्सव जस्ता अवसरमा उपहार दिने चलन छ । आफूले दिएको उपहार विशेष होस् भन्ने भाव सबैमा हुन्छ । यस्तोमा उपहार नै प्रभावशाली भए त झनै गज्जब हुने भयो । तपाई पनि कोहि कसैलाई विशेष अवसरमा उपहार दिने सोचमा हुनुहुन्छ र अलमल्ल परिरहनुभएको छ भने लाफिङ बुद्धको मूर्ति उपयुक्त विकल्प बन्न सक्छ । 

बसोबासमा लिस्टेड प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It