News

राजपरिवारको नाममा थप जग्गा भेटियो

Pinterest LinkedIn Tumblr

काठमाडौं । राजा वीरेन्द्र वीर विक्रम शाह देवका कान्छा छोरा अधिराजकुमार नीराजन विक्रम शाहको नाममा थप जग्गा भेटिएको छ । नेपाल ट्रस्टले अधिराजकुमारको नाममा काठमाडौं महानगरपालिका – १३ कालीमाटीमा करिब सात आना जग्गा फेला पारेको हो ।

पूर्वराजा वीरेन्द्र र उनको परिवारका नाममा रहेको सम्पत्तिको खोजी र संरक्षण गर्दै आएको नेपाल ट्रस्टले सो जग्गा आफ्नो नाममा ल्याउने निर्णय गरेको छ ।

गत जेठ ३१ गते बसेको ट्रस्ट सञ्चालक समितिको बैठकले सो जग्गा ट्रस्टको नाममा ल्याउने प्रक्रिया अघि बढाएको हो ।

अधिराजकुमारको नाममा रहेको जग्गा मोहीका कारण ट्रस्टले पत्ता लगाएको हो । मोहीले नै आधा जग्गा माग गर्दै ट्रस्ट कार्यालयमा निवेदन दिएका थिए ।

ट्रस्टले आधा दिएर बाँकी जग्गा आफ्नो नाममा ल्याएको छ । ट्रस्टले हालसम्म राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको विभिन्न १२ जिल्लाका २१ हजार ५ सय ६३ रोपनी जग्गा आफ्नो नाममा ल्याइसकेको छ । त्यसमध्ये ट्रस्टले कतिपय लिजमा दिएको छ भने केही प्रयोगविहीन छन् ।

ट्रस्टले राजपरिवारको नाममा रहेको सम्पत्ति खोजीकार्य भइरहेको जनाएको छ । राजपरिवारका सम्पत्तिबारे सूचना दिने व्यक्तिलाई पुरस्कारको पनि व्यवस्था छ ।

सरकारको नीतिअनुसार राजपरिवारको नाममा रहेको सम्पत्ति शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा लगाउने प्रावधान छ । यद्यपि हालसम्म त्यससम्बन्धी नियमावली समेत बन्न सकेको छैन ।

कतिपय सम्पत्ति बिनाप्रतिस्पर्धा व्यापारीलाई लिजमा दिँदा विवाद हुँदै आएको छ ।

बसोबासमा लिस्टेड अन्य प्रपर्टि हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्
Pin It